नरेश श्रेष्ठ स्मृति वाइवाइ यू-१९ पुरुष राष्ट्रिय क्रिकेट: लुम्बिनीलाई हराउँदै सुदूरपश्चिम च्याम्पियन – Nepal Press

नरेश श्रेष्ठ स्मृति वाइवाइ यू-१९ पुरुष राष्ट्रिय क्रिकेट: लुम्बिनीलाई हराउँदै सुदूरपश्चिम च्याम्पियन

काठमाडौं । फाइनलमा लुम्बिनी प्रदेशलाई आठ रनले हराउँदै सुदूरपश्चिम प्रदेशले नरेश श्रेष्ठ स्मृति वाइवाइ यू-१९ पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ ।

विराटनगरमा बुधबार भएको फाइनलमा सुदूरपश्चिमले दिएको १२८ रनको लक्ष्य पछ्याउने क्रममा लुम्बिनीले १३.१ ओभरमा सबै विकेट गुमाएर ११९ रनमात्र बनाउन सक्यो ।

लुम्बिनीका ओपनर तथा कप्तान आकाश त्रिपाठीले २२ रन बनाए पनि टीमको हार टार्न सकेनन् । अन्तिमसम्म अविजित रहेका शिव कुँवरले २०, विजय कोहारले १९, समीर अली मुसलमानले १८ र सन्तोष यादवले १२ रन थपे ।

सुदूरपश्चिमविरुद्ध लुम्बिनीका चार ब्याटर ‘डक’ भएका थिए । लुम्बिनीका सम्राट भुसाल, दिल्साद अली, निर्मल गुरुङ र निर सार्की शून्यमा आउट भए ।

लुम्बिनीलाई सस्तैमा समेट्न सुदूरपश्चिमका हेमन्त धामीले चार विकेट लिए । १० ओभर बलिङ गरेका धामीले दुई मेडन राख्दै २५ रन खर्चिए ।

यस्तै सचिन भट्ट र नरेन साउदले समान दुईदुई विकेट लिए । अशोक धामीको नाममा एक विकेट रह्यो ।

त्यसअघि टस जितेर ब्याटिङमा आएको सुदूरपश्चिम ३७.३ ओभरमा १२७ रनमै समेटिएको थियो । सुदूरका अभिषेक थापाले २९ रन बनाएका थिए । नरेन भट्टले २७ रन थप्दा नरेन साउदले १५, राजेश एैयरले १४ र दीपक बोहराले ११ रन थपेका थिए ।

लुम्बिनीका सन्तोष यादवले पाँच विकेट लिएका थिए । १० ओभर बलिङ गरेका उनले २८ रनमात्र खर्चिएका थिए । राजेश कुर्मीले तीन र शिव कुँवरले एक विकेट लिए ।

प्रतियोगिताभर २७ विकेट लिएका सन्तोष यादव ‘प्लेयर अफ दि सिरिज’ चुनिए । उनले ब्याटिङमा पनि १९१ रन जोडेका थिए । यादव उत्कृष्ट बलरसमेत भए । उत्कृष्ट ब्याटर कोशीका सोनु अन्सारी घोषित भए ।

उत्कृष्ट खेलाडीले नगद ५० हजारका साथ ट्रफी तथा उत्कृष्ट ब्याटर र बलरले नगद २५ हजारका साथै ट्रफी हात पारे । प्लेयर अफ द म्याच सुदूरपश्चिमका कप्तान हेमन्त धामीले पाएको नगद ३ हजार पुरस्कार ग्राउन्ड स्टाफलाई वितरण गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *