काठमाडौंको परिवर्तनशील जनमत: कीर्तिपुर र महानगरको १६ नम्बर वडामा हुँदैछ सबैको परीक्षण – Nepal Press

काठमाडौंको परिवर्तनशील जनमत: कीर्तिपुर र महानगरको १६ नम्बर वडामा हुँदैछ सबैको परीक्षण

काठमाडौं । आगामी मंसिर १६ गते स्थानीय तहका विभिन्न ४४ पदमा उपनिर्वाचन हुँदैछ । उपनिर्वाचनको मिति नजिकिएसँगै दलहरु आआफ्नो तयारीमा छन् ।

यो उपचुनाव दलहरुका लागि आफ्नो जनमतको ताजा अवस्था परीक्षणको अवसर पनि हो । मिसन ८४ को गफ गरिरहेका दलहरुले आफ्नो वास्तविक धरातलको छनक उपचुनावबाट प्राप्त गर्न सक्नेछन् । त्यसैले पनि दलहरुले उपचुनावलाई गम्भीरतापूर्वक लिने देखिन्छ ।

उपचुनावको इपिसेन्टर काठमाडौं नै बन्नेवाला छ । काठमाडौंको कीर्तिपुरको मेयरसहित दुई वडाध्यक्ष र काठमाडौं महानगरपालिका– १६ वडामा उपनिर्वाचन हुनेछ । काठमाडौंमा मतदाताको रुझान सधैं परिवर्तनशील देखिने गरेको परिप्रेक्ष्यमा उपचुनावमा कसले बाजी मार्ला भन्न सकिने अवस्था छैन ।

दलहरु अहिले धमाधम उम्मेदवार छान्नमा व्यस्त छन् । प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले अहिलेसम्म उम्मेदवार टुंग्याएको छैन । उम्मेदवारको नाम तल्लो समितिबाट आज केन्द्रमा आइसक्ने स्थानीय तह समन्वय विभाग प्रमुख मधु आचार्यले बताए ।

कांग्रेसले उपनिर्वाचनको कमान्डर महामन्त्री विश्वप्रकाश शर्मालाई तोकेको छ । कीर्तिपुरमा गएको निर्वाचनमा कांग्रेसले क्लीनस्वीप नै गरेको थियो, तर अहिले नतिजा उल्ट्याउने लक्ष्यका साथ एमाले लागेको छ ।

एमालेले डा. सुरेन्द्र मानन्धरलाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ । २०७० सालको संविधानसभा निर्वाचनमा उम्मेदवार बनेर दोस्रो भएका मानन्धरको यो दोस्रो चुनावी प्रतिस्पर्धा हो ।

अध्यक्ष प्रचण्डले कीर्तिपुरलाई आधार बनाएर २ चुनाव लडेको बलमा माओवादीले प्रा.डा. शिवशरण महर्जनलाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ । महर्जनले चुनावका लागि आवश्यक रणनीति बनाउन पार्टीसँग आवश्यक समन्वय गरिरहेको बताए । उनी गत निर्वाचनमा उम्मेदवार बनेर तेस्रो भएका थिए ।

प्रतिनिधिसभाको चौथो ठूलो दल रास्वपा पार्टी सभापति रवि लामिछाने पक्राउ परेपछि उपनिर्वाचनबारे अन्योलमा परेको छ । पार्टीले अहिलेसम्म उम्मेदवारी दिने-नदिने नै निश्चित गरेको छैन । यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीले ध्रुव महर्जनलाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ ।

काठमाडौं महानगरभित्र हुन लागेको उपनिर्वाचनले पुराना दल र नयाँहरुको लोकप्रियता कुन अवस्थामा छ भन्ने पनि देखाउनेछ । काठमाडौंमा गएको स्थानीय तहको निर्वाचनमा कांग्रेस, एमालेसहित ठूला दललाई पन्छाएर बालेन्द्र शाह (बालेन) मेयर बनेका थिए ।

उपनिर्वाचनमा उनको भूमिका के हुन्छ भन्ने खुलिसकेको छैन । उनी मौन वा तटस्थ बस्छन् कि कुनै उम्मेदवारलाई समर्थन गर्छन् भन्नेमा पनि धेरैको चासो छ । यदि उनले कसैलाई समर्थन जनाए भने त्यसले ठूलै प्रभाव पार्नसक्छ ।

कीर्तिपुर कसको किल्ला ?

२०५४ सालमा नगरपालिका बनेको कीर्तिपुरमा वामपन्थीहरुको वर्चस्व रहँदै आएको थियो । २०५४ र २०७४ को स्थानीय निर्वाचनमा एमालेले विजय प्राप्त गरेको कीर्तिपुर माओवादीको पनि उल्लेख्य शक्ति रहेको ठाउँ हो ।

तर गत स्थानीय चुनावमा वामपन्थी उम्मेदवार बढार्दै कांग्रेसले क्लीनस्वीप गर्‍यो । पहिलो पटक कांग्रेसका राजकुमार नकर्मी मेयरमा निर्वाचित भएका थिए, तर उनको निधन भएपछि अहिले उपनिर्वाचन हुन लागेको हो ।

कांग्रेसका नकर्मीले ९,०४३ मत ल्याउँदा एमालेका केशरत्न बज्राचार्यले ५,५०७, माओवादी केन्द्रका शिवशंकर महर्जनले ४,०९० र एकीकृत समाजवादीका बटुकृष्ण थापाले १,१५३ मत ल्याएका थिए । नेकपा एसका मेयर उम्मेदवार थापासहित कीर्तिपुर नगर कमिटी नै गत महिना एमालेमा विलय भइसकेको छ ।

कीर्तिपुरको मेयर तथा उपमेयरमात्रै होइन, १० वडामध्ये ९ वटामा कांग्रेसका उम्मेदवारले जितेका थिए । वडा नम्बर ४ मा मात्र स्वतन्त्र उम्मेदवार दिनेशचन्द्र दाहाल निर्वाचित भएका थिए । अहिलेको उपनिर्वाचनमा कांग्रेसलाई आफ्नो सीट जोगाउन चुनौती छ । एमाले आफ्नो गढ फिर्ता ल्याउन चाहन्छ ।

कीर्तिपुरको वडा नम्बर १ र ४ मा वडाध्यक्ष पदका लागि पनि उपचुनाव हुनेछ । त्यहाँ एमाले र माओवादी केन्द्रले उम्मेदवार खडा गरेर प्रचार पनि थालिसकेका छन् । वडा नम्बर ४ नेकपा एसको बलियो मानिएको बेला सो पार्टीको कमिटी नै एमालेमा प्रवेश गरेको छ ।

१६ नम्बर वडाको शक्ति

कीर्तिपुरमा मात्रै नभई काठमाडौं महानगरको वडा नम्बर १६ मा पनि यस पटक रोचक निर्वाचन हुँदैछ । दुई पटक जितेका कांग्रेसका चर्चित वडाध्यक्ष मुकुन्द रिजालको असामयिक निधनपछि यहाँ उपनिर्वाचन हुन लागेको हो ।

काठमाडौं महानगरपालिकाको सबैभन्दा ठूलोमध्येमा पर्ने र सर्वाधिक मतदाता रहेको यो वडाले शहरी जनमतको ताजा रुझानलाई देखाउनेछ । यहाँ सोह्रखुट्टे, वनस्थली, बालाजु, म्हैपी, माछापोखरीलगायतका क्षेत्र पर्छन् ।

काठमाडौं महानगरपालिका वडा नम्बर १६ ले शहरी जनमतको रुझान कता छ भन्ने देखाउन सक्छ । यो वडामा गत निर्वाचनमा कांग्रेसका मुकुन्द रिजाल ४,०१९ मतका साथ वडाध्यक्ष निर्वाचित हुँदा एमालेका लक्ष्मीरत्न तुलाधरले ३,३१० मत पाएका थिए । एमालेले यस पटक पनि तुलाधरलाई नै उम्मेदवार बनाउने भएको छ ।

त्यस्तै तेस्रो स्थानमा रहेका नेकपा एसका लक्ष्मण गमालले १,५८९ र राप्रपाका बिन्दिका गुरुङले ५५७ मत पाउँदा बालेनको लौरो बोकेका स्वतन्त्र उम्मेदवार साञ्जे गुरुङले ३२२ मत पाएका थिए ।

यस वडाका अन्य चार जना सदस्य भने नेकपा एमालेबाट निर्वाचित भएका थिए । अहिले कार्यवाहक वडाध्यक्ष एमालेका पुष्प महर्जन छन् । वडाध्यक्षमा कांग्रेसका रिजालले ४ हजार मतले जित्दा सदस्यहरु भने २८ सय मतको हाराहारीमा रोकिएका थिए । जबकि एमालेका वडाध्यक्षदेखि सदस्यसम्मको मत ३३ देखि ३४ सयभित्र थियो ।

यसबाट के देखिन्छ भने एमालेको विभाजन र रिजालको व्यक्तिगत लोकप्रियताका कारण त्यस चुनावमा कांग्रेसले जितेको थियो । अब नयाँ तथा स्वतन्त्रहरुको लहर चलेका बेला जनमत कता जानेछ ? उपचुनाव रोचक प्रतीक्षाको विषय बनेको छ ।

अहिले उपचुनाव हुन लागेका सीटहरु यसअघि कांग्रेसले जितेका कारण उसलाई आफ्नो जित जोगाउने चुनौती छ । एमाले र अन्य दललाई लाभ लिने मौका छ । रास्वपा जस्ता नयाँ दलका लागि शहरी जनमत आफ्नो पक्षमा रहेको देखाउने मौका र चुनौती दुवै छ ।

दलहरुको आआफ्नै दाबी

स्थानीय तहको उपनिर्वाचनलाई लिएर दलहरुले आआफ्नै दाबी गर्दै आएका छन् । कांग्रेसका स्थानीय तह समन्वय विभाग प्रमुख मधु आचार्य उम्मेदवार चयन गर्दा पार्टीले ध्यान दिनुपर्ने बताउँछन् ।

स्थानीय तह निर्वाचन संयोजन समितिका सदस्यसमेत रहेका आचार्यले भने, ‘काठमाडौंको जनमत स्थिर छैन । त्यसैले हामी उम्मेदवार चयनदेखि नै ध्यानमा राखेर अघि बढ्नुपर्छ भन्नेमा छौं ।’

विगतदेखि अहिलेको निर्वाचनको नतिजा हेर्दा काठमाडौं उपत्यकाको नतिजा सहजै आँकलन गर्नसक्ने खालको नआएको उनको पनि बुझाइ छ ।

कांग्रेसबाट उपनिर्वाचनको कमान्ड महामन्त्री विश्वप्रकाश शर्माले सम्हालेका छन् । उपनिर्वाचन हुने अधिकांश क्षेत्र कांग्रेसले जितेको भएकाले आफ्नो क्षेत्र सुरक्षित गर्नुपर्ने दबाबमा कांग्रेस छ ।

सत्ताको नेतृत्व गरिरहेको नेकपा एमालेका प्रचार विभाग प्रमुख राजेन्द्र गौतम काठमाडौंमा यस पटक विगतमा जस्तो हावा अब नचल्ने दाबी गर्छन् । पार्टीले सबै उम्मेदवार कात्तिक २२ गतेभित्र टुंग्याउने उनले बताए ।

उनले भने, ‘कीर्तिपुर नगरपालिकको नतिजा आफ्नो पक्षमा ल्याउने गरी काम गरिरहेको छ । गत निर्वाचनबाट आएका नयाँहरुको काम पनि हामीले हेरिसकेका छौं । गत प्रतिनिधिसभा र प्रदेशसभाको उपनिर्वाचनमा पनि जनताको रुचि र एजेन्डा बोक्ने उम्मेदवार चाहिन्छ भन्ने प्रमाणित भइसक्यो ।’

गौतमले अहिलेको समस्याको सामना गर्नसक्ने, जनाधार बलियो भएको र युवा तथा बौद्धिक वर्गको प्रतिनिधित्व गर्नसक्ने गरी डा. सुरेन्द्र मानन्धरलाई कीर्तिपुरमा अघि सारेको जिकिर गरे ।

उनले थपे, ‘कार्यकर्ताभन्दा पनि आमजनतालाई समेट्नसक्ने उम्मेदवार अघि सारेका छौं । हावाहुरीमा कहिलेकाहीँ परिवर्तन हुन्छ भन्ने कुरा जनताले हेरिरहेका छन् । एजेन्डा र शक्ति अब जनताले हेर्छन् । जनता सचेत भइसके ।’

नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य हिमाल शर्माले पनि यस पटक कीर्तिपुरमा आफ्नो पार्टीले बलियो उम्मेदवार अघि सारेको दाबी गरे ।

उनले भने, ‘हामीले कीर्तिपुरमा बलियो उम्मेदवार दिएका छौं । माओवादीकै एजेन्डा देशमा लागू भइरहेकाले सम्झाउन र बुझाउन नसक्दा हामी कमजोर भएका छौं । हामीले हाम्रो एजेन्डालाई अघि बढाउनुपर्छ । हामीले जनतालाई एक पटक हामी सुध्रिएर आएका छौं, हेर्नुस् भनेका छौं । कमजोरी सच्चाएर अहिले जनताले हाम्रो उम्मेदवारलाई विजयी गराउँछन् ।’

काठमाडौंसहित शहरी क्षेत्रमा माओवादी कमजोर भए पनि तुलनात्मक रुपमा कीर्तिपुरमा गएको निर्वाचनमा राम्रो मत ल्याएको उनले जिकिर गरे ।

उनले थपे, ‘विगतमा शहरी क्षेत्रमा कमजोर भए पनि अहिले अवस्था फेरिँदै गएको छ । जनताले बुझ्दै गएका छन् । हामीले गएको निर्वाचनमा एक्लाएक्लै लड्दा पनि काठमाडौंमा त बढाउँदै लगेका छौं । यो निर्वाचनबाट हाम्रो मत बढ्ने मतदाताको मनोविज्ञानले पनि देखाएको छ ।’

राजावादी पार्टी राप्रपाले कांग्रेस, एमाले, माओवादीले देश बिगारेको भन्दै आफ्नो पार्टीलाई जिताउन आग्रह गर्दै आएको छ । गत साता उम्मेदवार घोषणा गर्न कीर्तिपुर पुगेका अध्यक्ष राजेन्द्र लिङदेनले ठूला दललाई उपनिर्वाचनमा मत दिएर देशलाई बर्बाद बनाउने काममा आफैं सहभागी हुने काम कसैले पनि गर्न नहुने तर्क गरे ।

उनको भनाइ थियो, ‘यो उपनिर्वाचनमा राप्रपाले नजितेर कसले जित्छ त ? राप्रपालाई भोट नदिएर त्यही कांग्रेसलाई दिने, त्यही एमालेलाई दिने, त्यही माओवादीलाई दिने ? देश यत्रो बर्बाद भयो । अनि यो बर्बादीमा आफैं सहभागी हुने ? देखेको, जानेको पार्टीको हिसाबले पनि म फेरि पनि भन्छु, नेपालको राजनीतिमा राप्रपाबाहेक भ्रष्टाचारको विरोधी, सुशासनको पक्षधर पार्टी कुन छ ?’

रवि लामिछाने नेतृत्वको रास्वपालाई हावादारी पार्टीको संज्ञा दिँदै उनले देशलाई अघि बढाउने कुनै योजना नभएको टिप्पणी गरे । राप्रपाले जितेका स्थानीय तहले नमुनायोग्य काम गरेको भन्दै उपनिर्वाचनमा जनताले साथ दिने विश्वास व्यक्त गरे ।

उलटफेरको विगत

काठमाडौंको जनमत स्थिर हुँदैन भन्ने विगतदेखिकै परिणामबाट देखिँदै आएको छ । प्रायः नयाँलाई छान्ने काठमाडौंको प्रवृत्तिले पञ्चायतकालमा नानीमैंया दाहाललाई प्रधानपञ्च जिताएको थियो । दाहालले पञ्चायतकालका शक्तिशाली नेता जोगमेहर श्रेष्ठलाई हराएकी थिइन् । पञ्चायतकै चुनावमा वामपन्थी उम्मेदवार पद्मरत्न तुलाधरले काठमाडौंबाट जितेका थिए ।

२०४८ सालको चुनावमा अहिले उपचुनाव हुन लागिरहेको कीर्तिपुर र काठमाडौंको मुटु मानिने बानेश्वरका दुई क्षेत्रमा एमाले महासचिव मदन भण्डारीले वहालवाला प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई हराएका थिए । काठमाडौंका जनताले जनआन्दोलनलगत्तै भएको चुनावमा त्यही जनआन्दोलनका सर्वोच्च कमान्डर गणेशमान सिंहकी पत्नी मंगलादेवी र छोरा प्रकाशमान सिंह दुवैलाई हराइदिए ।

२०४८ देखि पार्टी विभाजनको बेलासम्म लगातार तीन वटा चुनावमा एमालेले काठमाडौंलाई लालकिल्ला बनायो, तर २०६४ को चुनावमा काठमाडांैवासीले एमालेलाई जिरो सीटमा झारेर कांग्रेस र माओवादीलाई रोजेका थिए । अहिले चुनाव हुन लागेको कीर्तिपुरकै क्षेत्रबाट २०६४ को निर्वाचनमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पनि संविधानसभाको निर्वाचन जितेका थिए, तर २०७० सालको संविधानसभा निर्वाचनमा आइपुग्दा कमल थापा नेतृत्वको राप्रपा नेपालले समानुपातिकमा सर्वाधिक मत पायो ।

२०७४ को स्थानीय तहको निर्वाचनमा काठमाडौंको मेयरमा एमालेका विद्यासुन्दर शाक्य विजयी हुँदा विवेकशील नेपाली दलकी रञ्जु दर्शनाले २३ हजार ४३९ मत पाएकी थिइन् । साझा पार्टीका उम्मेदवार किशोर थापाले पनि १८ हजार ४९६ सम्मानजनक मत पाएका थिए ।

२०७४ सालको निर्वाचनमा नयाँलाई सम्मानजनक मत दिएको काठमाडौंले २०७९ मा आइपुग्दा कांग्रेस एमालेसहित ठूला दललाई धक्का दिँदै स्वतन्त्र उम्मेदवार बालेन शाहलाई जितायो । त्यही वर्ष काठमाडौंले आमचुनावमा रवि लामिछाने नेतृत्वको रास्वपालाई समानुपातिकमा पहिलो र प्रत्यक्षमा ४ सीट दिलायो ।

‘जनताले पार्टी होइन, व्यक्ति हेर्न थालेका छन्’

 

राजनीतिक विश्लेषक श्याम श्रेष्ठ काठमाडौंका मात्र नभएर देशभरका जनताले पार्टीभन्दा पनि व्यक्ति हेर्न थालेको बताउँछन् ।

उनले भने, ‘काठमाडौंभित्रका मात्रै होइन, अहिले बाहिर पनि दलका नेताहरुमाथि आक्रोश देखिन्छ । उनीहरुमा हामीलाई धोखा दिए, केही पनि गरेनन्, उनीहरु भ्रष्ट भए भन्ने भावना देखिन्छ । त्यसैले कहिले स्वतन्त्र मान्छेहरु जित्छन्, पार्टीको पनि केही मान्छे जितेको देखिन्छ । यहाँका जनताले पार्टीभन्दा पनि व्यक्ति हेरेर भोट दिने स्थिति छ ।’

सबै दलले मिसन २०८४ भनिरहेका छन्, यो निर्वाचनले शक्ति परीक्षण गर्छ त भन्ने जिज्ञासामा उनी भन्छन्, ‘दलहरुले मिसन २०८४ को प्रचार गरे पनि तल्लो तहसम्म त्यसको प्रभाव पर्दैन । मान्छेहरुले अहिले व्यक्ति हेर्ने गरेका छन् । पार्टीको मान्छे पनि राम्रा छन् भने जिताउने, खराब छ भने हराउने मानसिकता देखिन्छ ।’

विश्लेषक श्रेष्ठले यो चुनावमा सबै एक्लाएक्लै लडे पुराना-नयाँ सबैको शक्ति परीक्षण हुने बताए ।

श्रेष्ठले थपे, ‘काम गर्ने लक्षण भएका, भिजन भएकालाई भोट दिने मनस्थितिमा जनता पुगिसकेका छन् । यसले आगामी निर्वाचनको लागि दलहरुको शक्ति परीक्षण यो मत परिणामले केही हदसम्म गर्छ, तर त्यसबेला परिस्थिति अर्कै भइसकेको पनि हुनसक्छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर