३ महिनामा मात्रै करिब २ हजार कर्मचारीको सरुवा, सहसचिव मात्रै १३९ जना
काठमाडौं । सरकारले पछिल्लो ३ महिनाको अवधिमा मात्रै करिब २ हजार कर्मचारीको सरुवा गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार चालू आर्थिक वर्षको साउन १ देखि असोज मसान्तसम्म एक हजार ९९२ कर्मचारीको सरुवा भएको हो ।
जसमा मन्त्रालयको संघीय तथा प्रादेशिक कर्मचारी प्रशासन शाखाबाट सहसचिवदेखि श्रेणी विहिनसम्म गरेर १ हजार २९६ जना कर्मचारीको सरुवा भएको छ भने स्थानीय तह कर्मचारी प्रशासन शाखाबाट उपसचिवदेखि खरिदारसम्म गरेर ६९६ कर्मचारीको सरुवा भएको छ ।
स्थानीय तह कर्मचारी प्रशासन शाखाबाट ५० जना कर्मचारीलाई आर्थिक तथा प्रशासनिक जिम्मेवारी पनि दिइएको समावेश गरिएको मन्त्रालयले जनाएको छ ।
संघीय तथा प्रादेशिक कर्मचारी प्रशासन शाखाबाट भएको सरुवा सूची अनुसार १३९ जना राजपत्रांकित प्रथम श्रेणी अर्थात सहसचिव सरहका कर्मचारीको पछिल्लो ३ महिनाको अवधिमा सरुवा भएकोक छ भने राजपत्रांकित द्धितीय श्रेणी अर्थात उपसचिव सरहका १८८ कर्मचारीको सरुवा भएको छ ।
यस्तै राजपत्रांकित तृतिय श्रेणी अर्थात शाखा अधिकृत सरहका २६७ कर्मचारीको सरुवा हुदाँ सबैभन्दा बढी राजपत्र अनंकित प्रथम श्रेणी अर्थात नायव सुब्बा सरहका ५२० कर्मचारीको सरुवा भएको छ ।
राजपत्र अनंकित द्धितीय श्रेणी अर्थात खरिदार सरका १६७ कर्मचारीको सरुवा हुदाँ १५ जना श्रेणी विहिन कर्मचारीको सरुवा भएको छ । मन्त्रालयका अनुसार मन्त्रालयको स्थानीय तह कर्मचारी प्रशासन शाखाबाट मात्रै ९६ उपसचिव, ५०५ शाखा अधिकृत र ४५ जना नायव सुब्बा तथा खरिदार गरेर करिव ७ सय कर्मचारीको कामकाज, पदस्थापन तथा सरुवा भएको छ ।
यसै ३ महिनाको अवधिमा राजपत्रांकित सबै तहमा गरेर ९१ जना कर्मचारी स्थायी नियुक्त भएक छन् । यसै अवधिमा अधिकृत स्तरका २ जना कर्मचारी निलम्बनमा परेका छन् भने २ सहसचिव, ६ उपसचिव, १ शाखा अधिकृत र एक जना नायव सुब्बा सहित १० जना कर्मचारीको निलम्बन फुकुवा गरिएको छ ।