खानेपानी समस्याले सिमकोट काकाकूल : बृहत् खानेपानी खानेपानी आयोजना अलपत्र
सिमकोट । सिमकोट ५ तल्लो गाउँकी हाँसु परियारले २ वर्ष अघि आफ्नो घरमा सिमकोट खानेपानी उपभोक्ता समितिले वितरण गर्ने खानेपानीको धारा जडान गरिन् । सिमकोट तल्लो गाउँका नागरिकले परम्परागत रूपमा खाँदै आएको पुन्याराको मुहानको पानी सुक्दै जान थालेपछि उनले उपभोक्ता समितिमा ६ हजार रुपैयाँ धरौटी राखेर धारा जडान गरेकी हुन् । आर्थिक अवस्था निकै कमजोर भएकी परियारले धारा जडान गर्न आउने प्राविधिकलाई थप एक हजार रुपैयाँ पनि तिरिन् ।
नयाँ धारो जोडेको २ महिनासम्म हाँसुको धारोमा राम्रै पानी आयो । त्यसपछि धारोमा पानी कम हुँदै २ महिनापछि ठप्पै भयो । निकै पटक हाँसुले धारोमा पानी छोड्न आग्रह गर्दै सिमकोट खानेपानी उपभोक्ताको कार्यालय धाइन् । अन्तमा कुनै सिप नलागेपछि छिमेकको घरमा आउने धारोको पानीले घरमा चलाइरहेकी छन् ।
सिमकोट माथिल्लो बजारको सूचना टोलमा भएको जसबहादुर महताराको घरमा २०६५ सालमा खानेपानी उपभोक्ता समिति मार्फत खानेपानीको धारामा जडान गरियो । २०६८ सालसम्म राम्रै पानी आयो । २ वर्षपछि पानी नआएपछि महताराले समितिमा अनेकन् हारगुहार गरे । समितिमार्फत केहि प्राविधिकहरू पनि आए । धारो हेरेर गए । उनीहरू आएको एक सातासम्म राम्रो पानी आउने तर त्यसपछि फेरि बन्द हुने समस्याले महताराको परिवार आजित भयो । एक वर्षसम्म कहिले आफ्नै धाराको पानी त कहिले छिमेकीको धाराको पानीले काम चलाएका महताराको घरमा २०६९ साल असार १ गते रेडियो कर्णाली आवाज भाडामा सरेपछि उक्त धारो पूर्ण रूपमा बन्द भयो । रेडियोले संस्थागत रूपमा नयाँ धारोको नाममा ६ हजार धरौटी जम्मा गरेपछि नयाँ पाइपलाइन जोडियो । केहि समय राम्रै पानी आए पनि धाराको नियति अन्य धाराको भन्दा पृथक् भएन ।
हिमाली जिल्ला हुम्लाको सदरमुकाम सिमकोट तल्लो गाउँकी हाँसु र माथिल्लो बजारका जसबहादुरको पानी नआउने धारा सिमकोट खानेपानी उपभोक्ता समितिले जडान गरेका ४ सय ४५ वटा खानेपानीका धाराका नमुना मात्र हुन् । बढ्दो जलवायु परिवर्तनको असरका कारण विकल्पका रूपमा अघि सारिएका सिमकोट खानेपानीका मुहानको पानी सुक्दै गएपछि समितिले वितरण गरेका धाराहरूमा पर्याप्त पानी गएको छैन ।
घरमा धारो जडान गरेको भए पनि पानी नआउने समस्या सिमकोटका प्रायः घरले भोगिरहेका छन् । धारो जडान गरेका ६ महिना वर्ष दिन राम्रै पानी आउने त्यसपछि बिस्तारै कम हुँदै ठप्प हुने समस्या सिमकोट खानेपानीको पुरानै रोग भएको तल्लो गाउँकी बाँचु परियारको भनाई छ । ‘घरमा धारा जोडेको दुई वर्ष राम्रै पानी आयो । २ महिना पुग्ने वित्तिकै कम हुँदै गएको पानीको धारामा एक वर्षपछि ठप्पै भयो । पानी फिटिक्कै आउँदैन्’, उनले भनिन्, ‘ पानी नआएपछि हामीले छिमेकीको घरको धाराबाट ल्याएर काम चलाउने गरेका छौँ ।’
खाना पकाउन र पिउने छिमेकीको धाराबाट ल्याएर काम चलाउने गरेकी बाँचुले कपडा धुन कहिले हुमाने खोला त कहिले तिनधा जाने गरेको प्रतिक्रिया दिइन् ।
‘धारा जोड्दा ६ हजार धरौटी राख्यौँ । धारो जोड्नेकन (जोड्न आउनेलाई) एक हजार रकम तिरेका थियौँ । पानीको धारा जोडेदेखि महिनाको ५० रुपैयाँ शुल्क हुन्छ भन्छन् । त्यही अनुसार हामीले पानी नआउने धाराको नियमित रकम तिरिरहेकै छौँ । तर पानीको थोपा पनि धारोमा चुहेको देख्न सकिरहेका छैनौँ’ बाँचुले थपिन् ।
बिहान ६ देखि १० बजेसम्म र बेलुका ३ देखि ६ः३० सम्म पानी छोड्ने तालिका सिमकाट खानेपानी उपभोक्ता समितिको छ । समितिले निर्माण गरेका पानी ट्याङ्कीमा जम्मा भएसम्मको पानी ग्राहकलाई पठाउने गरे पनि पानी नआएको गुनासो कहिल्यै नरोकिएको उल्लेख गरेका समितिका सदस्य तथा अपरेटर लोकमणि रावतले भने, ‘२०४५ सालदेखि भर्खर वितरण गरेका पानीका लाइनहरू छन् । कुनैमा प्वाइन्ट नै नभेटिने समस्या पनि छ । त्यसले कुनै धारामा पानी नजाने समस्या छ । ठूलो समस्या त खानेपानीको मुहान सुक्दै गएर नै हो ।’
‘मुहानमा पानीको स्रोत घट्दै गएको छ । पानी कम हुँदा ट्याङ्कीमा पनि कम पानी जम्मा हुने हो । पानी हाम्रो ट्याङ्कीमा जति जम्मा हुन्छ त्यति नै हामीले ग्राहलाई वितरण गरेका धारमा छोडेकै छौँ । अरू त हामीले कहाँबाट ल्याएर वितरण गर्नु ? हामीलाई पनि त समस्या छ’ रावतले थपे ।
दुई मुहानको विकल्प: तर समस्या उस्तै
परम्परागत रूपमा सिमकोटका दुई गाउँले नजिकैको मुहानबाट पानी खाने गर्थे । माथिल्लो सिमकोटको लादेबाडाले मुग्राधाराको पानी र तल्लो सिमकोटको खाद्यकले पुन्यारा र सिमको पानी खाने गरेका थिए । २०३४ साल सिमकोटमा विमानस्थल बनेपछि अन्यत्रका बासिन्दाहरूको बसोबासको रोजाई सिमकोट हुन पुग्यो । पानीका प्रयोगकर्ताको संख्या बढेपछि क्रमशः सिमकोटको खानेपानी अभावको समस्या शुरु भएको खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय हुम्लाका प्रमुख ज्वालाराज शाही बताउँछन् ।
उनका अनुसार २०३४ सालपछि पञ्चायतकालीन अवस्थामा सिमकोट खानेपानी आयोजनाका रूपमा भएका मुहानको व्यवस्थापन गर्ने काम भयो । पछि २०५४ साल पश्चात् सिमकोट खानेपानीको सबै जिम्मा सिमकोट खानेपानी उपभोक्ता समितिलाई हस्तान्तरण गरिएको हो ।
‘मुग्राधारा, पुन्यारा र सिमको मुहानले नथेगेपछि नजिकै हुमाने खोलाको मुहानबाट पाइपलाइनमा सिमकोट ल्याएर वितरण गर्ने काम भयो’, सिमकोट खानेपानीमा राम्रो जानकार शाहीले भने, बढ्दो उपभोक्ताको संख्या र घट्दो पानीको मुहानका कारण २०६० को दशकमै उक्त मुहान पनि अपर्याप्त हुन थाल्यो ।’
घरघरमा जडान भएका धारामा पानी वितरण गर्ने प्रणाली र आयोजनाको व्यवस्थापन प्रभावकारी नभएको स्वीकार गर्नु भएका शाहीका अनुसार दोस्रो विकल्पका रूपमा लामो अध्ययन र सर्वेक्षणले बुराउँसे माथिको स्याल्तर खोलाको मुहानबाट पानी ल्याउने योजना अघि सारियो । सुरुका केहि वर्ष सबै धारोमा राम्रो पानी गएको उल्लेख गरेका शाहीले २०७० पछि उक्त मुहानले पनि पानी पुग्न छोड्यो ।
‘देशकै शीर्ष सदरमुकाम भएकाले चिसो पनि त्यस्तै बढी नै छ । चिसोका कारण दिनको थोरै मात्र समय पानी नछोड्ने हो भने पाइपमै बरफ जमेर लाइनमा पानी नजाने समस्याका कारण निरन्तर पानी छोड्नु पर्ने बाध्यता सिमकोटमा छ’, कार्यालयका प्रमुख शाहीले थपे, ‘हामीले पानी वितरण गर्ने मिटर प्रणाली लागु गर्न दुई पटक प्रयास पनि गर्यौं । जाडोका कारण त्यो प्रयास सफल हुन सकेन । त्यसपछि निरन्तर पानी छोड्दा सबैतिर अपुग भएको देखिन्छ ।’
सिमकोट खानेपानीको व्यवस्थापन, वितरण र मर्मतको जिम्मा लिएको सिमकोट खानेपानी उपभोक्ता समितिले भने पानी नपुग्ने दोष ग्राहकमाथि नै थोपर्दै आएको छ । समितिले सुरुदेखि अहिलेसम्म वितरण गरेका धाराका ग्राहकले पानीको आफ्नो धारा खुल्ला छोड्ने, पानीको प्रयोगमा मितव्ययिता नअपनाएका कारण अहिलेको समस्या निम्तिएको समितिका अध्यक्ष कर्ण भण्डारीको दाबी छ ।
आफ्नो कार्यकालमा पानी ट्यांकी मर्मत देखि निर्माणका थुप्रै काम गरेको प्रतिक्रिया दिएका भण्डारीले ग्राहकहरूले ख्याल गर्ने हो भने सिमकोटमा पानीको अभाव आधा भन्दा बढी हल हुने ठोकुवा गरे ।
‘मुग्राधाराको विकल्प हुमाने खोला रोज्यौँ । त्यसले पनि माग अनुसार पानी पुगेन । हुमानेको विकल्पका रूपमा हामीले स्याल्तर खोलाको मुहानलाई रोज्यौँ’, समितिका अध्यक्ष भण्डारीले भने, ‘त्यो मुहानको पानी पनि सुक्दै गयो, सिमकोटको वस्तीपनि बढ्दै गएपछि फेरि अभाव बढ्यो ।’
अन्तिम विकल्पको मुहना हेप्काः तर विवादले काम ठप्प
जिल्लामा बढ्दै गएको सुख्खापन, गाउँगाउँमा डोजरले बाटो काट्न थालेपछि अन्यत्रको जस्तो स्याल्तर खोलाको मुहनाको पानी पनि सुक्दै गयो । उता मुहानको पानी सुकेर कम भयो तर सिमकोटमा धारा जडान गर्ने उपभोक्ताको संख्या बढ्दै गयो । समितिले खानेपानीको मुहानको जुगाड गरेन तर माग बमोजिम धारा थप्दै गएपछि सिमकोट खानेपानीको समस्या थप चुलियो । समितिले जडान गरेका धारामध्ये आधा भन्दा धेरैमा पानी नआएपछि उपभोक्ताको गुनासो तत्कालीन खानेपानीको कार्यालयमै आउने गर्यो ।
तत्कालीन खानेपानी कार्यालय प्रमुख समेत रहेका ज्वालाराज शाहीले भने, ‘त्यसपछि जिल्लाका राजनीतिक दल, खानेपानीसँग सरोकार राख्ने निकाय र स्थानीय तहहरूसँगको परामर्शमा २०६८ सालतिर हामीले अन्तिम विकल्पको रूपमा हेप्का खोलाको पानी सिमकोट ल्याउन वृहत् सिमकोट खानेपानी आयोजनाको अवधारणा अघि सार्यौँ ।’
हेप्का खोलाको पानीको मुहान धेरै पटक हेर्ने, सर्भे गर्ने काम सकेर जिल्लाबाट वृहत् सिमकोट खानेपानी आयोजनाका रूपमा अघि सारेको उल्लेख गर्नुभएका शाहीले त्यसपछि खानेपानी तथा ढल निकास विभागले थप काम अघि बढायो ।
तत्कालीन हेप्का गा.वि.स र हालको नाम्खा गाउँपालिका १ अन्तरगतको हेप्का गाउँको पारिपट्टिको जंगलमा रहेको उक्त मुहान गाईबस्तु र सिंचाईकालागि प्रयोग हुँदै आएको छ । खेतबारी र गाईवस्तुका लागि सामान्य रूपमा प्रयोग हुने भएपछि सिमकोटकालागि तेस्रो विकल्पका रूपमा अघि बढाइयो । तत्कालीन समयमा हेप्का गा.वि.स.को जिम्मा लिएका सचिव र केहि अगुवाहरूसँगको परामर्शमा आयोजनाको काम अघि बढाइयो । उक्त खानोपानीको लाइन तत्कालीन डाँडाफया गाविस सिमकोट ७ डाँडाफयाको ओख्रेन सामुदायिक वनको बाटो भएर ल्याउने सर्भे गर्ने काम भयो ।
विवादले १२ महिना विलम्ब
२०६८ सालमा अघि बढाइएको हेप्का मुहानको पानी सिमकोट ल्याउने आयोजना कार्यान्वयनमा ल्याउन झण्डै एक दशक लाग्यो । देशको नयाँ संरचना अनुसार तत्कालीन खानेपानी कार्यालय प्रदेश सरकार मातहतको खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालयमा रूपान्तरित भयो । त्यसको फलोअप गर्ने कामले पनि निरन्तरता नपाएपछि अपेक्षित रुपमा आयोजना कार्यान्वयनमा आउन ढिला भयो । २०७८/७९ देखि कार्यान्वयनमा आएको आयोजना अझै सम्पन्न भएको छैन ।
संघीय सरकारको १३ करोड लागतमा कार्यान्वयन अघि बढाइएको आयोजना निर्माणको जिम्मा काठमाडौंको ठेक्का कम्पनी एएम धुलीखेल प्याराडाइजले पायो । २०७८ कार्तिक २५ गते सम्झौता भएको आयोजना २४ महिना अर्थात २ वर्षमा सम्पन्न गर्नुपर्ने समय सीमा तोकियो । तर आयोजनाको मुहानमा नाम्खा १ को ताङ्गिन, हेप्काका स्थानीय वासिन्दाले र पाइप लाइन लिने बारे सिमकोट ७ को डाँडाफयाका वासिन्दाको बिरोधले निर्धारित मितिमा काम सकिएन । आयोजना सम्पन्न हुने मिति १२ महिना सकियो अझै आयोजना सकिने कुनै संकेत देखिँदैन् ।
२०८० साल कार्तिक २४ गतेसम्म आयोजनाको काम आधा पनि नसकिएपछि विभिन्न कारण खुलाई एक वर्षको निर्माण अवधि थपेर काम सम्पन्न गर्ने जिम्मा एएम धुलिखेल प्याराडाइजलाई नैं दिइयो । यस अवधिमा विवाद समाधानकालागि धेरै पटक जिल्ला प्रशासन कार्यालय, सिमकोट गाउँपालिका, सिमकोट खानेपानी उपभोक्ता समिति र जिल्लाका राजनीति दलहरूलाई निर्माण कम्पनी अनेकन् अनुरोध गर्यो तर कतैबाट सहयोग नपाएको कम्पनीका प्रतिनिधि अमर लामाले बताए ।
‘निर्धारित मितिमा काम सम्पन्न गर्न मैले सबैलाई बोलाएँ तर कसैले पनि सहयोग गरेनन् । आफ्नो सामूहिक खेतीको सिँचाइ गर्न र पशु वस्तुलाई पानी खुवाउने मुहान भएकाले लिन दिन हुँदैन भन्ने विरोध नाम्खाको ताङ्गिन र हेप्काबाट भयो’, लामाले दुःखेसो गर्दै भने, ‘सामुदायिक वन क्षेत्रका रुख कटान हुने, जग्गामा मासिने भयो भनेर डाँडाफयाका नागरिकले निकै चर्को विरोध गरे । सहमति ल्याउन मैले सबैको खुट्टा समेत मोले तर समयमा काम सकाउन सकिन ।’
आफूले गरेको कामको प्रगति र समाधानको पहललाई आधार मानेर कार्यालयले आयोजना सम्पन्न गर्ने २४ महिने समयमा एक वर्ष समय थपेको प्रतिक्रिया दिनुभएका लामाले हुम्लाको स्थानीय परम्परा अनुसार आफू ताङ्गिन, हेप्का र डाँडाफयावासीलाई खसी समेत राख्न तयार भएको बताए ।
‘म पनि हुम्लाकै नागरिक हुँ । सिमकोटमा ताङ्गिन, हेप्का, डाँडाफयाकाले पनि घर बनाएर बसेका छन् । सबैलाई खानेपानी आवश्यक पर्छ । आयोजना व्यक्तिगत होइन सरकारी हो । यो सबैका लागि काम लाग्छ, सबैलाई सुविधा हुने कुरा गरेपछि अन्तमा सबै सहमतिमा आउनु भयो तर विडम्बना बारीमा बाली लगाएकाले लाइन खन्ने काम अघि बढाउन सकिएन । फलस्वरुपः आयोजनाको थप एक वर्षको अवधिमा पनि काम सम्पन्न भएन’ निर्माण कम्पनीका प्रतिनिधि लामाले भने ।
आयोजनाको डिपिआर बनाउने देखि विस्तृत सर्भे गर्ने क्रममा कुरा नउठाएका हेप्का, ताङ्गिन र डाँडाफयाका नागरिकले आयोजनाको कार्यान्वयनमा विरोध गरेकाले पनि काम सम्पन्न गर्न समस्या भएको तर्क निर्माण पक्षको छ । तर आयोजनाको मुहान क्षेत्रका नागरिकले पानीको केहि स्रोत संरक्षित गरेर छोडेपछि सहमति जनाउने संकेत गरेका छन् ।
निर्माण व्यवसायीका तर्फबाट अमर लामा जी हाम्रो बौद्ध धर्मको परम्परा अनुसार अनुरोध गर्न आएपछि हामी सबै मिलेर सिमकोट खानेपानीको मुहानको विवाद नगर्ने सहमति लगभग गरेको एक स्थानीयले प्रतिक्रिया दिए । नाम्खा गाउँपालिका वडा नम्बर १ का जनप्रतिनिधिसमेत रहेका उहाँले आफ्नो नाम उल्लेख नगर्न आग्रह गर्दै भने, ‘हाम्रो गाउँमा सुरुमा केहि समस्या थियो । हेप्का र ताङ्गिनका पनि दुई थरी कुरा थिए । अब सबै कुरामा सहमति जनाएर आयोजनाको काम अघि बढाउन दिने निष्कर्षमा हामी पुगेका छौँ । तर ठेकदार कम्पनीसँग हाम्रो केहि शर्त छ ।’
मुहानको विवाद लगभग सुल्झिएपनि पाइप लाइन खन्ने ठूलो भू–भाग रहेको सिमकोट ७ डाँडाफयाको ओख्रेन सामुदायिक वन भने अझै आफ्नो मागबाट पछि हटेको छैन । तल गाउँ माथि सामुदायिक वन भएको ओख्रेनमा आयोजनाको पाइपलाइन लिन डोजर लगाएर लाइन खन्ने स्टमेट छ । त्यसले ढुंगा र माटो खस्दा एकतर्फ तलको गाउँलाई निकै ठूलो जोखिम हुन्छ भने अर्कोतर्फ लेखमा भएको आफ्नो उत्पादनशील जग्गा पनि मासिने सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष मन्दिर सिंहले जानकारी दिए ।
‘सामुदायिक वन क्षेत्रमा कम्तीमा ५ सय रुख कट्नुपर्ने छ । ठूलो जग्गा जाने छ । तर पनि हामीले सिमकोटमा खानेपानी लिनदिनु हुँदैन भनेका छैनौँ’, समितिका अध्यक्ष सिंहले थपे, ‘हामीले केवल आयोजनाको काम गर्दा कटान भएका रुखहरूको सट्टामा नयाँ रुख रोप्ने, पाइपलाई खन्दा तलको गाउँलाई हुन सम्भावित जोखिमका लागि ग्याविन पर्खाल लगाउने र जग्गा गएका स्थानमा क्षतिपूर्ति दिएमा हाम्रो अरू कुनै अवरोध हुँदैन् ।’
ओख्रेन सामुदायिक वन उपभोक्ता समितिको माग पुरा गर्न खानेपानी तथा ढल निकाय सव डिभिजन कार्यालय जुम्ला र निर्माण कम्पनी तयार छैन । आयोजनाको सर्भे र डिपिआर तयार गर्दा केहि नबोलेका स्थानीयलाई अहिले आयोजनाको कामगर्न निश्चित बजेटमा केहि गर्न नसकिने तर्क कार्यालयका सवइन्जिनियर डम्बर बहादुर शाहीको छ ।
सिमकोट गाउँपालिकाको अघिल्लो कार्यकालका अध्यक्ष पदमबहादुर लामा र उपाध्यक्ष बली रावतसहितको टोली डिपिआरमा समेत संलग्न हुँदा कहीँकतैबाट क्षतिपूर्तिको कुरा नआएको उल्लेख गरेको निर्माण कम्पनीका प्रतिनिधि अमर लामा आफूलाई अहिले अनावश्यक दुःख दिएको जिकिर गर्छन् ।
प्राकृतिक स्रोतमा कसैको पनि एकाधिकार नहुने उल्लेख गर्दै पानीको मुहान, सामुदायिक वन र सिमकोट खानेपानी आयोजना सबै सरकारकै स्वामित्वका सम्पत्ति भएकाले यो विषय सरकार र सरकारका अधिकारीहरूले निरूपण गर्नुपर्ने तर्क लामाको छ ।
दोस्रो पटक म्याद थप्ने तयारी: काम सम्पन्न हुनेमा अझै संका
शुरुको २४ महिनामा आधा मात्र काम नसकिएपछि थप १२ महिनामा आयोजनाको धेरै काम सकिएको जिकिर निर्माण पक्षले गरेको छ । पहिलो पटक थपेको १२ महिना आगामी २०८१ कार्त्तिक २५ गतेसम्म सकिँदैछ । उक्त समयमा पनि काम सकिएन । विभिन्न समूहहरूसँगको छलफल पश्चात् आयोजनाका निर्माण सामाग्रीको खरिद ढुवानी र टयांकी, च्याम्बर निर्माणका काम थप समयमा सम्पन्न भएको दाबी निर्माण कम्पनीको छ । कुनै समूह र समुदायले विवाद नगर्ने हो भने अबको एक महिनामा सबै काम सक्ने तयारी ठेकदार कम्पनीले गरेको छ ।
‘अब धेरै काम छैन । डाँडाफयाको ओख्रेनमा पाइपलाइन खन्ने, सिमकोट रानीवनमा पाइप लाइन दिने काम बाहेक प्रायः काम सकिएको छ’, कम्पनीका प्रतिनिधि लामाले भने, ‘जिल्लाका कामदारबाट काम ढिला हुने भएपछि हामीले बाजुरा, कालिकोट लगायतका जिल्लाबाट कामदार ल्याएर काम गर्ने तयारी गरेका छौँ । राम्रोसँग काम गर्न दिए ढिलोमा एक महिना भित्रमा सबै काम सकिन्छ ।’
दोस्रो पटक थप गरेको समयमा आयोजनाको काम पुरा हुने छाँट नदेखिएपछि ठेकदार कम्पनीले दोस्रो पटक म्याद थपको प्रक्रिया बढाइसकेको छ । निर्माण कम्पनीले थोरै काम बाँकी रहेको प्रतिक्रिया दिए पनि पाइपलाइन खन्ने देखि अन्य थुप्रै काम बाँकी छ । कसैले विरोध नगरेको खण्डमा आफूले यही कार्तिकसम्ममा सबै काम सम्पन्न गर्ने प्रतिक्रिया निर्माण कम्पनीले दिँदै आएको छ । यद्यपि काम नसकिने निष्कर्षसहित दोस्रो पटक तीन महिनाको म्याद थपको प्रक्रिया लगभग अन्तिम चरणमा छ ।
आयोजनाले दोस्रो पटक म्याथ थपे कानून अनुसार तीन महिना अर्थात माघ २५ गतेसम्मको समय पाउने निश्चित जस्तै भएको खानेपानी तथा ढल व्यवस्थापन विभागले जनाएको छ । यद्यपि विभागका कर्मचारी मार्फत आयोजनाको सबै जानकारी राखेको विभाग थपिएको तीन महिनामा आयोजना सम्पन्न हुनेमा आफै ढुक्क छैनन् ।
‘मुहानदेखि चुहानसम्म निकै धेरै विवाद छ । विवाद समाधानका लागि स्थानीय प्रशासन, स्थानीय सरकार देखि सरोकारवालाले खासै चासो देखाएको देखिँदैन्’, विभागका प्रवक्ता समेत रहनु भएका उपमहानिर्देशक रामचन्द्र काफ्लेले भने, दोस्रो पटक थप भएको समयमा आयोजनाको काम सकियोस् भन्ने कामना हाम्रो हो । हामी त्यही अनुसार प्रक्रिया अघि बढाइरहेका छौँ ।’
आयोजनाले डाँडाफयाका बासिन्दासँगको विवाद राम्रोसँग समाधान नभएकाले पाइन खन्न दिनेमा आफूहरूको सहमति नभएको ओख्रेन सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष सिंहले बताउनुभयो । उहाँको भनाइले पनि आयोजनाको दोस्रो पटक थपिने ३ महिना समयले काम सकिने संकेत देखिँदैन् ।
आफूले हात झिक्ने निर्माण कम्पनीको चेतावनी
आयोजनाको दोस्रो पटक थपिने म्यादमा पनि काम नसके आफूले सिमकोट खानेपानी आयोजनाबाट हात झिक्ने निर्माण कम्पनीका प्रतिनिधि अमर लामाले चेतावनी दिएका छन् । खानेपानीका लागि आफू हदैसम्मको पहल र मेहनत गरेको जिकिर गर्नुभएका लामाले ८० प्रतिशत भन्दा बढी काम सकेकोले अब पनि सबै विवाद समाधान भएन काम नसकिए सरकारलाई बुझाउने प्रतिक्रिया दिए ।
’खानेपानी तथा ढल व्यवस्थापन विभाग देखि जुम्लाको कार्यालयलाई पनि हाम्रो कामका बारेमा जानकारी छ । अरू कुनै निकायले पनि समाधानको पहल नगर्ने तर निर्माण कम्पनीलाई मात्रै सबैले दोष दिने प्रवृत्ति दोहोरिने हो भने अब हामीले पनि सकिँदैन भनेर हात ठाडो पार्नु बाहेकको अन्य विकल्प बाँकी रहेन‘ लामाले थपे ।
बढ्दो जनसंख्याको चापले सिमकोटको बस्ती बाक्लिँदै जानु, विद्यमान पानीका मुहान सुक्दै जाने तर अन्तिम विकल्पका रूपमा अघि सारिएको सिमकोट वृहत् खानेपानी आयोजना सम्पन्न नहुने हो भने सिमकोटको खानेपानी समस्या निकट भविष्यमै थप जटिल बन्ने तर्क जानकारहरूको छ ।
प्राकृतिक स्रोतमाथिको अग्राधिकार भए पनि एकाधिकार कुनै पनि समुदाय, व्यक्तिले गर्न नहुने उल्लेख गर्नु भएका राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका सदस्य जुद्धबहादुर गुरुङ खानेपानी बाटो, वनजंगलको स्वामित्व सरकारको हुने भएकाले त्यस्ता विवादको समाधानमा सरकार (स्थानीय र संघीय)ले अग्रसरता देखाउनु पर्ने सुझाव दिन्छन् ।
यो रिर्पोट युरोपियन युनियन र सिडा र इन्टर न्यूज अर्थ जर्नालिजम नेटवकसँगको सहकार्यमा तयार पारिएको हो ।