भेटिएन जीवनको सार्थकता – Nepal Press
ब्लग

भेटिएन जीवनको सार्थकता

मन प्रधान कि मस्तिष्क प्रधान ? यसमा म जीवनको लामो समय घोत्लिएँ । सधैं सोचमा आइरहने, तर निर्क्योल गर्न नसक्ने अवस्थामै जीवनका महत्त्वपूर्ण र उर्बर समय व्यतित भयो । यही प्रश्नको घेराबन्दीमा जीवनका अनेकौं प्रश्न छायाँमा परे । टार्न सम्भव हुने विषयहरु टारिरहें, सम्भव नहुने विषयहरु प्रश्नका कडीमा कसिरहें । सम्भव भनिएका प्रश्नहरु टारिए तापनि त्यसका अवशेषहरु भने अन्तरआत्माका अन्तरकुन्तरमा बसिरहे ।

जीवनको सार्थकता खोज्ने मेरो सोच भने अन्तिम सास रहुञ्जेलसम्म पनि निरन्तर चल्छ भन्नेमा विश्वस्त छु । सोच र खोजको उर्बरताको उमेरमा पहिल्याउन नसकेका मेरा जीवनका सार्थकताहरु निश्चित समयपछि भने आफैं स्वतः कमजोर हुनेमा ममा कुनै द्विविधा छैन । त्यसैले पनि मलाई हरेक पाइलामा झक्झकाउने गर्दछ । त्यही झकझकाइ नै मेरो जीवनको सार्थकता खोज्ने प्रयत्नका असल कडी हुन् । मन (हृदय) ठूलो कि मस्तिष्क ? यो प्रश्नले चालीसौं वसन्त पार गर्‍यो । मन र मस्तिष्कको तादात्म्य मिलाउन नसकेर नै जीवनमा यति धेरै अशान्ति छाएको छ । तापनि यी दुईमा कुन प्रधान भन्ने विषयले गाँजिरह्यो ।

टार्न र सार्न सकिने प्रश्नहरु अन्तरआत्माका अन्तरकुन्तरमा बसिरहँदा टार्न नसकिने विषयहरु भने पाइला-पाइलामा ठोक्किरहेका छन् । जसको समाधानविना जीवनको अर्थ नदेख्दा वार र पारका अवस्थामा विचारको मन्थन र विषयवस्तु निराकरणको खोजीमा लाग्नु नै पहिलो विकल्प हो । दोस्रो विकल्प भनेको जीवनको अन्त्य हो । जीवनको अन्त्यले सम्पूर्ण कुराको समाप्ति हुनुभन्दा अनेकौं प्रश्नको उत्तर खोज्नु नै अहिलेको प्राथमिकता हो, जुन प्रयत्न गरिरहेको छु ।

मनमा लागेका विषयहरु सबै सत्य होइनन् भन्ने कुराको भेउ पाउन नै जीवन आधाआधी भयो । मन पनि चेतनामा निर्भर हुने रहेछ ।

साँच्चै हामी सफल हुने भन्छौं र भौतिक प्राप्तिमा जीवन सफल सोच्नेहरु हामी अनगिन्ती छौं, तर यसमा यो पंक्तिकार भने सहमत छैन । जीवनमा दुःख र चिन्ताको कारण नै भौतिक सम्पत्ति भएको निष्कर्षमा यो मन र मस्तिष्क दुवै पुगेका छन् । जीवन सफल हुनुमा भौतिक सम्पत्तिभन्दा पनि चेतनाको विकास र सामाजिक योगदान हो भन्ने सोचमा मन र मस्तिष्क दुवै सहमत छन् ।

मन (हृदय) साँच्चै क्षणिक हुन्छ क्यारे ! मस्तिष्क भने यथार्थमा आधारित । मनको सुनेर गर्नेमा अभ्यस्त बनिसकेको यो जीवनमा मस्तिष्कका निर्णय नै सर्वोपरि हो भन्ने बुझाउन कति सहज, कति असहज ! धेरै मनका सुन्यौं र गर्‍यौं, तर त्यसले जीवनका सुख र शान्तिको अनुभूति दियो कि दिएन ? यही प्रश्नले मन घोत्लिरहेको छ । मन र मस्तिष्कको फ्युजन गर्न नसकेको सन्दर्भमा यावत प्रश्न जीवनका उपहार बनेर टाँसिएका छन् ।

हृदय र मस्तिष्कमा कुन प्रधान ? एकअर्काको परिपूरक बनेका यी अंगहरु नै जीवन चलाउने यन्त्रहरु हुन् । मनको आदेश मानिरहँदा मस्तिष्कलाई सोच्ने परिपाटी भने ओझेलमा परिदियो । आफूलाई लागेको नै एकमात्र सत्य हो भन्ने द्विविधामा रमेका हामीले यसभन्दा पर सोच्न कहिल्यै सकेनौं । त्यसो हो भने हृदयको आदेश मस्तिष्कले मान्छ कि मस्तिष्कको आदेश मनले ? हाम्रा अंगहरु कसका आदेशबाट परिचालित हुन्छन् त ?

मनमा लाग्नु र मस्तिष्कमा लाग्नुको बीचमा असंख्य असमानता रहेछ । त्यही असमानताका बीचमा जीवन पौडिएका रहेछन् । यही असमानतालाई बुझ्न नसकेका र नखोजिएका पलहरुमा गरिएका अनेकौं कर्महरु भने जीवनका लागि बोझ बन्ने रहेछ । जुन बोझ हामी अविरल रुपमा अनन्तकालसम्म बोकी हिँडेका छौं ।

मन र मस्तिष्कको फ्युजन गर्न पनि चेतनाको विकास हुनुपर्ने रहेछ । मन र मस्तिष्कको फ्युजन गर्न सकिए सायद मानव जाति संसारमा सबै प्राणीभन्दा सुख र शान्तिको प्रतिक हुन्थ्यो होला, जीवन सार्थक हुन्थ्यो होला ।

मनले चाहेको तर मस्तिष्कलाई नसोधिएका अनेकौं कर्मले जीवन फर्कन नसक्ने ठाउँमा पुगिसकेका छन् । मन र मस्तिष्कको फ्युजन गर्न पनि चेतनाको विकास हुनुपर्ने रहेछ । जुन सामान्य मस्तिष्कमा बस्न सकेन । मनका निर्णय मस्तिष्कलाई किन सोधिएन ? मनका निर्णय नै किन प्रधान बनिदियो ? मन र मस्तिष्कको फ्युजन गर्न सकिए सायद मानव जाति संसारमा सबै प्राणीभन्दा सुख र शान्तिका प्रतीक हुन्थ्यो होला, जीवन सार्थक हुन्थ्यो होला ।

त्यसो भए जीवनमा मस्तिष्कका निर्णयहरु कति भए ? यसले जीवन घोत्लिन पुगेको छ । जति घोत्लिए पनि भेट्टाउन नसकेका निर्णयहरु सबै मन (हृदय) का मात्र पाएँ । मनमा लागेका विषयहरु सबै सत्य होइनन् भन्ने कुराको भेउ पाउन नै जीवन आधाआधी भयो । मन पनि चेतनामा निर्भर रहने रहेछ । सहज वातावरण र क्षणिकमा हिँडाउन मनका निर्णयहरु निर्णायक बने तापनि त्यसले जीवनमा गलपासोमात्र थपिदियो । त्यही गलपासो हटाउन जीवनमा अनेकौं कर्म मञ्चन भए तापनि त्यसले पूर्णता नपाउने कुरामा विश्वस्त छु ।

प्राप्तिमा जीवनको सफलता खोज्ने, सफलताका लागि सहज बाटो रोज्ने, क्षणिक खुशीका लागि गरिने मनका निर्णयहरु हुन् । सामाजिक हुन मनकाे निर्णय होइन, मस्तिष्ककाे निर्णय प्रधान हुने रहेछ । व्यक्तिगत उपलब्धिलाई समाज विकासको साधन खोज्नेहरुले जीवनको अर्थ बुझ्न सक्ने रहेनछ । थुप्रिएका अनेकौं समस्या समाधान गर्न त्यति सहज छैन । सानो सोच र चेतनाले यो सम्भव हुने विषय होइन रहेछ । लहलहैमा जीवन व्यतित गर्ने हामी सृष्टिका निरन्तरताभन्दा अन्य पृथक हुन सकेनौं ।

चिसो हावाको शीतलतामा होस् वा रातको त्यो चकमन्न निष्पट अँध्यारोमा ! जीवनको सार्थकता कतै भेटिएन । जीवनको सार्थकता र शान्ति खोज्ने यी आत्माहरु थप उकुसमुकुस भएर भड्किनुको विकल्प देखिनँ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *