प्रहरी हिरासतमा थुनुवाले गरे आत्महत्या
रुपन्देही । कपिलवस्तुको प्रहरी हिरासतमा रहेका एक युवाले आत्महत्या गरेका छन् ।
इलाका प्रहरी कार्यालय गणेशपुरको थुनुवा कक्षमा रहेका विजयनगर गाउँपालिका-५, ठकुरापुरका २३ वर्षीय नसरुद्दिन खाले आत्महत्या गरेका हुन् ।
मङ्गलवार बिहान साढे ५ बजेतिर शौचालय गएका उनी फलामको सरियामा लामो रुमालको पासो बनाएर झुन्डिएको अवस्थामा मृत फेला परेका थिए ।
उनी जबरजस्ती करणी मुद्दामा गत कात्तिक १५ गते पक्राउ परेको जिल्ला प्रहरी प्रवक्ता डीएसपी मोहनमणि अधिकारीले बताए ।
तिहार बिदा रहेकाले अदालतको सहमति लिएर उनलाई पक्राउ गरिएको थियो । उनलाई अदालतबाट म्याद थप गर्न ल्याउने प्रक्रिया हुँदा घटना भएको हो ।
घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । शवको पोस्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पताल, बुटवल ल्याइएको छ ।