नेपालमा पहिलो पटक आधिकारिक रूपमा दर्ता भयो टिकटक – Nepal Press

नेपालमा पहिलो पटक आधिकारिक रूपमा दर्ता भयो टिकटक

काठमाडौं । नेपालमा पहिलो पटक आधिकारिक रूपमा सामाजिक सञ्जाल टिकटक दर्ता भएको छ ।

तिहार अघि नै दर्ता प्रक्रिया पुरा भइसकेको भए पनि मङ्गलवार मात्रै टिकटकको कम्पनीले नेपालमा आधिकारिक रूपमा दर्ता भएको प्रमाणपत्र लिएको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जनाएको हो ।

तिहार अघि नै टिकटक दर्ताको निर्णय भए पनि तिहारपछिको बिदाको पहिलो दिन मङ्गलवार टिकटका प्रतिनिधिले दर्ता प्रमाणपत्र लिएको मन्त्रालयका सहसचिव एवं प्रवक्ता गजेन्द्र ठाकुरले नेपाल प्रेसलाई जानकारी दिए ।

उनका अनुसार सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका, २०८० को दफा ३ को उपदफा ६ बमोजिमको व्यवस्था अनुसार मन्त्रालयमा दर्ता गरिएको हो ।

मन्त्रालयका प्रवक्ता ठाकुरका अनुसार यस अघि नेपालमा टिकटक आधिकारिक नभए पनि अब भने आधिकारिक रूपमा नेपालको ऐन कानूनको परिपालना गर्ने प्रक्रियामा अघि बढेको छ ।

यसअघि टिकटकमार्फत भइरहेका साइबर अपराधमा उक्त कम्पनीले कुनै पनि सूचना नै नदिने गरेको भए पनि टिकटक आधिकारिक रूपमा नेपालमा दर्ता भएसँगै साइबर अपराधको अनुसन्धानमा उक्त कम्पनीले सघाउने प्रतिबद्धता जनाएको छ ।

यति मात्रै नभएर नेपालको कानून तथा सर्त मान्न तयार भएको, पर्यटन प्रवर्द्धन तथा डिजिटल साक्षरतामा पनि सघाउने प्रतिबद्धता जनाएको छ ।

निर्देशिकाको दफा ३ को उपदफा ८ अनुसार दर्ता भएको सामाजिक सञ्जाल प्लेटमर्फ सञ्चालन गर्ने व्यक्ति, कम्पनी वा संस्थाले प्रत्येक ३ वर्षमा विवरण अद्यावधिक गराउनुपर्ने व्यवस्था रहेको छ ।

सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका, २०८० को दफा ३ मा सामाजिक सञ्जाल प्लेटफर्म सञ्चालन गर्न चाहने व्यक्ति, कम्पनी वा संस्थाले निर्देशिका बमोजिम मन्त्रालयमा सूचीकरण गर्नुपर्ने व्यवस्था छ ।

त्यसका लागि सामाजिक सञ्जाल प्लेटफर्म सञ्चालन गर्ने व्यक्ति, कम्पनी वा संस्थाले सूचीकरणका लागि मन्त्रालयमा तोकिएको ढाँचामा निवेदन दिनुपर्ने व्यवस्था छ ।

मन्त्रालयले निवेदन जाँचबुझ गर्दा विवरण उपयुक्त देखिएमा सामाजिक सञ्जाल प्लेटफर्म सञ्चालन गर्ने व्यक्ति वा संस्थाला२ तोकिएको ढाँचामा सूचीकरण गरेको दर्ता प्रमाणपत्र दिनुपर्ने व्यवस्था छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर