रास्वपालक्षित माधव सापकोटाको टिप्पणी- विधि मान्छु भन्छ, भिडद्वारा आफ्नो कुरालाई सिद्ध गर्न पनि खोज्छ
काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले राष्ट्रिय स्वतन्त्र पार्टीले भिडबाट आफ्नो कुरा सिद्ध गर्न खोजेको टिप्पणी गरेका छन् ।
मार्क्सवादी ज्ञान केन्द्र गण्डकी प्रदेशद्वारा आयोजित लोकप्रियतावाद, सिद्धान्त, समस्या र समाधान विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै विधि मान्छु भनेपनि भिडद्वारा आफ्नो कुरालाई सिद्ध गर्न खोजिरहेको बताए ।
‘मुलधारमा राजनीतिज्ञलाई पार्टीको आफ्नो अनुशासन र विधान हुन्छ । सामाजिक विधि र पद्धातिमा हामी कहीँ न कहीँ बाँधिनुपर्छ’, उनले रवि लामिछाने नेतृत्वको रास्वपालाई लक्षित गर्दै भने, ‘लोकप्रियतावादीहरुलाई विधि र प्रक्रियाले कम बाँध्छ, अहिले नै हेर्नुभयो भने विधि मान्छु पनि भन्छ, अनि कहीँ न कहीँ भिडद्वारा आफ्नो कुरालाई सिद्ध गर्नको लागि ज्यादा जोड गरिरहेको हुन्छ ।’
अहिले नेताहरु असफल भए भन्नेतिर बहस केन्द्रित भएको भन्दै समाजवादको व्याख्यामा नै अन्तर परेकाले मुलुकको राजनीतिक बिग्रिएको बताए ।
उनले अगाडि भने, ‘कांग्रेसले पूँजीवादी कोणबाट समाजवादको व्याख्या गर्छ, त्यसलाई हामीले मान्दैनौं । कहिले कांग्रेस, माओवादी, समाजवादीको गठबन्धन बनेको हुन्छ । अहिले कांग्रेस र एमालेबीचको गठबन्धन बनेको छ । त्यसैले शासन व्यवस्था दर्शन, विचार र दृष्टिकोणले गर्ने हो, त्यसमा चुकेपछि अहिले पर्याप्त लाभ लोकप्रियातावादले उठाइरहेको छ । बाहिरबाट झट्ट हेर्दा सबै पार्टी एउटै भए भन्नेतिर पनि जान्छ । हामीले आफ्नो वैचारिक धार, आजको दिनमा समाजवादमा सामाजिक न्यायको सिद्धान्तलाई स्वीकार नगरेपछि त्यो समाजवाद नै रहेन नि !’
लोकप्रियतावादको लामो गन्तव्य नहुने टिप्पणी गरे ।
उनले थपे, ‘क्षणिक रुपमा तत्कालीन मुद्दाहरुलाई बोकेर अवसर छोप्ने प्रवृत्ति हो। यसको आफ्नो विचार र दर्शन छैन । यसले नारा रोप्छ, नारा फलाउँछ, त्यही नारा जनतालाई बाँडेर त केही परिणाम दिँदैन । परिणाम नआएपछि त्यो धोकामा परिणात हुन्छ । प्रियतावादको नारा रोप्छ, नारा फलाउँछ, नारा नै वितरण गर्छ । पार्टीभित्रको लोकतन्त्रको कुरा पार्टीभित्रको मान्छेले ज्यादा कुरा गर्छौँ । हामी पार्टी महाधिवेशनमा मात्रै होइन, संसदमा पनि बहस गर्छौँ । तर त्यो प्रवृत्तिले त्यसलाई ज्यादा रंगरोगन गर्छ ।’