के हो पाथीभरामा केवलकार निर्माणको विवाद ? – Nepal Press

के हो पाथीभरामा केवलकार निर्माणको विवाद ?

विराटनगर । ताप्लेजुङमा रहेको प्रसिद्ध धार्मिकस्थल पाथीभरा जाने बाटोमा दुई पक्षबीचमा झडप हुँदा ३ जना घाइते भएका छन् । पाथीभरामा  केवलकार निर्माण गर्नुपर्ने र निर्माण गर्न नहुने पक्षका बीचमा पाथीभरा प्रवेशद्वार पाथीभराको तल्लो फेदी काफ्ले पाटीमा बिहानैबाट झडप भएको हो ।

झडपलाई नियन्त्रणमा लिन प्रहरीले बल प्रयोग गरेको छ । प्रहरीले बल प्रयोग गरेर झडप नियन्त्रणमा लिन खोजे पनि दुवै पक्ष पछि हट्ने अवस्थामा नरहेको ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद शर्माले बताए ।

पाथीभरा मन्दिरमा जानका लागि केवलकार निर्माण गर्न आज निर्माण कम्पनीले शिलान्यास गर्ने कार्यक्रम आयोजना गरेको थियो । सो कार्यक्रमलाई अवरोध गर्नका लागि विभिन्न स्थानबाट निर्माण गर्न नहुने पक्षधरहरू भेला भएका थिए ।

पाथीभरा मन्दिरमा जाने केवलकार निर्माण गरिनु हुन्न भनेर लामो समयदेखि पहिचान पक्षधरहरू आन्दोलन गर्दै आएका छन् । उनीहरूले पाथीभरालाई मक्कुमलुङ्गका नाममा विशेष आस्था राख्ने गरेका छन् ।

पाथीभरामा जानका लागि केवलकार निर्माण गरिनु हुन्न भन्ने आन्दोलनको नेतृत्व गर्नेमा एक हुन् निरन्ती तुम्वापो । उनी किराँत याक्थुङ्ग चुम्लुङका महासचिव समेत हुन् । उनले मुकुम्लुङ्ग मुन्धुमी संस्कृतिको आस्थाको केन्द्र भएको बताइन् ।

उनले भनिन्‘ मुक्कुमलुङ्ग मुन्धुमी स्रस्कृतिको आस्थाको पवित्र स्थल भएकाले यहाँको वातावरण र प्रतिकुल हुने गरी निर्माण गरिनु हुन्न भन्ने हाम्रो कुरा हो । उनले पुर्खाहरूले बनाएर राखेको सामूहिक भूमिलाई सानातिना लोभ, लालचमा फस्दै पद, कुर्सीसँग साट्नेहरू सत्ता र शक्तिको मतियार रहेको बताइन् ।

उनले पवित्र स्थललाई प्रभावित पार्ने गरी ठूला विकासका योजना ल्याउन नहुने बताइन् । निजी कम्पनीलाई पोस्ने गरी सरकारले संरक्षण गरेर योजना अगाडि बढाएकाले आन्दोलनमा उत्रनु परेको तुम्वापोले बताइन् ।

पाथीभरा देवी मन्दिर जानका लागि केवल कार निर्माण गर्ने निर्णय भएसँगै चार वर्षदेखि सो क्षेत्रमा आन्दोलन हुँदै आएको छ । सो क्षेत्रमा केवलकार निर्माण गर्न नहुने भन्दै पटक पटक पहिचान पक्षधरहरूले ज्ञापन पत्र बुझाउँदै आएका छन् ।

पाथीभरा दर्शन केवलकार प्रा.लीले पाथीभरामा जाने केवलकार निर्माण गर्ने अनुमति पाएको छ । सो कम्पनीलाई सरकारले केवल कार निर्माणका लागि ४.९७ हेक्टर जमिन दिने निर्णय गरेको छ ।

पाथीभराको तल्लो फेदी काफ्लेपाटीबाट मन्दिरसम्म २.७४ किलोमिटर दूरीमा केवलकार बन्नेछ । केवलकार निर्माणका लागि २ अर्ब ५५ करोड लागत अनुमान गरिएको छ । पाथीभरा दर्शन केबलकार प्रा .लिले भने सरकारी अनुमति प्राप्त भएकाले १३ महिनाभित्रमा केबलकार निर्माण सम्पन्न गर्ने बताउँदै आएको छ।सो कम्पनी व्यवसायी चन्द्र ढकाल नेतृत्वको आइएमइ ग्रुपको हो ।

केवलकार निर्माण हुँदा ताप्लेजुङका तीन वटा पालिकामा प्रभाव पर्ने छ । ती मध्ये फुङ्लिङ्ग नगरपालिकाका मेयर र श्रीजङ्गा गाउँपालिकाका मेयरले भने केवलकार निर्माण भए यस क्षेत्रको विकास हुने बताउँदै आएका छन् ।

फक्तालुङ्ग गाउँपालिकाका मेयर भने यस विषयमा मौन रहँदै आएका छन् । निर्माण गर्नु पर्छ भन्नेहरूले केवलकार निर्माण भए पाथीभरामा आउने भक्तजनको सङ्ख्या बढ्ने र यसले ताप्लेजुङमा आर्थिक गतिविधि बढ्ने बताउँदै आएका छन् ।


प्रतिक्रिया

3 thoughts on “के हो पाथीभरामा केवलकार निर्माणको विवाद ?

  1. विकासवोधी लुटाहाहरूको जत्थाले रोक्न खोजेको हुनुपर्छ ।लुटको धन्दा बन्द हुने भएपछि यी तिलमिलाएका हुन् ।

  2. “उन्नति, प्रगति, सहजता नेपालमा हुनु हुन्न, किन भने नेपालीको पुर्पुरोमा दुक्ख र असहजतालाई पछाउनु पर्छ भनेर लेखिएको छ” भन्दिम अब !! त्यो धार्मिक स्थलको अस्तित्व, परम्परा र उच्चत्व लाई असर नपर्न्रे गरी बिकसित बनाउने कुरा अघि बढाए हुन्न ?? त्येशो भए बिकास भएन भनेर किन भन्ने ?? आइफोन किन चलाउने, इन्टरनेट किन ? …

  3. यो सबै जातिबादी किंराती-लिम्बू हरूको काम हो। बनाउने कम्पनी लिम्बू ब्यक्तीको स्वामित्तमा भएको भए यस्तो कोकोहोलो हुंदैनथ्यो। बाहुनको स्वामित्तवमा छ बनाउने कम्पनी, त्यही भएर देखीनसहेको हो। समानताबाद को नारा दिने यी जातिय संगठन नै जातिय संकिर्णता बोकेर हिड्छन्। यो यिनीहरूको असली रूप हो। म स्वयम् पनि पूर्वी नेपालमा जन्मी, हुर्की बढेको हुनाले यिनीहरूको जातिय संकिर्णता संग राम्ररी परिचित छु।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर