मामुली विचौलियालाई मन्त्रीले बुझाएका थिए पासपोर्ट, को हुन् जापान लैजाने योजनाकार ?
मन्त्रीको पासपोर्ट लिएका योगराज गौतम भन्छन्ः उहाँलाई सिफारिस गरिदिएको हुँ, अरु थाहा छैन
विराटनगर । योगराज गौतम उर्फ गोपाल गौतमको घर रतुवामाई वडा नम्बर ९ इटहरा हो । उनी एमालेका स्थानीय कार्यकर्ता हुन् । अहिले सपरिवार काठमाडौंमा बस्दै आएका छन् । काठमाडौँ गएपछि उनले सामान्य ठेक्कापट्टाको काम थाले । अहिले उनी सिंहदरबारको सरसफाइका लागि आवश्यक पर्ने सफाइ मजदुर सप्लाई गर्छन् ।
गौतम सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा भेटिन्छन् । उनीसँग कोशी प्रदेश सरकारका निवर्तमान आन्तरिक मामिला तथा कानूनमन्त्री लिलाबल्लभको केही महिनाअघि काठमाडौंमा भेट भयो । उनीहरुको पहिल्यैदेखि चिनजान थियो । सोही भेटमा आफूलाई गौतमले एउटा कार्यक्रममा जापान जाने प्रस्ताव गरेको बताउँछन् पूर्वमन्त्री अधिकारी ।
उनले नेपाल प्रेससँग भने, ‘चिनेजानेकै मान्छेले भनेपछि मैले सबै कुरा ठीक छ भने जान तयार रहेको बताएँ । घुमघामको लोभभन्दा पनि कार्यक्रम राम्रो लागेर सहमति जनाएको हुँ ।’
‘कल्चर एट होम’ नामको कार्यक्रम जापानको टोकियो महानगरले नै आयोजना गरेको थियो । सो कार्यक्रममा विश्वभरका विभिन्न देशका सरकारी प्रतिनिधिहरु सहभागी हुने जानकारी दिइएको थियो । आफूले विश्वासमा परेर गौतमलाई नै पासपोर्ट बुझाएको तथा भिसा र टिकटको काम उनैले गरिदिएको अधिकारीको स्वीकारोक्ति छ । नेपाल प्रेससँग बुधवार सम्पर्कमा आएका गौतमले भने महेश पाण्डेले कार्यक्रममा जाने प्रबन्ध मिलाएको दाबी गरे ।
उनले भने, ‘महेश पाण्डे जापान आउने जाने गरिरहन्थ्यो । त्यो भाइले कोही मान्छे लानु छ भने भन्नु भनेकाले मैले मन्त्री अधिकारीको नाम सिफारिस गरेको हो । उनको पासपोर्ट लिएर पाण्डेलाई दिएको हँु, अरू कुरा मलाई थाहा भएन ।’
गौतमले पाण्डेसँग सिंहदरबारमा ८ महिनाअघि मात्रै भेट भएको बताए । सिंहदरबारमा आउने जाने क्रममा चिनजान उनको भनाइ छ ।
पाण्डेको घर धादिङको त्रिपुरा सुन्दरी नगरपालिका हो । उनी काठमाडौंमा बसेर विभिन्न कार्यक्रमहरूको आयोजना गर्दै आएको गौतमको दाबी छ ।
निवर्तमान मन्त्री अधिकारीले आफू जापान उड्ने दिन पाण्डेसँग पनि एयरपोर्टमा भेट भएको बताए ।
‘गौतमसँग पाण्डे पनि आएका थिए । नेपाल तर्फको अर्गनाइजर हुँ भनेर परिचय दिएको थियो’, अधिकारीले भने, ‘मैले अरू सोधीखोजी गरिनँ ।’
अधिकारी कात्तिक १३ गते अर्थात् अक्टोवर २७ तारिख राति नौ बजे जापानका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेका थिए । उनलाई नोभेम्बर ७ तारिख नेपाल आउने रिटर्न टिकट दिइएको थियो ।
नौ घण्टा ट्रान्जिट रहेको हङकङमा विमानबाट उत्रिएपछि आफूसँगै जापान जान लागेका अन्य तीन जनालाई देखेर छक्क परेको अधिकारी बताउँछन् ।
हिजो बोलाएको पत्रकार सम्मेलनमा अधिकारीले भनेका थिए, ‘यहाँ गडबड भएछ भन्ने कुरा हङकङ पुगेपछि थाहा पाएँ । थाहा पाउनेबित्तिकै मैले सबैलाई जानकारी गराएँ ।’
प्रदेश प्रहरी प्रमुख डिआइजी चन्द्रकुवेर खापुङ, नेपाल प्रहरी विशेष ब्यूरोका डिआईजी राजन अधिकारी, कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीलाई समेत सम्पर्क गरेर जानकारी गराएको उनले बताए । आफ्नो साथमा अरूलाई पनि जापान पठाउन खोजिएको थाहा पाएपछि नेपाल फर्किने तयारी गरेको र जापान विमानस्थलबाट स्वेच्छाले नेपाल फर्किएको अधिकारीको दाबी छ । उनी अक्टुबर २ तारिख अर्थात् कात्तिक १७ गते नेपाल फर्किएका हुन् ।
प्रहरीले भने जापान पुगेका मन्त्रीसहित चार जनालाई त्यहाँको सरकारले डिपोर्ट गराएको बताएको छ ।
यी हुन् योजनाकार
भिआइपीसँगै नक्कली कागजात बनाएर अरूलाई पनि जापान पठाउने गिरोहमा महेश पाण्डेको भूमिका प्रमुख रहेको देखिएको छ । पाण्डेसहित ६ जना पक्राउ परेका छन् । जापान जान खोज्ने तीन र अन्य तीन जनालाई पक्राउ गरेर हिरासतमा राखिएको हो । थप एक जनालाई भने तारेखमा राखेर अनुसन्धान भइरहेको प्रहरी श्रोतले बतायो ।
मन्त्रीलाई जापान जाने प्रस्ताव गरेका र पासपोर्ट लिएका गौतमलाई भने प्रहरीले पक्राउ गरेको छैन । उनी साँझ नेपाल प्रेसको सम्पर्कमा आएपनि बिहानबाट भने मोबाइल अफ गरेका छन् ।
प्रहरीका अनुसार रसुवा कालिका गाउँपालिका–५ घर भई मनमैंजु बस्दै आएका कञ्चन देवकोटा, खोटाङको ऐंसेलुखर्क गाउँपालिका–२ घर भई बुढानीलकण्ठ–११ म बस्ने दावा शेर्पा र खोटाङकै केपिलासगढी गाउँपालिका–४ घर बुढानीलकण्ठ–११ म बस्दै आएका जनक राई पक्राउ परेका छन् । उनीहरू जापान जान हिँडेका थिए । उनीहरू मन्त्रीसँगै नेपाल फर्किएपछि पक्राउ परेका हुन् ।
उनीहरूको बयानका आधारमा नुवाकोटको विदुर नगरपालिका–७ घर भई सामाखुसी बस्ने जुगल रिजाल, दोलखाको जिरी नगरपालिका–९ घर भई काठमाडौँ महानगरपालिका–१६ बस्ने वीरबहादुर सुनुवार, धादिङको त्रिपुरा सुन्दरी गाउँपालिका–६ घर भई चन्द्रागिरि नगरपालिका–८ बस्ने महेश पाण्डे पक्राउ परेका छन् । पक्राउ परेकामध्ये रिजाल र सुनुवारले नक्कली कागजात बनाएको प्रहरीको दाबी छ ।
जापान हिँडेकामध्ये दुई जनालाई आन्तरिक मामिला तथा कानून मन्त्रालयको सहायक पदको कागजात बनाइएको छ । उनीहरूलाई सो गिरोहले मन्त्रालयको परिचयपत्र समेत बनाइ दिएका थिए ।
आन्तरिक मामिला तथा कानून मन्त्रालयको परिचयपत्रमा लिलाबल्लभ अधिकारी ‘निमित्त कार्यालय प्रमुख’ भनेर सही गरेको देखिन्छ । सो सही र अधिकारीले गर्ने सही मेल खाँदैन ।
मन्त्री भैसकेको मान्छे, पार्टीको त्यत्रो नेता, कानून पढेको अनि वुद्वि चाहिँ एक पैसाको नभएको रहेछ । एउटा दलालले जाउँ भन्दैमा लुरूक्क हिडेर देशकै वेईव्जत गर्नेलाई कडा कारवाही गर ।
पत्याउनै नसकिने समाचार पढ्नु पर्या छ,
मुटुमाथि ढुङ्गा राखि बाच्नु पर्या छ।
लिला बल्लभलाई म ब्यक्तिगत रुपमा चिन्छु, उनी भद्र कानून ब्यवशायी पनि हन्, उनले नै त्यसो गरे भन्ने कुरामा विश्वास गर्नै गाह्रो भयो। दलालहरुले नेताहरूलाई कसरी फसाउँछन् भन्ने ज्वलन्त उदाहरण हो यो।