इजरायलको राजदूतमा पण्डित नियुक्त – Nepal Press

इजरायलको राजदूतमा पण्डित नियुक्त

काठमाडौं ।राष्ट्रपति रामचन्द्र पौडेलले इजरायलका लागि नेपाली राजदूतमा प्रा. धनप्रसाद पण्डितलाई नियुक्त गरेका छन् ।

नेपालको संविधानअनुसार मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले पण्डितलाई इजरायलका लागि नेपालको आवासीय राजदूतमा नियुक्त गरेको राष्ट्रपति कार्यालयद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले ३ महिना अघि गत साउन १४ मा १७ मुलुकका लागि विभिन्न राजदूत सिफारिस गर्दा पण्डितलाई इजरायलका लागि राजदूत सिफारिस गरेको थियो ।

इजरायलका लागि राजदूतमा सिफारिस पण्डित अदालतबाट सजाय पाएका व्यक्ति भएकाले नियमावलीअनुरुप राजदूत हुन नमिल्ने भन्दै संसदीय समितिले अनुमोदन गर्नमा ढिलाई गरेको थियो ।

पण्डितलाई पद्मकन्या क्याम्पसको प्रमुख हुँदा सूचना उपलब्ध नगराएको भन्दै राष्ट्रिय सूचना आयोगले १५ हजार जरिवाना र विभागीय कारबाहीका लागि त्रिविलाई पत्र लेखेको थियो ।

आयोगको आदेशविरुद्ध पण्डित उच्च अदालत पाटन पुगे पनि २०७८ मा उच्च अदालत पाटनले सूचना आयोगको आदेश सदर हुने फैसला गरेर पण्डितलाई दोषी ठहर गरेको थियो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर