सिन्धुपाल्चोकका तीन स्थानीय तहको ढुकुटीबाट कांग्रेसले ललितपुरमा बाँड्यो आर्थिक सहायता – Nepal Press

सिन्धुपाल्चोकका तीन स्थानीय तहको ढुकुटीबाट कांग्रेसले ललितपुरमा बाँड्यो आर्थिक सहायता

स्थानीय तहबाट आएको पैसा ‘सुख दुखमा कांग्रेस’ नारासहित देउवाले गरे वितरण

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकका तीन स्थानीय तहले अर्कै जिल्लाका बाडीपीडितलाई कांग्रेसमार्फत लाखौँ आर्थिक सहयोग गरेपछि विवाद उत्पन्न भएको छ ।

कांग्रेस केन्द्रीय सदस्य एवं पूर्वमन्त्री मोहबहादुर बस्नेतलाई खुशी बनाउनका लागि नियम मिचेर यो कार्य गरिएको विपक्षीहरूको आरोप छ ।सिन्धुपाल्चोकका बाह्रबिसे नगरपालिका, भोटेकोशी र त्रिपुरासुन्दरी गाउँपालिकाले आफ्नो स्थानीय तहभन्दा बाहिर सहयोग पठाएका हुन् ।

बाह्रबिसे नगरकार्यपालिकाले ३० लाख, भोटेकोशीले २० लाख र त्रिपुरासुन्दरी गाउँपालिकाले पनि २० लाख रुपैयाँ नेपाली कांग्रेसमार्फत मृतक परिवारले पाउने गरी पठाएका छन् । तीनवटै स्थानीय तहका कर्मचारीहरूले पेस्की रकम लिएर ललितपुर कांग्रेसमार्फत रकम प्रदान गरिएको थियो ।

कात्तिक १३ गते नेपाली कांग्रेसका केन्द्रीय सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थितिमा कांग्रेस ललितपुरको संयोजनमा बाढी पहिरोमा मृत्यु भएका ४६ जनाका परिवारलाई २५÷२५ हजारका दरले रकम उपलब्ध गराइएको थियो ।

‘सुख दुःखमा कांग्रेस, सहयात्राको सन्देश’ नारा दिएर देउवाले ललितपुरका मृतक परिवारलाई सिन्धुपाल्चोकका स्थानीय तहले उपलब्ध गराएको रकम प्रदान गरेका थिए ।

राहत रकम उपलब्ध गराउन तिनै स्थानीय तहले कार्यपालिकाबाट निर्णय गराएका थिए । बाह्रबिसे नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ईश्वरीप्रसाद शर्माले आफूले असहमति जनाए पनि कार्यपालिकाले निर्णय गरेको बताए । उनले भने, ‘अन्य स्थानीय तहलाई सहयोग गर्न पाइन्छ, तर यो प्रक्रिया चाहिँ गलत भयो भनेको हुँ ।’

एउटा स्थानीय तहले अर्को आफ्नो कार्यक्षेत्रबाहिरका पीडितलाई सहयोग गर्दा सम्बन्धित स्थानीय सरकारमार्फत नै जानुपर्ने हुन्छ । एउटा अमुक पार्टीले जस पाउने गरी सहयोग रकम दिन नमिल्ने भन्दै विपक्षीहरूले विरोध जनाएका छन् ।

बाह्रबिसे नगरपालिकाका पूर्वमेयर निमफुञ्जो शेर्पाले तीनवटै पालिकाले गरेको निर्णय स्थानीय ऐन विपरीत रहेको बताए । यो विषय अदालत र अख्तियारसम्म जानु पर्ने उनको भनाइ छ ।

भोटेकोशी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपक दाहालले पनि कार्यपालिकाको बैठकबाट मृतक परिवारलाई ३० लाख दिने गरी निर्णय गरिएको बताए । ‘अन्य विषयमा अध्यक्षज्यूलाई नै सोध्नुहोला, मलाई केही पनि थाहा छैन’ भन्दै उनी पन्छिए ।

त्रिपुरासुन्दरी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जयबहादुर वाइबाले भने चलाखीपूर्ण जवाफ दिए ।

उनले भने, ‘बाढी पहिरोमा परी देशभर ज्यान गुमाएकाहरूलाई २५ हजारका दरले सहयोग गर्ने निर्णय भएको छ । यसमा सिन्धुपाल्चोकका स्थानीय तहमा पनि कसैको मृत्यु भएको छ भने त्यता पनि सहयोग गर्ने हो ।’

सिन्धुपाल्चोकमा दुई विदेशी सहित १३ जनाको बाढी पहिरोमा परी मृत्यु भएको थियो । तर, यो रकम सिन्धुपाल्चोकका मृतक परिवारलाई बाँडिएको छैन ।

आफ्नो स्थानीय तहमा विपत्तिमा परेकाहरूलाई एक थान त्रिपाल उपलब्ध गराउन नसक्ने तर अन्य स्थानीय तहमा लाखौँ पठाएर राजनीतिक स्टन्ट गरिएको एमालेका नेताहरूले बताएका छन् ।

एमालेको बाह्रबिसे, भोटेकोशी र त्रिपुरासुन्दरी गाउँपालिका कमिटीले विज्ञप्ति जारी गरेर राजनीतिक फाइदाका लागि राज्यकोषको रकम दुरुपयोग गरेको आरोपसमेत लगाएका छन् ।

एक स्थानीय तहले अर्को स्थानीय तहमा ‘जी टु जी’ माध्यमबाट सहयोग उपलब्ध गराउन सक्ने कानुनी प्रावधानको खिल्ली उडाउँदै सम्बन्धित स्थानीय तहसँग समन्वय नगरी सरकारी कोषको रकम कांग्रेसको ब्यानरमा वितरण हुनु नीतिगत भ्रष्ट्राचार भएको एमालेको तिनै पालिका कमिटीले प्रकाशित गरेको विज्ञप्तिमा भनिएको छ ।


प्रतिक्रिया

3 thoughts on “सिन्धुपाल्चोकका तीन स्थानीय तहको ढुकुटीबाट कांग्रेसले ललितपुरमा बाँड्यो आर्थिक सहायता

  1. ३ वटा स्थानीय तहबाट उठेकाे जम्मा रकम रू. ७० लाख।
    ब्ययः ४६ जना परिवारलाइ २५ हजारका दरले रू. ११ लाख ५० हजार ।
    बाँकी हिसाव खै? कुछ ताे गडबड है दया !

  2. गाउँपालिकाले कति दियो कति बाँडे हिसाब नै छैन । बस्नेत काजिहरूले भ्याएर बाँकी रहेको बाँडने हो । पहिला सहयोग दिने अनि तोकिएको प्रतिशतले हुने फिर्ता लिने काँग्रेसी काईदा हो यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर