‘ढुकढुकी ७२ मेगाहर्ज’: श्रीमान-श्रीमतीमार्फत सम्बन्धको आयाम केलाउँदै – Nepal Press

‘ढुकढुकी ७२ मेगाहर्ज’: श्रीमान-श्रीमतीमार्फत सम्बन्धको आयाम केलाउँदै

काठमाडौं । मेडिकल साइन्सले भन्छ, मुटुको औसत बिट प्रतिमिनेट ६० देखि ८० पटक हुन्छ । यसमा पनि उत्कृष्ट हर्टबिट चाहिँ ७२ हो ।  दिमागकाे बिटले पनि  ७२ सँग केही न केही सम्बन्ध राख्छ । शास्त्रीय संगीतमा रागहरुसँग सम्बन्धित अंक पनि हाे ७२ । यही बिटमाथि सम्बन्धका आयामहरु खोतल्दै मण्डला थिएटरमा आउँदो कात्तिक २४ गतेबाट मञ्चन हुन लागेको नाटक हो- ‘ढुकढुकी ७२ मेगाहर्ज ।’

अर्कातिर मुटुको यो आवाज सानो, मधुर र सूक्ष्म हुन्छ, ढुक् ढुक् ढुक् ढुक्, तर यही आवाज जीवनको सबैभन्दा ठूलो आवाज हो । यो आवाज सम्बन्धसँग जोडिएको आवाज हो । त्यसैले नाटकको अन्तिममा ‘हर्ज’ मात्रै नराखेर ‘मेगाहर्ज’ राखेको निर्देशक केदार श्रेष्ठ बताउँछन् ।

केदारलाई मात्रै होइन, नाटक पारखीहरुलाई लागेको कुरा हो- पछिल्लो समय नेपाली रङ्गमञ्चमा मुद्दा प्रधान नाटकहरु बहुल संख्यामा मञ्चन भइरहेका छन् । यी नाटक ज्यादै घटना प्रधान छन् । केदारलाई अलि अभाव महसुस भएको चाहिँ ती र त्यस्ता घटनाहरुले पार्ने मानवीय प्रभाव हो । जुन प्रभाव नेपाली नाटकहरुमा विरलै देखिन्छ । यसको कारण त नाटक ज्यादै पोलिटिकल भएर पनि होला !

‘हामीलाई सबैखाले नाटक चाहिन्छ । पछिल्लो समय चाहिँ नाटक भनेर नाटक नै कम भएको हो कि भन्ने लागेको हो’, नाटक मञ्चनको पूर्वसन्ध्यामा केदार भन्छन्, ‘नाटकभित्र पनि अनेक विधा छन्, तर एकै विधाको नाटकमात्रै हेरिरहँदा खास नाटक चाहिँ अलि कम भएको हो कि भन्ने लागेको हो ।’

केदार नाटक लेख्छन्, खेल्छन् पनि । नाटक निर्देशन पनि गर्छन् । नाटक सिक्नेहरुलाई सिकाउँछन् पनि । फेरि केदार तीन कुरालाई केन्द्रमा राखेर नाटक गर्छन्- आँखाको लागि दृश्य ! मनको लागि इमोसन ! अनि मस्तिष्कको लागि विचार !

अहिले महिला सशक्तीकरणको मुद्दा पूर्ण राजनीतिक बनेर गएको छ । जनजाति, आदिवासीको मुद्दा पनि राजनीतिक रुपले उठिरहेको छ, तर केदारलाई लाग्छ, कुनै लिङ्ग, जात नआइकन पनि जीवनसँग जोडिएको मुद्दा हुन्छ । त्यसकारण अहिले आफूले भन्न लागेको कथा चाहिँ सम्बन्धको भएको केदार सुनाउँछन् । भन्छन्, ‘सम्बन्धमा आउने घटनाहरुको प्रभाव नाटकमार्फत भन्न लागेको हो ।’

सम्बन्धको कुरा गर्दा अहिले सञ्जालमा सबैभन्दा चर्चामा आउने नै घर झगडा हो । हेर्दा पारिवारिक र श्रीमानश्रीमतीको झगडा देखिए पनि यस्ता झगडाहरुको मनोविज्ञानभित्र सम्बन्धका अनेक लेयर हुन्छन् । यस्ता कुराहरुलाई हेर्ने समाजशास्त्रीय दृष्टिकोण आआफ्नै होलान्, तर हाम्रो नेपाली समाज झगडा प्रधान पनि रहेको केदारको विश्लेषण छ । भन्छन्, ‘बाटोमा दुई जना भनाभन हुँदा पनि दर्शक बनेर हेरिदिने टन्नै हुन्छन् । सृजनात्मक रुपले हेर्ने हो भने चाहिँ झगडा भन्नासाथ द्वन्द्व हो । द्वन्द्व आकर्षण पनि हो ।’

आआफ्नै स्वाद, आआफनै नोस्टालजिया

मुद्दा केन्द्रित नै सही, पछिल्लो समय नेपाली रङ्गमञ्चमा नाटकको बाढी नै आइरहेको छ । मण्डला, शिल्पीलगायत काठमाडौंका आधा दर्जन बढी नाटकघरहरुमा नाटकहरु मञ्चन भइरहेकै छन् । तैपनि नाटक पारखीहरु भन्छन्, ‘गुरुकुलमा जस्तो नाटक अहिले हामी हेर्न पाउँदैनौं ।’

केदारलाई भने त्यस्तो लाग्दैन । सुनिल पोखरेलले नेतृत्व गरेको गुरुकुल त्यसवेला एउटामात्रै विकल्प थियो । त्यहाँबाहेक अर्को ठाउँ थिएन । जे हेरे पनि त्यहीँ हेर्नुपर्ने भएकाले सबैका लागि गुरुकुल नोस्टालजिया भयो ।

केदार भन्छन्, ‘अहिलेको पुस्ता फ्री-फायर खेलेर हुर्कियो । हामी गोठाला गएर हुर्कियौं । हामीलाई गोठाला नै मनपर्छ । अहिले फ्री-फायर खेलेर हुर्किएका पुस्तालाई २५-३० वर्षपछि उसलाई आफ्नै बाल्यकाल रमाइलो लाग्छ नि !’

भनिन्छ, २५-३९ वर्षभित्रको स्मृति एकदमै शक्तिशाली हुन्छ । मान्छेलाई अगाडि बढाउने नै ती स्मृतिहरुले हो । त्यही कारण हामीलाई पहिले पहिलेको कुरा एकदमै रमाइलो लाग्ने केदारको बुझाइ छ, तर जीवन त्यतिमात्रै होइन ।

‘पहिले निश्चित मात्रामा चिनी र चियापत्ती लिएर चिया पिउँथ्यौं, त्यही पर्फेक्ट थियो । अहिले हामी चिनी नहाली पनि पिउँछौं । ती चिज नहाल्दा पनि एउटा स्वाद त आउला नि ! हामीले आफ्नो नोस्टालजिया सँगसँगै आएको वर्तमान समयलाई पनि स्वीकार गर्नुपर्‍यो ।’

नाटकको पूर्वकथा

यो नाटक ८-९ वर्षअघिको समयसँग जोडिन्छ ।

केदारले फिल्मका लागि लेखेको कथा अहिले नाटकमा परिणत भएको छ । केदारले चिनेको एकजना दाइ कोरियाबाट आएका थिए । उनले फिल्म बनाउने बताए । उनै दाइलाई केदारले ‘ढुकढुकी ७२ मेगाहर्ज’को कथा सुनाए । ती दाइले मन पराए । ‘पटकथा लेख’ भनेर भने ।

ती दाइले थप भने, ‘खर्च चाहियो भने म दिन्छु ।’

ती दाइ प्रोफेसनल मेकर थिएनन् । केही समयपछि हराए । कोरियाबाट कमाएर ल्याएको पैसा अनेक घरायसी खर्चहरुमा सकियो सायद । फिल्म नै नबने पनि नाटक बनाउने मनसायमा थिए केदार । यही वेला गत वर्ष मण्डला थिएटरले एक वर्षमा सात वटा नाटक गर्ने भनेर सात जना निर्देशकको नाम घोषणा गर्‍यो । ती सात जनामा केदार पनि परे ।

‘निर्देशकले कुनै काम गर्छ भने आफूलाई विश्वास हुने टेक्स्टमा गर्छ । पहिलो पटक कथा पढ्दा दृश्य आयो भने बढी विश्वासिलो हुन्छ, तर दृश्य के छ भनेर खोज्नुपर्‍यो भने समस्या आउँछ’, केदार सुनाउँछन्, ‘मसँग सात वर्षदेखि यही नाटक थियो दिमागमा । अनि यसैलाई अगाडि बढाएँ ।’

मण्डलाले नाटकको मिति घोषणा गरेको थियो । केदारलाई पनि दिमागमा पहिल्यै भएकाले एक सातामा नाटक सकाउँछु भन्ने लागेको थियो, तर जब लेख्न बसे, सकेनन् । उनको दुईतीन महिना नाटक लेखनले खाइदियो ।

‘यो नाटक एकदमै भावनात्मक छ । यही कारण अन्तिम दृश्यदेखि लेख्न सुरु गरें । त्यो पात्र मै हुँ कि भनेर लेख्न सुरु गरें । यस्तो घटना कसैको जीवनमा नघटिदिए हुन्थ्यो भन्ने लाग्छ, तर क्लाइमेक्समा रिलिफ छ’, केदार सुनाउँछन्, ‘यो नाटक लेखिरहँदा कन्सेप्ट सुनिरहेका साथीहरुले लेख्न ढिला भयो भन्थे । साँच्चिकै ढिला भयो कि भन्ने लाग्थ्यो, तर नाटक लेखिसकेपछि लाग्यो, लेख्न ढिला भएको रहेनछ ।’

यो नाटक श्रीमान-श्रीमतीको स्टोरी हो । साथै ससाना पात्रहरुले पनि घटना बोकेर आउँछन्, तर ससाना पात्रहरु मञ्चमा देखिँदैनन्, नेपथ्यबाट आउँछन्, नेपथ्यमै बिलाउँछन् । बरु गर्भमा रहेको बच्चाले पनि मुख्य भूमिका निभाएको छ । नाटकमा अभिनेता कर्मा र अभिनेत्री मेनुका प्रधानले श्रीमान-श्रीमतीको भूमिका निर्वाह गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *