प्रमुख खेलाडीलाई टीम बाहिर राखेर विश्वकप लिग- २ मा लय समातिरहेको ओमान – Nepal Press

प्रमुख खेलाडीलाई टीम बाहिर राखेर विश्वकप लिग- २ मा लय समातिरहेको ओमान

काठमाडौं । विश्वकप लिग- २ अन्तर्गत घरेलु मैदानमा भइरहेको श्रृङ्खलामा यतिबेला ओमानले सानदार प्रदर्शन गरिरहेको छ ।

पहिलो खेलमा यूएईलाई हराएको ओमानले दोस्रो खेलमा मंगलबार पहिला ब्याटिङ गरेको नेदरल्यान्ड्सलाई १३२ रनमा अलआउट गरेको छ ।

ओमानले यो श्रृङ्खलाका लागि प्रमुख खेलाडीहरुलाई टीम बाहिर राखेको थियो । अकिब इल्यास, कश्यप प्रजापति, जिसन मकसुद, आयान खान, कालिमुल्लाह, फेयाज बटजस्ता अनुभवी खेलाडीहरु यो श्रृङ्खलामा ओमान टोलीमा छैनन् ।

सेप्टेम्बरको अन्तिम साता क्यानडाविरुद्ध भएको विश्वकप लिग- २ खेलमा उनीहरु सबै ओमानको टोलीमा थिए । त्यो श्रृङ्खलामा ओमानले क्यानडासँगका दुवै खेल हारेको थियो । नेपालसँगको एक खेलमात्रै जितेको थियो । नेपालसँगको अर्को खेल भने रद्द भएको कारण दुवै टोलीले अंक बाँडेका थिए ।

अकिबले यसअघि ओमानको कप्तानी गरेका थिए । नेदरल्यान्ड्स र यूएई सहभागी जारी श्रृङ्खलामा जतिन्दर सिंहले कप्तानी गरिरहेका छन् । ओमानले पहिलो खेलमा पहिला ब्याटिङ गरेको यूएईलाई १२८ रनमा अलआउट गरेर जीतको बलियो आधार तय गरेको थियो । समय श्रीवास्तवले ४ विकेट लिएका थिए । सकिल अहमदको नाममा २ विकेट थियो । मंगलबार नेदरल्यान्ड्सविरुद्ध सकिलले ४ तथा आमिर कलिम र समय श्रीवास्तवले २-२ विकेट लिए ।

विश्वकप लिग- २ मा ओमान ९ खेलबाट ८ अंक जोडेर तालिकाको छैटौं स्थानमा छ । नेदरल्यान्ड्स ९ खेलबाट १२ अंक जोडेर चौथोमा छ । १२ खेल खेलेका क्यानडा र अमेरिकाको समान १६ अंक छ । स्कटल्यान्डको ११ खेलबाट १४ अंक छ । नामिबियाको १२ खेलबाट १० तथा नेपालको १२ खेलबाट ६ अंक छ । ९ खेल खेलेको यूएईको ४ अंक छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर