‘आशंका बढ्न सक्छ तर कांग्रेसका नेताहरुले सरकारको मूल्यांकन गर्न हतार गरे’ – Nepal Press

‘आशंका बढ्न सक्छ तर कांग्रेसका नेताहरुले सरकारको मूल्यांकन गर्न हतार गरे’

प्रमुख सचेतक श्याम घिमिरे भन्छन्- दुई दलीय संयन्त्र सरकारलाई नीतिगत विषयमा सघाउँछ, दैनिक कामकाजमा हस्तक्षेप गर्दैन

काठमाडौं । प्रतिनिधि सभाका दुई ठूला दल नेपाली कांग्रेस र एमाले मिलेर सरकार बनाएको चार महिना पुग्न थाल्यो । तर, दुई ठूला दल मिलेर सरकार बनाउँदा पनि अपेक्षा गरेअनुसारको काम गर्न नसकेको भन्दै सत्तारुढ दलहरुभित्र आलोचना सुरु भइसकेको छ । एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार असफल भएको निष्कर्षसहित विपक्षी दलहरु त सडकमा निस्किसकेका छन् ।

ओली सरकारको कामप्रति कांग्रेसभित्र पनि एकपछि अर्को असन्तुष्टि बढ्दै गइरहेको छ । दुई दलबीच अविश्वास बढ्न थालेको चर्चाका बीच प्रधानमन्त्री ओली र कांग्रेस सभापति शेरबहादुर देउवाले बेग्लै शक्तिशाली संयन्त्र बनाएका छन् ।

संयन्त्रको कार्यदलमा नेपाली कांग्रेसको तर्फबाट उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, केन्द्रीय सदस्य एवं गृहमन्त्री रमेश लेखक र केन्द्रीय सदस्य एवं परराष्ट्र मन्त्री डा. आरजु राणा देउवा रहेका छन् भने एमालेबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष एवं उपप्रधानमन्त्री विष्णुप्रसाद पौडेल, महासचिव शंकर पोखरेल र उपमहासचिव विष्णु रिमाल रहेका छन् ।

केन्द्रमा जस्तै प्रदेश र जिल्ला तहमा पनि दुई दलीय संयन्त्र बनाउने निर्णय भइसकेको छ । कार्यदलको संयोजन दुई दलले एक–एक महिना पालैपालो गर्ने र कात्तिक २१ देखि मंसिर २० सम्म कांग्रेसका उपसभापति खड्काले कार्यदलको बैठकको संयोजन गर्ने सहमति बनेको छ। हालैमात्रै गठन भएको यो संयन्त्रको काम, गठबन्धन दलभित्र बढेको असन्तुष्टि लगायतको बिषयमा केन्द्रित रहेर कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेसँग नेपाल प्रेसले गरेको गरेको संक्षिप्त कुराकानीः

कांग्रेस र एमालेले दुई दलीय शक्तिशाली संयन्त्र बनाएको छ, यसको किन आवश्यक पर्यो, कसरी काम गर्छ ?

दुई दलबीच भएको नीतिगत समझदारीलाई अगाडि बढाउनको लागि संयन्त्र बनाइएको हो । नीतिगत सवालहरुमा यसले सरकारलाई सल्लाह सुझाव दिने र सरकारलाई मार्गदर्शन गर्ने काम गर्छ । अहिले प्रधानमन्त्री चीन भ्रमणमा जाने कि नजाने भन्ने विषयमा पनि एउटा बहस छ । विआरआइको बिषयमा पनि उस्तै बहस चलिरहेको छ ।

अर्थतन्त्रलाई चलायमान बनाउने पनि सात बुँदे सहमतिको मुख्य एजेण्डा हो । कसरीले अर्थतन्त्रलाई चलायमान बनाउने ? भन्ने विषयमा पनि यसले काम गर्छ । कतिपय कानूनी अफ्ठ्याराहरुलाई पनि सुधार गरेर जानुपर्ने छन् ।

सरकारलाई सफल बनाउनको लागि सल्लाह, सुझाव दिनको लागि बनेको हो । यसले सरकारको दैनिक कामकाजमा हस्तक्षेप पर्दैन। यो नीतिगत सवालमा मात्रै सीमित रहन्छ ।

तर, दुई दलबीच आशंका बढेपछि त्यसलाई समाधान गर्नको लागि संयन्त्र बनाइएको भन्ने पनि टिप्पणी गर्छन् नि ?

त्यस्तो कुरा होइन । अहिले कुनै आशंका बढेको छैन । तर, राजनीतिमा आशंका बढ्न सक्छ । राजनीतिमा एउटै दलभित्र त आशंका बढ्छन् भने गठबन्धनको सरकारमा केही आशंका हुन सक्छन् । केही असमझदारी पनि हुन सक्छन् । त्यसलाई हटाउनको लागि शीर्ष नेतृत्व तहमा एउटा संयन्त्र भयो भने राम्रै गर्छ भन्ने बुझाइ पनि हुनसक्छ ।

कांग्रेस एमालेले संविधान संशोधनको मुद्दालाई अघि सारेर सरकार गठन गरेका हुन्, यो संयन्त्रले त्यसमा पनि काम गर्छ ?

पक्कै गर्छ, संविधान संशोधन अहिले भन्नेबित्तिकै हुने कुरा होइन । त्यसमा अध्ययन गर्नको लागि पनि एउटा संयन्त्र त चाहियो नि । त्यसैले अहिले बनेको संयन्त्रले त्यसमा पनि काम गर्छ ।

दुई ठूला दल मिलेर सरकार बनाएको छोटो समयमै असन्तुष्टि बढ्न थालेको छ । त्यसलाई कसरी लिनुहुन्छ ?

अहिले सरकारप्रति असन्तुष्टि व्यक्त गर्ने बेला भएको छैन । अहिले नै सरकारप्रति असन्तुष्टि व्यक्त गर्नु हतारो हुन्छ । सरकार गठनपछि केही सकारात्मक काम हुँदै थिए बाढी पहिरोको विपद्को सामाना गर्नुपर्यो, अहिले चाडपर्वको बेला छ, त्यसैले यो छोटो अवधिमै केही सोचेअनुसारको नभएको हुनसक्छ । जुनसुकै व्यक्ति सरकारमा गएको भएपनि, अहिले सरकारको वास्तविक मुल्यांकन गर्ने बेला भएको छैन, अझै केही महिना हेर्नुपर्छ ।

 तर, कांग्रेस नेता शेखर कोइरालासहित केही नेताहरुले त सार्वजनिक रुपमा असन्तुष्टि राखिराख्नुभएको छ ?

अहिले सरकारको मुल्यांकन गर्ने बेला भएको छैन, उहाँहरुले हतारो गर्नुभयो। सरकारको कुनैपनि कामको बारेमा अहिले नै प्रतिक्रिया दिनु भनेको हतारोको अभिव्यक्ति हो ।

भनेपछि बाहिर चर्चा भएजस्तो गठबन्धनमा फेरिने र असन्तुष्टि चर्किएको भन्ने कुरामा सत्यता छैन ?

अहिले गठबन्धनमा कुनै समस्या छैन । तीनतीन महिनामा समीकरण फेर्दै हिँड्दा जनताले के भन्छन् । कांग्रेस एमाले जस्तो पार्टीले तीन तीन महिनामा समीकरण परिवर्तन गर्न थाल्यौं भने जनतासँग के भन्न जाने ?


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर