मन्त्री श्रेष्ठलाई जिम्मेवारी दिन बागमतीमा मन्त्रालय नै फुटाउने तयारी – Nepal Press

मन्त्री श्रेष्ठलाई जिम्मेवारी दिन बागमतीमा मन्त्रालय नै फुटाउने तयारी

हेटौंडा । बागमती प्रदेशका विनाविभागीय मन्त्री मदुकुमार श्रेष्ठलाई विभागीय जिम्मेवारी दिन मन्त्रालय फुटाउने तयारी गरिएको छ ।
मन्त्रीको शपथ लिएको १०० दिन कटिसक्दा पनि विभागीय जिम्मेवारी नपाएका श्रेष्ठलाई जिम्मेवारी दिन प्रदेश सरकार मन्त्रालय फुटाउने अन्तिम तयारीमा पुगेको हो ।

गत साउन ९ गते मुख्यमन्त्री बहादुरसिंह लामासहित पहिलो चरणमै शपथ लिएर १०० दिन नाघिसक्दा पनि मन्त्री श्रेष्ठलाई जिम्मेवारी नदिँदा लामा दबाबमा थिए । सरकार गठनको समयमा मुख्यमन्त्रीसहित १३ मन्त्रालय बनाउने सहमति थियो । जसमा काङ्ग्रेस ७ र एमालेको ६ वटा मन्त्रालय हुने भनिएको थियो, तर काङ्ग्रेसले उक्त सहमतिको अपव्याख्या गर्दै सात मन्त्रालय भने मुख्यमन्त्रीबाहेक हो भन्ने बखेडा झिकेपछि १३ वटा मन्त्रालयमात्र रहेको बागमतीमा मुख्यमन्त्रीसहित १४ मन्त्रीले शपथ लिएका थिए ।

सहमतिबेगर मन्त्री थपेकोमा रुष्ट बनेको एमालेले जिम्मेवारीविहीन मन्त्रीको व्यवस्थापन मुख्यमन्त्री आफैंले गर्नुपर्ने भन्दै आएकोमा लामाले आफ्नै पार्टीको कोटामा परेको मन्त्रालय फुटाउने तयारी गरेका छन् ।

श्रेष्ठलाई मन्त्रालयको जिम्मेवारी दिन मुख्यमन्त्री लामालाई पार्टीको केन्द्रीय तहबाट समेत दबाब आएको छ । उक्त दबाबपछि अब बस्ने मन्त्रिपरिषद् बैठकले मन्त्रालय फुटाएरै भए पनि उनलाई जिम्मेवारी दिन लागिएको मुख्यमन्त्री स्रोतको दाबी छ ।

मन्त्री श्रेष्ठले अब पनि जिम्मेवारी नदिए राजीनामा दिनेसम्मको मनस्थिति बनाएको कारण पनि मुख्यमन्त्री दबाबमा परेको बुझिएको छ । मुख्यमन्त्रीले आफूसँग रहेको केही अधिकारसहित अर्को मन्त्रालय फुटाएर श्रेष्ठलाई जिम्मेवारी दिन लागिएको उक्त स्रोतको भनाइ छ ।

हाल काङ्ग्रेसको भागमा रहेका आर्थिक मामिला तथा योजना, खानेपानी, ऊर्जा तथा सिंचाइ, संस्कृति पर्यटन तथा सहकारी, सामजिक विकास र युवा तथा खेलकुद मन्त्रालयमध्ये एक मन्त्रालय फुटाइनेछ । जसमा संस्कृति पर्यटन तथा सहकारी फुटाएर संस्कृति तथा पर्यटन र सहकारी गरी दुई मन्त्रालय बनाइने सम्भावना अधिक रहेको स्रोतको दाबी छ ।

नेपालप्रेससँगको कुरामा विनाविभागीय मन्त्री श्रेष्ठले आफूलाई अब आउने क्याबिनेटबाट जिम्मेवारी आउने बताए ।

उनले भने, ‘मैले मुख्यमन्त्रीसँगै पहिलो लटमा मन्त्री पदको शपथ लिएको थिएँ । लामो समयबाट जिम्मेवारविहीन छु । आशा छ, यो समस्या छिट्टै समाधान हुनेछ ।’

मन्त्रालयको विषयमा सत्तारुढ दलसँग सहमतिको अन्तिम खाका बनिसकेको उनले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर