एमालेले पुथा उत्तरगंगा उपाध्यक्षमा केशकुमारी तुलाचनलाई बनायो उम्मेदवार, कांग्रेससँग सहकार्यको बाटो खुल्ला – Nepal Press

एमालेले पुथा उत्तरगंगा उपाध्यक्षमा केशकुमारी तुलाचनलाई बनायो उम्मेदवार, कांग्रेससँग सहकार्यको बाटो खुल्ला

रुपन्देही । नेकपा एमालेले लुम्बिनी प्रदेशको रुकुमपूर्वमा रहेको पुथा उत्तरगंगा गाउँपालिकाको उपाध्यक्षमा केशकुमारी तुलाचनलाई उम्मेदार बनाउने भएको छ ।

उनी एमाले जिल्ला कमिटीको उपसचिव हुन् । मंसिर १६ गते हुने उपनिर्वाचनमा एमालेले तुलाचनलाई उम्मेदवार बनाउने भएको हो । त्यस्तै वडा नम्बर २ को वडाध्यक्षमा जीवन रोका मगरलाई उम्मेदवार बनाउने एमालेले निर्णय गरेको छ ।

सम्बन्धित पालिका कमिटीमार्फत उपाध्यक्षमा ३ र वडाध्यक्षमा २ जनालाई जिल्ला पार्टीले सिफारिस गरेर प्रदेश कमिटीमा पठाएको र त्यसैमध्येबाट २ जनालाई उम्मेरवार बनाउने तय भएको एमाले रुकुम पूर्वका अध्यक्ष लिलामणि गौतमले जानकारी दिए ।

‘वडा, पालिकाबाट समन्वय गरेर जिल्ला कमिटीले प्रदेशमा पठाएर उम्मेदवार सिफारिसको आवश्यक सबै प्रक्रिया पूरा गरी बिहीबारको प्रदेश कमिटीको बैठकबाट उम्मेदवारको नाम तय गरिएको हो,अब यही अनुसार चुनावी तयारी हुनेछ’ उनले भने ।

यसअघि माओवादी केन्द्रबाट निर्वाचित भएकी पालिका उपाध्यक्ष भुपेन्द्र बुढा र वडाध्यक्ष जसबहादुर सिर्पालीको गत भदौ २८ गते बागलुङमा जिप दुर्घटनामा परी निधन भएपछि उक्त पद रिक्त भएको थियो ।

एमालेले रुकुमपूर्वमा नेपाली कांग्रेससँग साझेदारी गरेर चुनावमा जाने तयारी गरेपनि कुनै टुंगो लागेको छैन । यसअघि माओवादीले जितेकाले यहाँ एमाले र कांग्रेसले साझेदारी गरेर जाने योजना बनाएका हुन् । यो विषयले प्रवेश पाएको एमाले जिल्ला अध्यक्ष गौतम बताउँछन् ।

कांग्रेस प्रदेश सभापति अमरसिंह पुनले पनि रुकुमपूर्वमा एमालेसँग सहकार्य गरेर चुनावमा जाने विषयमा छलफल भएको बताए । एमाले कंग्रेसले उपाध्यक्षमा एमालेका उम्मेदारलाई सघाउने र वडाध्यक्षमा कांग्रेस उम्मेदारलाइृ सघाउनेगरी छलफल गरेपनि दुवै पक्षबाट साझा र जित्नसक्ने उम्मेदार बनाएपछि मात्रै निचोडमा पुग्नेगरी उठेका हुन् ।

एमाले प्रदेश अध्यक्ष राधाकृष्ण कंडेलले सर्वसम्मत रुपमा उपाध्यक्ष तुलाचन र वडाध्यक्षमा रोकामगरलाई उम्मेदार बनाएको तर कांग्रेससँग सहकार्यका लागि बाटो खुल्ला राखिएको बताए । ‘हामीले उपाध्यक्ष लिएर वडाध्यक्ष दिएर जाने मोटामोटी कुरा भएको छ, कांग्रेस प्रदेश सभापतिले जिल्लाका साथीहरुसँग सल्लाह गरेर जाने कुरा गर्नुभएको छ, सकेसम्म सहकार्य गरेरै जान्छौं’ उनले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *