‘पूर्णबहादुरको सारंगी’का निर्देशक- जसले यतिबिघ्न रुवाइरहेछन् दर्शक
‘पिता गुमाउनुपर्दाको चोटले ‘पूर्णबहादुरको सारंगी’ सम्म पुर्यायो’
काठमाडौं । नेपाली चलचित्रको बजार यतिबेला ‘पूर्णबहादुरमय’ बनेको छ । हलभित्र दर्शक खचाखच छन् । टिकटको हाहाकार छ । फिल्म हेरेर हलबाट निस्किएका दर्शकहरु आँशु लुकाउन सकिरहेका छैनन् ।
चलचित्र बजार मात्र होइन, सामाजिक सञ्जाल समेत पूर्णबहादुरमय छ । दर्शकहरुले फेसबुकमा चलचित्रको गुणगान गाइरहेका छन् । कोही फिल्मको टिकट नपाएको गुनासो पोखिरहेका छन् । नेपाली चलचित्रप्रति यसअघि कहिल्यै नदेखिएको क्रेज देखिएको छ ।
चलचित्रले यसरी हंगामा मच्चाइरहँदा ‘पूर्णबहादुरको सारंगी’ निर्देशक सरोज पौडेल भने गुमनामजस्तै छन् । कलाकारहरु हलमा पुग्दा झुत्तिँदै फोटो÷सेल्फी खिच्न जाने दर्शकहरु निर्देशकलाई भने चिन्दैनन् । धेरैलाई यो चलचित्र कसले निर्देशन गरेका हुन् भन्ने पनि थाहा छैन । निर्देशकप्रति चासो राख्ने दर्शक निकै थोरै हुन्छन् ।
कुनै पनि चलचित्र राम्रो बन्नुमा सबैभन्दा ठूलो हात लेखक र निर्देशककै हुन्छ । यदि स्क्रिप्ट राम्रो छैन, वा राम्रो भएर पनि निर्देशन कमजोर छ भने कलाकारले जति मिहिनेत गरे पनि गतिलो चलचित्र बन्न सक्दैन । त्यस हिसाबले ‘पूर्णबहादुरको सारंगी’ मा सबैभन्दा ठूलो देन निर्देशक पौडेलकै छ, जो चलचित्रका कथाकार पनि हुन् । चलचित्रले यसरी दर्शक रुवाउनुको मुख्य जस÷अपजस उनैलाई जान्छ ।
लाइमलाइटमा नभए पनि ‘पूर्णबहादुरको सारंगी’ मार्फत जबरजस्त रुपमा उदाएका छन् निर्देशक पौडेल । कुनै ठूलो स्टार कास्टबिना सामान्य लगानी गरेर बनाएको चलचित्र स्क्रिप्ट र प्रस्तुतीकरणको बलमा ब्लकबस्टर बनेको छ । यस चलचित्रलाई हेपेर सुरुमा हलहरुले न्यून शो दिएका थिए । तर, दर्शक ओइरिन थालेपछि अहिले अधिकांश शोहरु यस चलचित्रले कब्जा गरेको छ । वर्ड अफ माउथ यति बलियो छ कि नेपाली चलचित्रका सबै व्यापारिक रेकर्डहरु तोड्यो भने आश्चर्य मान्नु पर्ने छैन ।
‘पूर्णबहादुरको सारंगी’ पौडेलले निर्देशन गरेको दोस्रो चलचित्र हो । यसअघि उनले ‘वेलकम टु हेम्जाकोट’ नामक चलचित्रको निर्देशन गरेका थिए । बैंगलोरमा चलचित्र निर्देशनको कोर्स गरेर फर्किएपछि उनले यो चलचित्रमा हात हालेका थिए । करिब दुई वर्ष अगाडि रिलिज भएको यो कमेडी मुभिले दर्शकलाई हलसम्म तान्न सकेन । चलचित्र आएको र गएको नै थाहा भएन । निर्माताको ७० लाख डुब्यो ।
पहिलो चलचित्रमा धक्का खाए पनि पौडेलले हरेश भने खाएनन् । उनी केही समय कामविहीन भए, तर सोचविहीन भएनन् । योबीचमा उनले पारिवारिक वियोगको सामना गर्नुपर्यो । उनका पिताको देहान्त भयो । पिता गुमाउनुपर्दाको चोटले नै आफूलाई ‘पू्र्णबहादुरको सारंगी’ सम्म पुर्याएको बताउँछन् पौडेल ।
‘मेरो बुवाको १३ दिने काजक्रिया सकेपश्चात चलचित्रको स्क्रिप्ट लेख्न थालेको हुँ । बुवाको निधनपछि मेरो जीवनमा ठूलो रिक्तता पैदा भयो । एउटा परिवारभित्र ‘बुवा’ को हो र छोराछोरीका लागि उसले कस्ता सपनाहरु देखेको हुन्छ ? भन्ने भाव तरंगमा डुब्दै गर्दा म पूर्णबहादुर पात्रसम्म पुगेँ’, उनले सुनाए ।
कथा लेख्न बस्दा उनले टाइटल ‘सारंगी’ मात्र राखेका थिए । मुख्य पात्रको नाम सुरुमै तय थियो– पूर्णबहादुर । यही नाम कसरी दिमागमा आयो त उनलाई ? कसैको वास्तविक जीवनमाथि आधारित पो हो कि ?
‘होइन,’ पौडेल भन्छन्, ‘पूर्णरुपमा काल्पनिक पात्र हो पूर्णबहादुर । एउटा ‘बुवा’ माथि कथा लेख्दै गर्दा मैले समाजको तल्लो तप्काको प्रतिनिधिपात्र खोजेँ । पूर्णबहादुर नाम अलिकति लाक्षणिकरुपमा राखेको हुँ । जसको जीवनमा सबै कुरा अपूर्ण छ, उसकै नाम पूर्णबहादुर ।’
आफ्नो स्क्रिप्ट बोकेर उनी लगानीकर्ताको खोजी गर्न थाले । सेभेन सिज सिनेमाका विनोद पौडेल र प्याट्रिक सुवेदीसम्म पुगे । कथा सुन्नासाथ उनीहरु लोभिए । चलचित्रमा लगानी गर्न तयार भए । कलाकारको खोजी सुरु भयो । मुख्य पात्र कसलाई बनाउने ? सुरुमै नाम आयो– विजय बराल ।
हुन त पौडेलले चलचित्रको स्क्रिप्ट लेख्दाखेरि विजय बराल उनको दिमागमा थिएनन् । बरु थिए विपिन कार्की ।
उनी भन्छन्, ‘कथा लेख्ने बेला खासमा मैले विपिन कार्कीलाई बढी सोचिरहेको थिएँ । यो क्यारेक्टरमा उनी फिट हुन्छन् जस्तो लागेको थियो । तर, निर्माण कम्पनीमा छलफल गर्दा विजय बरालको नाम आयो । म पनि अचानक झल्यास्स झैं भएँ । एउटा दुःखी पात्रको क्यारेक्टरलाई उनले पूर्णरुपमा निभाउन सक्छन् भन्नेमा सबैजना सहमत भयौं ।’
विजय बराललाई प्रस्ताव गरियो । सँधै हिरोको चम्चा वा पिछलग्गुको भूमिकामा अभ्यस्त रहेका विजय अचानक यति बलियो रोलमा अफर आउँदा सुरुमा त अक्मकिए । हुन्छ भन्न सकेनन् । ‘लिड रोल’ मा लोभिँदा भोलि चलचित्र चलेन भने आफ्नो करिअर के होला भन्ने सोचमा परेका थिए उनी । केही दिनसम्म सोचविचारपछि अन्ततः उनी जोखिम लिन तयार भए ।
त्यसो त एउटा सहायक पात्रको रुपमा स्थापित कलाकारलाई नै मुख्य भूमिका दिँदा चलचित्रलाई पनि व्यवसायिक जोखिम हुन सक्थ्यो । यो विषयमा टीममा छलफल पनि भएको थियो ।
पौडेल भन्छन्, ‘यो विषयमा पनि छलफल नभएको होइन । तर, उहाँको अभिनय क्षमतामा हामी ढुक्क थियौं । कन्टेन्ट हाम्रो बलियो छ र कथाले नै फिल्म उठाउँछ भन्ने भइसकेपछि हामीले ठूलो स्टारको खोजी गरेनौं । हामीले मेकिङ र कन्टेन्टमा विश्वास गरेका हौं ।’
चलचित्र रिलिजपछि सबैभन्दा बढी विजय बरालले नै वाहवाही पाइरहेका छन् । उनको अभिनयको चौतर्फी तारिफ भएको छ । चलचित्रले उनको करिअरमा नयाँ टर्निङ प्वाइन्ट ल्याउने निश्चित छ । टर्निङ प्वाइन्ट निर्देशक पौडेलको करिअरमा पनि आउने नै छ । उनी स्क्रिप्ट बोकेर लगानीकर्ता खोज्न हिँड्नुपर्थ्याे । अब लगानीकर्ता उनलाई खोज्दै आउने छन् ।
‘पूर्णबहादुरको सारंगी’ बक्स अफिसमा पैसा छापिरहेको छ । निर्माता मालामाल भएका छन् । निर्माताको गोजी भरिदिनु निर्देशकको लागि ठूलो आत्मसन्तुष्टिको विषय हो ।
पौडेल भन्छन्, ‘एउटा नयाँ डाइरेक्टरप्रति विश्वास गरेर करोडौं लगानी गर्न जोकोही तयार हुँदैन । उहाँहरुले ममाथि रिस्क लिनुभएको हो । मैले सामान्य पारिश्रमिक लिएर काम गरेको हुँ । चलचित्रमा मेरो शेयर छैन, तर चलचित्रले पैसा कमाउँदा मलाई पनि त्यसले आनन्दित तुल्याएको छ ।’
चलचित्रले जुन रेस्पोन्स पाइरहेको छ, त्यसबाट निर्माण टीम नै सुखद आश्चर्यमा परेको छ । दर्शकको यतिबिघ्न मायाको अपेक्षा नगरिएको निर्देशक पौडेल बताउँछन् ।
‘मिहिनेत गरेर राम्रो प्रोडक्ट दिएपछि त्यसबाट आशा त राखिएको हुन्छ । तर, चलचित्रले यो स्तरको सफलता पाउला, दर्शकले यति धेरै माया गर्लान् भन्ने चाहिँ हामीलाई पनि अनुमान थिएन’, उनले भने ।
पौडेलले ‘वेलकम टु हेम्जाकोट’ को असफलताबाट पनि केही पाठ सिकेका थिए । चलचित्र राम्रो बनाएर मात्र हुँदैन, यसलाई बलियो ब्रान्डिङ र प्रमोसन आवश्यक हुन्छ भन्ने बुझेका थिए । निर्माणमा सेभेन सिजसँगै बाँसुरी फिल्म्स पनि जोडियो । एउटा स्थापित ब्यानर जोडिँदा चलचित्रलाई ठूलो प्लस प्वाइन्ट भयो ।
पूर्णबहादुरको पोस्टर सार्वजनिक भएसँगै चलचित्रले चासो जगाउन थालिसकेको थियो । ‘काँधेकुरी’ गीत भाइरल भएपछि राम्रै हाइप बन्यो । तर पनि हलवालाहरुले पत्याएका थिएनन् । सुरुवातमा चलचित्रले निकै थोरै शो पाएको थियो । पहिलो दिन दर्शकहरु पनि खासै आएनन् । तर दोस्रो दिनबाट जबरजस्त पिकअप लियो । तेस्रो दिनबाट ‘वर्ड अफ माउथ’ ले चलचित्रलाई ह्वात्तै माथि लग्यो ।
कति चलचित्रले सञ्चारमाध्यममा राम्रो समीक्षा पाउँछन्, तर हलहरुमा दर्शक तान्न सक्दैनन् । केही चलचित्रले राम्रो समीक्षा नपाए पनि दर्शक पाउँछन् । यस मामिलामा ‘पूर्णबहादुरको सारंगी’ भाग्यमानी रह्यो । मिडियामा आएका सकारात्मक समीक्षाले पनि चलचित्रलाई धेरै बल पुग्यो । तथापि कथावस्तुमा केही प्रश्नहरु उठाइएका छन् ।
सबैभन्दा बढीले उठाएको प्रश्न हो, पूर्णबहादुरकी पत्नीको भूमिकालाई किन अपूर्ण छाडियो ? यस विषयमा निर्देशक पौडेलको आफ्नै प्रष्टीकरण छ । उनी कुनै पनि चलचित्र चलचित्रजस्तो नभएर जीवनजस्तो हुनुपर्ने आफ्नो मान्यता रहेको बताउँछन् ।
‘जसरी जीवनमा तपार्इंले चाहेका कुराहरु संयोग मिलेर आइदिँदैनन्, चलचित्रको कथावस्तु पनि त्यस्तै होस् भन्ने लाग्छ मलाई । हामीले जीवनमा जस्तै चलचित्रमा पूर्णता खोज्नु हुँदैन’, पौडेलले भने ।
उनी थप्छन्, ‘कुनै महत्वपूर्ण पात्र बीचमै छुट्दा चलचित्रभरि दर्शकलाई कौतुहल भइराख्छ । चलचित्र हेरिसकेपछि पनि उसको विषयमा सोचिन्छ । त्यसैले हामीले जानेर नै उक्त पात्रलाई अलपत्र छोडिदिएका हौं । यद्यपि, दर्शकबाट यो क्यारेक्टर लामो हुनुपथ्र्यो भन्ने धेरै प्रतिक्रिया पाइरहेका छौं ।’
चलचित्रको कथावस्तुमाथि नै अर्को जिज्ञासाः पूर्णबहादुरको मृत्युको विषयमा काठमाडौंमा भएको छोरालाई किन खबर भएन ?
पौडेलले यस्तो तर्क दिए, ‘त्यो गाउँमा एउटा मात्रै पीसीओ फोन भर्खर आएको हुन्छ । पूर्णबहादुर छोरालाई फोन गर्न आउँदा पसलेले ‘फोन बिग्रेको एक हप्ता भइसक्यो पूर्णे, अझै एक हप्ता लाग्छ होला’ भनेको छ । चिठी पत्र पठाएर पुगेर छोरो आउञ्जेल घरमा लाश राख्न मिल्दैन ।
धेरैको चासो छ– के पूर्णबहादुरको सारंगीको ‘पार्ट टु’ पनि आउँछ ?
पौडेलले आफू चलचित्रको सिक्वेल पक्षधर नभएको बताए । एउटा चलचित्र आफैंमा पूर्ण हुनुपर्ने उनको मान्यता छ । तर, दर्शकको माग देख्दा उनी सोच्न बाध्य भएका छन् ।
‘म सिक्वेलको फ्यान त होइन । तर, धेरै हलमा पार्ट टु चाहिन्छ भनेर नाराजुलुसै गरेजस्तो देखियो । दर्शकको यो प्रेम देख्दा ल्याउनुपर्छ कि जस्तो पनि लाग्छ । तर, कम्पनीको कुरा हो । कम्पनीले सिक्वेल बनाउने निर्णय गर्यो भने मसित पनि कुरा गर्ला । म चाहिँ यसै भन्न सक्दिनँ ।’
अन्तिममा सोधियोः
चलचित्रका कलाकारहरुको वाहवाही छ । हलहरुमा दर्शकले कलाकारहरुलाई अंगालो मारेर रोएका छन् । तपाईं यो चलचित्रको मुख्य सर्जक ओझेलमा हुनुहुन्छ । यसले अलिकति खल्लो लागेको छैन ?
पौडेलको जवाफः
यो त मनको कुरा नै सोध्नुभयो जस्तो लाग्छ । त्यस्तो कहिलेकाहीँ फिल हुन्छ पनि । तर ठीक छ । आखिर पर्दामा त कलाकारै देखिने हो । दर्शकले चिन्ने पनि कलाकारलाई नै हो । शिक्षित वर्गले निर्देशक को हो भनेर खोज्छन् होला । तर, यस्ता दर्शक थोरै हुन्छन् । फेरि, म पुरानो मान्छे पनि होइन । बिस्तारै मेरो पनि नाम आउला भन्नेमा आशावादी छु । सबैकुरा एकैपटक प्राप्त हुँदैनन् पनि ।