विदेशमा सजिलाे छैन नेपाली चलचित्र देखाउन र हेर्न – Nepal Press

विदेशमा सजिलाे छैन नेपाली चलचित्र देखाउन र हेर्न

'कोरियामा एउटा नेपाली चलचित्र हेरेर फर्किँदा ३० हजार नेपाली रुपैयाँ खर्च हुन्छ'

एउटा तथ्य खोलिहालुँ, कोरियामा नेपाली चलचित्र हलसम्म गएर हेर्न त्यति सजिलो छैन । नेपाली चलचित्रलाई औधी माया गरिएकाले नै बिदाको चाँजोपाँजो मिलाएर ३० हजार नेपाली रुपैयाँ खर्च गरेर नेपाली चलचित्र हेर्ने गरिएको छ । नेपाली चलचित्र हेर्न ड्युटी छाडेर महँगो यात्रा गर्नुपर्ने हुन्छ ।

दक्षिण कोरियामा प्रायः सबै नेपाली चलचित्र प्रदर्शन भइरहेका हुन्छन् । मैले हलसम्म गएर धेरै चलचित्र हेरेको छु । म बसेको ठाउँबाट चलचित्र प्रदर्शन भएको हलसम्म पुगेर चलचित्र हेरेपछि फर्कंदासम्म तीन लाख कोरियन वन (३० हजार नेपाली रुपैयाँ) खर्च हुन्छ ।

यहाँ आयोजकहरुले प्रतिटिकट ३० हजार वनमा बेच्ने गर्छन् । कोरियाको औसत कमाइको हिसाबले टिकटको दर ठीकै मान्नुपर्ने हुन्छ, तर टिकटको मूल्य सस्तो नै हुन्थ्यो भने पनि ट्रेन, बस जस्ता यातायातका साधनको सुविधा नपुगेको ठाउँबाट ट्याक्सी चढेर जानुपर्ने हुन्छ । फेरि कोरिया भन्नासाथ राजधानी सिओलमात्रै होइन, अन्य धेरै ग्रामीण ठाउँ पनि छन् ।

कोरियामा यदि ट्यक्सी लिनुपरेको खण्डमा अत्यन्तै महँगो पर्न जान्छ । प्रवासमा म जस्ता नेपाली चलचित्रलाई माया गर्ने दर्शकले २०/३० हजार रुपैयाँसम्म खर्च गरेर भए पनि हलसम्म पुगेर नेपाली चलचित्र हेर्नु आफैंमा गर्वको कुरा हो । यसरी नेपाली चलचित्रप्रतिको महँगो मोह राख्ने म जस्ता कैयौं दर्शक विदेशमा छन् । जस्तोसुकै महँगो पर्न गए पनि चलचित्र हेरेपछि आत्मसन्तुष्टि भयो भने बेग्लै आनन्दानुभूति हुन्छ, तर कतिपय चलचित्र सामाजिक सञ्जाल र मिडियामा हल्ला गरिएको जस्तो र आफूले सोचे जस्तो नभइदिँदा चाहिँ बहुत नमीठो लाग्छ ।

भन्ने गरिन्छ, एउटा राम्रो चलचित्रमा हजारौं पुस्तकमा अभिव्यक्त गर्न नसकिने कुरा व्यक्त गर्न सकिन्छ । हरेक चलचित्रले अलिकति भए पनि समाजमा भाष्य निर्माण गरिरहेकै हुन्छ । समाज रुपान्तरणका लागि पनि चलचित्रको महत्वपूर्ण भूमिका हुन्छ । चलचित्र मनोरञ्जनको साधनमात्र नभएर समाजको बहुआयामिक अभिव्यक्ति दिन सकिने माध्यम पनि हो, तर राम्रो चलचित्र कथा, पटकथा, निर्देशन र कलाकारको अभिनयमा भरपर्छ । म चलचित्रप्रति उस्तो ज्ञान भएको मान्छे होइन, सामान्य दर्शकको वर्गभित्र पर्छु ।

राजनैतिक परिवर्तनसँगै प्रविधिको विकासले भने नेपाली चलचित्रले पछिल्लो समय बेग्लै छलाङ्ग मारिरहेको छ । किनाराकृत समुदायको कथा मूलधारमा आइरहेको छ । मौलिक कथामा चलचित्र बन्न थालेका छन् ।

नेपाली चलचित्रले करिब ६ दशक पार गरिसकेको छ । यति लामो समयमा सायद धेरै नै आरोह-अवरोह झेलेको हुनुपर्छ । प्रविधिको विकास र सामाजिक, राजनीतिक परिवर्तनसँगै नेपाली चलचित्र सापेक्षिक रुपले परिवर्तन हुँदै आएको छ । २०६० को दशक यता भने नेपाली चलचित्रमा धेरै नै ठोस परिवर्तन आएको देख्छौं । यो समयभन्दा अघि प्रायः बलिउड चलचित्रको कार्बन कपी नेपाली चलचित्रको बोलवाला थियो । त्यसबीचमा पनि केही राम्रा चलचित्र भने नबनेका होइनन्, तर एकल धार्मिक, सांस्कृतिक प्रभावको रजगजका कारण ती चलचित्र छायाँमा पारिएका थिए ।

राजनैतिक परिवर्तनसँगै प्रविधिको विकासले भने नेपाली चलचित्रले पछिल्लो समय बेग्लै छलाङ्ग मारिरहेको छ । किनाराकृत समुदायको कथा मूलधारमा आइरहेको छ । मौलिक कथामा चलचित्र बन्न थालेका छन् । नायक, नायिकाको परम्परागत भाष्य भत्किसकेको छ । नेपाली चलचित्र समावेशी बन्नुका साथै बहुआयामिक नेपाली समाजको सौन्दर्य पस्किन थालिएको छ । यसले हरेक नेपालीलाई स्वेदशी चलचित्रप्रति गर्वबोध हुने नै भयो ।

गलत राजनीतिक नेतृत्व र यसले निम्त्याएको अस्थिरताका कारण देशमै केही गरौं भन्ने अवस्था छैन । केही गर्न खोज्नेलाई पनि राज्यले प्रोत्साहन गर्नुको साटो अनेक बाधा अड्चन लगाएर लखेट्न खोजिन्छ । यी यावत प्रतिकूलताका कारण सवा करोडभन्दा धेरै नेपालीहरु अहिले प्रवासमा छन् । मान्छे जहाँ पुगे पनि देशप्रतिको माया छातीमै बोकेर हिँड्छ । देशको माया गर्नु भनेको भाषा, कला, संस्कृति, साहित्यलगायत सबैको माया गर्नु हो । त्यसैले प्रवासमा रहेका म जस्ता आमनेपालीले स्वदेशी चलचित्रलाई माया नगर्ने कुरै भएन ।

चलचित्र प्रदर्शन हुँदा प्रत्यक्ष हलमा उपस्थित भएर, टिकट काटेरमात्र नभएर विभिन्न माध्यमबाट समेत विदेशमा रहेका नेपालीले नेपाली चलचित्रमा योगदान गरिरहेका हुन्छन् । हलमा प्रदर्शन हुँदा चिलिम फर्केका कतिपय नेपाली चलचित्र युटुबमा रिलिज हुँदा विदेशमा बसेका नेपालीले हेरिदिएर निर्माताहरुलाई केहीसम्म राहत प्रदान गरेका छन् । युटुबबाट हुने आम्दानीको ठूलो हिस्सा विदेशमा बस्ने नेपालीहरुको छ ।

हलमा प्रदर्शन हुँदा चिलिम फर्केका कतिपय नेपाली चलचित्र युटुबमा रिलिज हुँदा विदेशमा बसेका नेपालीले हेरिदिएर निर्माताहरुलाई केहीसम्म राहत प्रदान गरेका छन् । युटुबबाट हुने आम्दानीको ठूलो हिस्सा विदेशमा बस्ने नेपालीहरुको छ ।

केही दशकयता नेपालमा चलचित्र रिलिज भएकै समयमा विभिन्न देशमा पनि रिलिज हुन्छ । यस्तो अवसर विदेशमा हुने दर्शकहरुलाई विभिन्न संघसंस्थाहरुले प्रदान गरिरहेका हुन्छन् । यसरी शीघ्र प्रदर्शन हुँदा नेपाली चलचित्रलाई माया गर्ने दर्शकहरुले डिजिटल प्लेटफर्ममा पर्खिनु परेन । कतिपय परोपकारी उद्देश्य राखेर संघसंस्थाले प्रदर्शन गरेका हुन्छन् । यसमा साथीभाइको बाध्यकारी अनुरोध पनि हुन्छ । चलचित्र जस्तो भए पनि बाध्यतावश हेर्न जानैपर्ने अवस्था हुन्छ, तर चलचित्र देखाएर समाज सेवाको नाममा उठाइएको रकम कतिको सही ठाउँमा सदुपयोग हुन्छ ? त्यो चाहिँ उहाँहरुले नै जानून् ।

समाज सेवा वा व्यापारिक हिसाब जस्तोसुकै उद्देश्य राखेर विदेशमा नेपाली समुदायमाझ नेपाली चलचित्र प्रदर्शन हुनु नेपाली चलचित्र उद्योगलाई नै सहयोग पुग्नु हो । चलचित्र उद्योगको प्रवर्द्धन गर्नु हो । कतिपय नेपालमा फ्लप खाएका चलचित्रका निर्मातालाई विदेशमा रहेका नेपालीहरुले उद्धारसमेत गरेका छन् ।

विदेशमा व्यवस्थापकलाई होस् वा दर्शकलाई, चलचित्र प्रदर्शन गर्नु/हेर्नु उति सजिलो भने छैन । समयको सेकेन्ड सेकेन्ड हिसाब हुने ठाउँमा प्रचारप्रसार गर्नु, हल खोज्नु, व्यवस्थापन गर्नु पक्कै पनि सहज काम भने होइन, तर पनि नेपाली चलचित्रप्रतिको माया र मोहले ती काम सम्भव भएका छन् । कमाइको हिसाबले पनि विदेशमा नेपाली चलचित्रले लाखमात्र होइन, करोड नै कमाइ गरेको पाउँछौं । साथै चलचित्र हेर्न कति महँगो छ, त्यो त माथि नै भनिसकें ।

अहिले प्रविधिको युग हो । प्रविधिले हरेक कुरा सजिलो र सुविधायुक्त बनाइदिएको छ । चलचित्र हलमै प्रदर्शन गर्नुपर्छ भन्ने पनि छैन । विभिन्न डिजिटल प्लेटफर्म विकास भइसकेका छन् । विश्वका विभिन्न देशका अनेक चलचित्र अमेजन प्राइम, नेटफ्लिक्स जस्ता प्लेटफर्ममा सहजै पैसा तिरेर हेरिरहेका छौं । त्यसरी नै नेपालमा पनि विभिन्न ओटीटी प्लेटफर्महरु विकास भएका छन् । ती प्लेटफर्मलाई राम्रोसँग व्यवस्थापन गरेर हामी जस्ता प्रवासमा रहेका दर्शकका लागि पैसा तिरेर हेर्न मिल्ने गरी निर्माताहरुले उपलब्ध गराइदिए गजब हुने थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *