अतिरुद्र विश्वकल्याण विराट महायज्ञको सम्पूर्ण तयारी पूरा – Nepal Press

अतिरुद्र विश्वकल्याण विराट महायज्ञको सम्पूर्ण तयारी पूरा

काठमाडौं । नेपाल महर्षि वैदिक फाउन्डेसनले यही कात्तिक २१ देखि २५ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा हुने अतिरुद्र विश्वकल्याण विराट महायज्ञको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

नेपालमै पहिलो पटक १ हजार १११ जना आचार्य तथा वैदिक पण्डितबाट हुने महायज्ञमा दैनिक १० हजार जना सहभागी हुने आयोजकले अनुमान गरेको छ । महायज्ञको औपचारिक उद्घाटन वैदिक गुरुहरुद्वारा कात्तिक २१ गते बुधबार बिहान शोभायात्रालगत्तै हुने फाउन्डेसनले जनाएको छ ।

फाउन्डेसनका अनुसार भद्रकाली मन्दिरबाट मौलिक नेपाली झाँकी तथा १०८ शंखघण्टसहित सुरु हुने शोभायात्रा शहीदगेट, रत्नपार्क हुँदै भृकुटीमण्डपमा पुगेर उद्घाटन समारोहमा टुंगिनेछ ।

महायज्ञ आयोजक समितिकी सदस्य एवं प्रचार विभाग प्रमुख समीक्षा बाँस्कोटाले नेपालीहरु आफैंले कर्ता बनेर नेपालको शान्ति र समृद्धिको कामना गर्दै सम्पन्न हुने महायज्ञका दौरान भावातीत ध्यान तथा सिद्धि कार्यक्रम, प्रांगारिक कृषि मेला, वैदिक तथा आधुनिक विज्ञान महासम्मेलन, भागवत कथा वाचनलगायतका कार्यक्रम पनि गरिने बताइन् ।

महायज्ञलाई सफल बनाउन ७७ वटै जिल्लाबाट वैदिक गुरु तथा बटुकहरु काठमाडौं आइपुगेको उनले जानकारी दिइन् ।

सन्त महर्षि महेशयोगी नेपाल आगमनको स्वर्ण महोत्सवका अवसरमा नेपाल महर्षि वैदिक फाउन्डेसनले आयोजना गरेको विराट महायज्ञमा इच्छुक जोकोही सहभागी हुनसक्ने आयोजकले जनाएको छ । महायज्ञका लागि भृकुटीमण्डप परिसरमा हवनस्थल, वाचनस्थल, योगस्थल, सचिवालय, ५० वटा प्रांगारिक कृषि स्टल, सचिवालय, विश्रामस्थल, मिडिया सेन्टर, भोजनस्थललगायतको प्रबन्ध गरिएको आयोजकले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर