सभामुख र उपसभामुखद्वारा छठ पर्वको शुभकामना – Nepal Press

सभामुख र उपसभामुखद्वारा छठ पर्वको शुभकामना

काठमाडौं । सभामुख देवराज घिमिरेले छठ पर्व, २०८१ को पावन अवसरमा समाजका सबै पक्षलाई एकत्रित गर्दै सामाजिक एकतालाई बलियो बनाउन, साझा उद्देश्य र धार्मिक भावनाको प्रवर्द्धन गर्न सकोस् भन्ने शुभकामना व्यक्त गरेका छन् ।

सभामुख घिमिरेले आज जारी गरेको शुभकामना सन्देशमा स्वदेश तथा विदेशमा रहनुभएका छठ धर्मावलम्बी सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिका लागि हार्दिक शुभकामना व्यक्त गरेका हुन् । उनले छठ पर्वले आपसी मेलमिलाप, भ्रातृत्व र सहिष्णुता विकास गर्न सबैलाई प्रेरणा प्रदान गरोस् भन्ने कामना समेत गरेका छन् ।

“छठ पर्वले धार्मिकसँगै सामाजिक एकतालाई बलियो बनाउन मद्दत गरेको महसुस गरेको छु” सन्देशमा भनिएको छ, “यो पर्व कुनै जात, वर्ग वा धर्ममा आधारित छैनस समाजका सबै मानिसले एउटै उद्देश्यका लागि सामूहिक रूपमा पूजा गर्ने र समाजमा समानता र भाइचारा बढाउन सहयोग गरिरहेका छन् ।”

यस्तै, उपसभामुख इन्दिरा रानाले प्रेस विज्ञप्ति जारी गर्दै तराईबासीका साथै स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली आमाबुवा, दिदीबहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त गरेकी छन् ।

उपसभामुख रानाले व्यक्तिगत एवं सामाजिक जीवनमा आशाको रक्तसञ्चार गर्न, राष्ट्रलाई एकताबद्ध तुल्याउँदै समृद्धिको राष्ट्रिय आकाक्षा पूरा गर्न यस पर्वले सबैलाई प्रेरणा मिल्ने विश्वाससमेत व्यक्त गरिन् । उनले हरेक समुदाय र क्षेत्रमा आफ्नो आस्थाअनुसार चाडपर्व मनाउनु र सबैको चाडपर्वलाई सम्मान गर्नु नेपालीको मौलिक सांस्कृतिक विशेषता रहेको बताउँदै भूगोल र क्षेत्रफलको हिसाबले सानो भए पनि भाषा, कला, संस्कृति, चाडपर्व, वेषभूषा र सभ्यताका दृष्टिले नेपाली विश्वमै विशाल र वैभवशाली रहेको उल्लेख गरिन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *