इजिप्टमा उपप्रधामन्त्री सिंहको सम्बोधन- नेपाललाई जलवायु परिवर्तनले प्रत्यक्ष असर पारेको छ, न्याय चाहिन्छ
काठमाडौं । उपप्रधान एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले नेपालमा जलवायु परिवर्तनले पारेको असरबारे चर्चा गर्दै जलवायु न्यायको माग गरेका छन् ।
इजिप्टको कायरोमा आज भएको ‘शहरहरु र जलवायु संकट’ विषयक सत्रलाई सम्बोधन गर्दै नेपाल जलवायु परिवर्तनको उच्च जोखिममा रहेको बताए ।
नेपाल जस्ता विकासोन्मुख देशहरुले धेरै कम कार्वन उत्सर्जन गरेतापनि जलवायु परिवर्तनको प्रत्यक्ष असर धेरै देखिएकाले अन्तर्राष्ट्रियस्तरको जलवायु वित्तमा सजिलो पहुँच र प्राविधिक सहयोग मार्फत मात्र जलवायु न्याय हुने कुरा विश्व समुदाय समक्ष उठाए।
उनले भने, ‘एकातिर नेपालमा तिव्र गतिमा शहरीकरण बढिरहेको छ भने अर्कोतर्फ जलवायु परिवर्तनका असरका रुपमा अतिवृष्टि, अनावृष्टि, बेमौषमी बर्षा, बाढी, पहिरो, हिम पहिरो, हिम ताल विष्फोटन लगायतका जलवायु परिवर्तनबाट सिर्जित विपद्जन्य घटनाहरु बढिरहेकाले हरेक व र्ष लाखौँ मानिसहरु प्रभावित हुनुपरेको छ।
नेपाल सरकारले शहरी नीति र विकास रणनीति पुनरावलोकन गर्दै जलवायुमैत्री बनाएको पनि बताए। नेपालले जलवायु परिवर्तनबाट सिर्जित विपद्बाट घरबार गुमाएका परिवारलाई निजी आवास पुनर्निर्माण र पुनस्थापना लागि संघ, प्रदेश र स्थानीय तहहरुको लागत साझेदारीमा अनुदान दिने व्यवस्था गरेपनि विपद्का घटनाहरु धेरै नै बढेकाले नेपाल सरकारलाई पर्याप्त वित्त व्यवस्थापनमा गाह्राे परेको बताए।
विपद् पश्चात राष्ट्रिय, अन्तर्राष्ट्रिय, गैरसरकारी र साझेदार संघसंस्थाले गरेको सहयोगका लागि प्रशंसा गरे। विश्व वाटर अपरेटर्स पार्टनरशिप अलाइन्स (गोपा)को सत्रमा पनि वक्ता रहेका उपप्रधानमन्त्री सिंहले जलवायुजन्य विपद् जस्तै बाढीबाट खानेपानी र सरसफाइका क्षेत्रमा परिररहेको असरबारे पनि विश्वसमुदायको ध्यानाकर्षण गराए।
विशेषगरी शहरी विपन्न वर्गमा ठूलो असर देखिएकाले विपद् उत्थानशील संरचना निर्माणमा नेपाल सरकार अग्रसर रहेको भन्दै यसमा संयुक्त राष्ट्रसंघ लगायतका साझेदार संघसंस्थाहरुको साथ सहयोग अपरिहार्य रहेको व्यहोरा विश्वसमुदाय समक्ष राखे।