मनाङे आत्मसमर्पणको मनस्थितिमा, प्रहरी पक्राउको तयारीमा – Nepal Press

मनाङे आत्मसमर्पणको मनस्थितिमा, प्रहरी पक्राउको तयारीमा

मनाङेका कानून व्यवसायीद्वारा सजाय मिनाहाको माग, पक्राउका लागि प्रहरीका तीन युनिट सक्रिय

काठमाडौं । ज्यान मुद्दामा पाँच वर्ष कैद तोकिएका गण्डकी प्रदेशका पूर्वमन्त्री एवं प्रदेशसभा सदस्य राजीव गुरुङ (दीपक मनाङे) प्रहरीसमक्ष आत्मसमर्पण गर्ने मनस्थितिमा छन् । प्रहरी भने आत्मसमर्पणपूर्व नै पक्राउ गर्ने तयारीमा जुटेको छ ।

उच्च अदालत पाटनले २०७४ सालमा पाँच वर्ष कैद गर्ने फैसला सुनाएपछि पक्राउ परेका मनाङेले निर्णय बदर तथा थुनाबाहिरै बसेर मुद्दाको पुर्पक्षको माग गर्दै सर्वोच्च अदालतमा पुनरावलोकनको निवेदन दिएका थिए ।

त्यसअनुसार सर्वोच्चले उनलाई थुनाबाहिर रहेर मुद्दाको पुर्पक्ष गर्ने सुविधा दियो । तर, सर्वोच्चले मंगलबार सोही निवेदनमाथि अन्तिम सुनुवाई गर्ने क्रममा उच्च अदालतको आदेश सदर गरेको थियो ।

मनाङे मुख्य योजनाकार रही २०६१ वैशाख २१ गते चक्रे मिलन नामले चिनिने गुण्डानाइके मिलन गुरुङमाथि धारिलो हतियार प्रहार भएको थियो । घटनापछि गुरुङपत्नी इन्दिराले दिएको जाहेरीका आधारमा उनीमाथि कुटपिटको मुद्दा चल्यो । सोही मुद्दा २० वर्षदेखि चल्दै आएको हो ।

पहिला कुटपिटको महलमा चलेको उक्त मुद्दामा मनाङे पहिलोपटक २४ र अर्कोपटक ८ महिना थुनामा रहिसकेका छन् । पछि सोही घटनलाई ज्यान मार्ने उद्योगका रुपमा उच्च अदालतले स्वीकार गरेपछि पाँच वर्ष कैद तोकिएको थियो ।
अब मनाङेले कानुनतः २८ महिनाको कैद मुक्तान गर्न बाँकी छ ।

आत्मसमर्पणको मनस्थिति

सर्वोच्चले उच्च अदालतको आदेश सदर गर्दै पाँच वर्ष कैद हुने भएपछि मनाङे मंगलबार उच्च अदालत परिसरबाटै ‘फरार’ छन् । अहिलेसम्म पनि सार्वजनिक सम्पर्कमा नरहेका उनलाई आत्मसमर्पण गर्नुपर्ने सुझाव उनीनिकटस्थ कानुन व्यवसायीले दिएका छन् ।

शुरुदेखि नै यो मुद्दामा मनाङेको तर्फबाट संलग्न रहँदै आएका कानुन व्यवसायी गणेश केसीले आत्मसमर्पण गर्नु वा प्रहरीको गिरफ्तारी पर्खिनुबाहेक अर्को बाटो नभएको बताए । मंगलबारको बहसमा मनाङेको तर्फबाट भाग लिएका अर्का कानुन व्यवसायी दीपकमणि निरौलाले उनी आत्मसमर्पणको मनस्थितिमा रहेको जानकारी दिए ।

‘थुनामा नगई मुद्दाको पुनरावलोकन माग गर्न सकिँदैन, आफैं कारागारमा हाजिर हुनुभयो भने कैद मिनाहाको सुविधा पनि प्राप्त हुन्छ’, निरौलाले भने, ‘हामी शुक्रबार नै आदेशको पूर्णपाठ माग गर्दै सर्वोच्च जाँदैछौं ।’

अधिवक्ता केसी मनाङेमाथि राजनीतिक प्रतिशोधसमेत आकर्षित भएका कारण आफ्नै सुरक्षाका लागि पनि उनले आत्मसमर्पण गर्ने बताउँछन् ।

प्रहरीको तयारी

केन्द्रीय प्रहरीको निर्देशनबमोजिम अहिले मनाङे पक्राउका निम्ति तीन युनिट सक्रिय भएका छन् । मंगलबार पाँच वर्षको कैद सदर भएको भोलिपल्टै उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकु, जिल्ला प्रहरी परिसर, भद्रकाली र जिल्ला प्रहरी कार्यालय कास्कीको टोलीलाई प्रहरी प्रधान कार्यालयले उनको खोजीकार्यका निम्ति निर्देशन दिएको छ ।

उनी छिट्टै पक्राउ पर्ने केन्द्रीय प्रहरी प्रवक्ता दानबहादुर कार्कीले बताए । ‘यो काम फैसला कार्यान्वयन गनुपर्ने हाम्रो नियमित जिम्मेवारीभित्र पर्छ’, कार्कीले भने, ‘हामीले फैसलाको संक्षिप्त पाठ माग गरेका छौं, त्यो हात पर्नेबित्तिकै पक्राउ गरिनेछ ।’

प्रधान कार्यालयको निर्देशन पाउनासाथ जिल्ला प्रहरी परिसर काठमाडौंले बुधबार नै सर्वोच्च अदालतमा उक्त मुद्दाको संक्षित आदेश माग गर्दै पत्राचार गरेको छ । अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी कास्कीले पनि उनको मोबाइल फोन सम्पर्कको अभिलेख ९सिडिआर० अध्ययन गर्दै अनुसन्धानलाई अगाडि बढाएको छ ।

अधिवक्ता केसी प्रहरीको यस्तो गतिविधिलाई अस्वाभाविक मान्छन् । ‘अरुका हकमा पूर्णपाठ आएपछि बल्ल प्रहरी तात्तिन्छ, यो फैसलाको संक्षित आदेश पनि आएको छैन, अहिल्यै समात्छु भनेजस्तो गरिँदैछ’, उनले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर