दीपक मनाङेको कैद २८ महिनामै भुक्तान हुने – Nepal Press

दीपक मनाङेको कैद २८ महिनामै भुक्तान हुने

काठमाडौं । सर्वोच्च अदालतले गुण्डा नाइकेका रुपमा परिचित गण्डकी प्रदेशका पूर्वमन्त्री राजीव गुरुङ (दीपक मनाङे)लाई पाँच वर्ष कैद गर्ने उच्च अदालतको फैसला सदर गरे पनि उनले २८ महिनामात्रै कैद भुक्तान गर्नुपर्ने भएको छ ।

मनाङेका तर्फबाट उक्त मुद्दामा बहस गरेका कानून व्यवसायी दीपकमणि निरौलाका अनुसार उनले यसअघि एक पटक दुई वर्ष र अर्को पटक आठ महिना गरी ३२ महिनाको कैद भुक्तान गरिसकेका छन् ।

मनाङेको मुख्य योजनामा २०६१ वैशाख ३१ गते महाराजगञ्ज, पानीपोखरीस्थित चाइनिज चुफाङ रेस्टुरेन्टमा अर्का गुण्डा नाइके चक्रे मिलन भनिने मिलन गुरुङमाथि धारिलो हतियार प्रहार भएको थियो । उक्त घटनामा उनी पहिलो पटक २०६२ सालमा ठमेलबाट पकाउ परेका थिए ।

त्यसबेला गुरुङ पत्नी इन्दिराले कुटपिटको महलमा दिएको जाहेरीले मनाङेसहित गणेश लामा, सञ्जय डङ्गोल, तीर्थ लामासहितलाई प्रतिवादी बनाइएको थियो । त्यसमध्ये मनाङेलाई तत्कालीन जिल्ला प्रहरी कार्यालय काठमाडौंले नियन्त्रणमा लिई हिरासतमा राखेको थियो ।

जिल्ला अदालत काठमाडौंले उनलाई पुर्पक्षका लागि कारागार चलान गर्‍यो । उनले डिल्लीबजारस्थित अनाश्रित गुल्म चारखालमा दुई वर्ष कैद भुक्तान गरेपछि तत्कालीन पुनरावेदन अदालतले धरौटीमा रिहा गरेको थियो ।

जाहेरवाली इन्दिरा गुरुङले फेरि २०६१ सालको घटना ज्यान मार्ने उद्योगअन्तर्गत भएको भन्दै पूरक जाहेरी दिइन् । उक्त जाहेरउपर उच्च अदालत पाटनले उनलाई पाँच वर्षको कैद सजाय निर्धारण गर्‍यो ।

मनाङबाट २०७४ मा पहिलो पटक प्रदेशसभा सदस्यको चुनाव जितेपछि उनी केही समय भूमिगत भए । २०७५ जेठमा प्रहरीले उनलाई स्वयम्भूबाट पक्राउ गरी कारागार चलान गरेको थियो । मनाङेले उच्च अदालतबाट भएको फैसला बदरको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । सो आधारमा उनी रिहा भएका थिए ।

मनाङेका कानून व्यवसायी निरौलाका अनुसार आधा कैद भुक्तान भएको अवस्थामा उनले थप कैद मिनाहा पाउने सम्भावना छ ।

सर्वोच्च अदालतका पूर्वरजिस्ट्रार श्रीप्रसाद पण्डितले प्रहरी हिरासतदेखिकै कैद गणना हुने कारण मनाङेका हकमा उक्त व्यवस्था आकर्षित हुने बताए ।

‘उनले त कैद नै काटेका रहेछन्, मधेश प्रदेशमा २०७४ को चुनाव जितेका दिलीप साहले बहुविवाह मुद्दामा कैद नै नकाटी उन्मुक्ति पाएको नजिर पनि छ’, पण्डितले भने ।

सर्वोच्चले पाँच वर्षको कैद सदर गरेलगत्तै मनाङे मंगलबार नै सम्पर्कविहीन भएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर