अस्ट्रेलियामा नेपाली भाषा-संस्कृति पढाउने १०० भन्दा बढी संस्था – Nepal Press

अस्ट्रेलियामा नेपाली भाषा-संस्कृति पढाउने १०० भन्दा बढी संस्था

विदेश गएका नेपालीका छोराछोरीले नेपाली भाषा, संस्कृति र परम्परा कसरी जान्न सक्लान् ? यो प्रायः उठिरहने प्रश्न हो । धेरैलाई लाग्छ, विदेशमा जन्मेपछि उनीहरुले नेपाली भाषा, संस्कार-संस्कृति, चाडवाड सवै भुल्छन्, तर अस्ट्रेलियाको अवस्था अलि फरक छ ।

नेपाली भाषा अध्ययन हुने स्कूलको रुपमा सिड्नीमा मात्र १२ वटा स्थान छन् । जसमध्ये शब्दमाला क्याम्प्सी, कार्लटन, ग्रानभिल, म्याक्वेरी फिल्ड्स, नर्मनहस्ट, द पोन्ड्स, न्यूजकास्टल र पेन्सहस्र्ट गरी आठ ठाउँमा, पाठशालाका तीन शाखा बाडिया, मैटल्यान्ड र पेनशुस्रुटमा र सम्झना पाठशालाको रुपमा ब्ल्याकटाउनमा रहेको छ ।

शब्दमालाका पूर्वअध्यक्ष डा.प्रकाश पौडेलका अनुसार यो संस्था अस्ट्रेलियामा बसोवास गर्ने नेपाली समुदायका बालबालिकालाई नेपाली भाषा पठनपाठन गराउने उद्देश्यले अभिभावकहरुबाट सञ्चालित गैरनाफामूलक शैक्षिक संस्था हो । यो संस्था न्यू साउथवेल्स फेडरेसन अफ कम्युनिटी ल्याङ्ग्वेज स्कूल अस्ट्रेलियाको सदस्य हो । पौडेल बुटवल सुखानगर निवासी हुन् र उनी हाल सिड्नीमा बसोबास गर्छन् ।

यी र यस्ता संस्थाले नेपाली भाषा, कला, संस्कृति सिकाउने, नेपालका मौलिक चाडवाड बुझाउने, गीत-संगीत तथा नृत्य सिकाउने काम गर्दै आएका छन् । साप्ताहिक रुपमा सञ्चालन हुने यस्ता कक्षाका लागि स्थानीय पब्लिक स्कुलले स्थान उपलब्ध गराउँछन् । डा.पौडेलका अनुसार हाल चार तहसम्मको पढाइ हुने गरेको छ । अस्ट्रेलियामा नेपाली भाषामात्र हैन, हरेक भाषाभाषीको अध्ययनका लागि न्यूनतम सुविधा दिने गरिन्छ ।

डा. पौडेलका अनुसार ५० देखि ६० वटा भाषामा यस्तो पढाइ हुने गर्छ । यसका लागि सरकारले न्यूनतम सुविधा दिए पनि थप शुल्क आफैं व्यवस्थापन गर्छन् । एउटा शैक्षिक सत्र पूरा गर्न सरकारले प्रतिविद्यार्थी १२५ डलर उपलब्ध गराउँछ । बाँकी रकम अर्थात् हप्ताको १० डलर र पूरै सत्रको १०० डलर विद्यार्थीबाट असुल गरिन्छ । यहाँ अध्यापनका लागि वैतनिक शिक्षकको व्यवस्था हुन्छ । व्यवस्थापन गर्ने अभिभावकले निःशुल्क सेवा गर्छन् ।

शैक्षिक तथा नृत्यका लागि चाहिने विभिन्न सामान खरिद गर्नुपर्ने भएकोले सरकारले उपलब्ध गराउने रकमबाट मात्र व्यवस्थापन गर्न सम्भव नहुने डा. पौडेल बताउँछन् । हाल शब्दमालामा ३०० विद्यार्थी अध्ययन गर्दैछन् ।

सामान्यतः ५ देखि १८ वर्ष उमेरका विद्यार्थीलाई यो भाषा स्कूलमा प्रवेश लिने व्यवस्था भए पनि प्रायः १४ वर्षसम्मकाले अध्ययन गर्छन् । सन् २००४ बाट शुरू भएको शब्दमालाले १० किलोमिटरको दूरीमा त्यस्ता स्कूल खोल्ने नीति बनाएको भए पनि सबैतिर व्यवस्थापन गर्न असम्भव भएकाले पाठशाला र सम्झना पाठशाला जस्ता अन्य संस्थाहरु खुलेका छन् ।

‘हामीले वर्षको एक पटक ठूलै कार्यक्रम गर्छौं र समय-समयमा बहुसांस्कृतिक कार्यक्रम पनि गर्छौं’, पौडेलले भने ।

विविध जातजाति र धर्मलाई आफ्नो बलियो शक्तिको रुपमा स्वीकार्ने अस्ट्रेलिया सरकारले सबै भाषा, धर्म, संस्कृतिको विकासमा उत्तिकै सहयोग पुर्‍याउने नीति अँगाल्दै आएको छ । प्राध्यापन पेशामा संलग्न दयाराम सिंखडाका अनुसार धर्म निरपेक्षतालाई कतिसम्म सम्मान गरिन्छ भने कुनै जागिर खाँदा वा अन्य सन्दर्भमा जात, धर्म, लिङ्ग, राजनीतिक आस्था सोध्नै पाइँदैन । कुनै पनि जागिरका सन्दर्भमा अन्तर्वार्ता लिँदा माथि उल्लेखित कुरा यदि कसैले सोध्यो र उसले उजुर गर्‍यो भने सजाय हुन्छ । साथै बैंक खातामा कति रकम छ भनेर पनि सोध्न पाइँदैन ।

यसका केही सैद्वान्तिक आधार छन् । ती हुन्ः

१) समान अवसरको सुनिश्चितता

अस्ट्रेलियामा कानूनी रूपमा सबै व्यक्तिलाई समान अवसर दिने नीति रहेको छ । यो नीति ‘समान अवसरको सुनिश्चितता’ भन्ने नामले परिचित छ । यसले व्यक्तिलाई विनाभेदभाव कामका लागि अवसर दिने सुनिश्चितता प्रदान गर्छ । यो भनेको धर्म, लिंग, उमेर र राजनीतिक आस्था जस्ता विषयहरू कामको योग्यतासँग सम्बन्धित छैनन् र तिनका आधारमा कुनै व्यक्तिको मूल्याङ्कन गर्नु भेदभावपूर्ण हुन्छ भन्ने मान्यता हो ।

२) भेदभावविरोधी कानूनहरू

अस्टेलियामा भेदभावविरोधी कानून तथा नियमहरू छन्, जसअन्तर्गत धर्म, लिंग, उमेर, जात, यौनिकता, अपाङ्गता, वा कुनै अन्य व्यक्तिगत विशेषताका आधारमा भेदभाव गर्न निषेध गरिएको छ ।

३) विविधता र समावेशिता

अस्ट्रेलिया विविध सांस्कृतिक र सामाजिक पृष्ठभूमिका मानिसहरूको मिश्रण भएको देश हो । कामको वातावरणमा विविधता र समावेशिता महत्त्वपूर्ण मानिन्छ । यसले विभिन्न दृष्टिकोण र क्षमतालाई उच्च मूल्य दिन्छ । यसैले व्यक्तिको व्यक्तिगत विशेषता जस्तैः धर्म, लिंग वा उमेर -जसले कामको प्रदर्शनमा कुनै असर नगर्न सक्छ, त्यस आधारमा छनोट गर्नु अनावश्यक र अवैध मानिन्छ ।

४) व्यक्तिगत गोपनीयता

अस्ट्रेलियामा व्यक्तिको गोपनीयता र व्यक्तिगत अधिकारलाई महत्व दिइन्छ । कुनै पनि व्यक्तिको व्यक्तिगत जानकारी (जस्तैः धर्म, राजनीतिक आस्था आदि) विनाअनुमति सोध्नु उनीहरूको गोपनीयता उल्लङ्घन हुनसक्छ र यसका लागि कानूनी कारबाही हुनसक्छ ।

५) प्रभावकारी छनोट प्रक्रिया

धर्म, लिंग, उमेर र राजनीतिक आस्थासँग सम्बद्ध प्रश्नहरू कामको योग्यतासँग मेल नखाने भएकाले यी विषयहरूमा आधारित छनोट प्रक्रियाले सही र योग्य उम्मेदवारलाई पहिचान गर्न गाह्रो बनाउन सक्छ । त्यसैले कामका लागि योग्य उम्मेदवारको छनोट गर्दा यी विषयहरूको ध्यान नदिने प्राथमिकता दिइन्छ ।

यसरी अस्ट्रेलियामा अन्तर्वार्ता आदिमा धर्म, लिंग, उमेर, राजनीतिक आस्था आदि सोध्न पाइँदैन । यदि यस्ता प्रश्न सोधिए भने त्यो भेदभाव र कानूनी उल्लङ्घनको रूपमा लिइन्छ ।

अस्ट्रेलियाको न्यू साउथ वेल्स राज्यमा मात्र नेपालीले बनाएका संगठनको संख्या ११० छन् । यो संख्या दर्ता भएकामात्र हुन् । दर्ता नभएका पनि केही संस्था छन् । यसमध्ये ७० देखि ८० वटा सक्रिय छन् । अन्य निष्क्रिय जस्तै छन् । यसमा राजनीतिक संगठनको गणना गरिएको छैन ।

उपर्युक्त संस्थाहरुले फेडरेसनसमेत बनाएका छन् । फेडरेसन अफ नेप्लिज कम्युनिटी एसोसियसन अस्ट्रेलियामा आवद्ध संख्या ५० जति छन् ।
यस्ता संस्थाहरुले सरकारबाट अनुदान लिएर सामाजिक कार्य गर्नसक्ने व्यवस्था पनि छ । यद्यपि खुला रुपमा प्रस्तावना माग गरिने भएकाले प्रतिस्पर्धामा उत्कृष्ट भने हुनैपर्छ ।

त्यस्तै सन् २००९ मा स्थापना भएको नेपाली आर्ट कल्चर एण्ड लिटरेचर एकेडेमी (नेपाली कला, संस्कृति तथा साहित्यिक प्रतिष्ठान अस्ट्रेलिया) ले भानु जयन्ती, बहुसांस्कृतिक कार्यक्रम, बच्चाबच्चीका लागि चित्रकला प्रतियोगिता आदि गर्ने गरेको संस्थाका सल्लाहकार दयाराम सिंखडाको भनाइ छ ।

धेरै पहिलादेखि अबर्नमा बसोवास गर्नेहरुले अबर्न नेप्लिज कम्युनिटी बनाएर विविध क्रियाकलाप गर्दै आएका छन् । यस्ता संस्थाले नेपालीको पहिचान र मौलिक संस्कृतिको जगेर्ना गर्न सहयोग पुर्‍याएका छन् ।

विश्व हिन्दू महासंघ अस्ट्रेलिया, अखिल विश्व गायत्री परिवार र योगी नरहरिनाथ फाउन्डेसन जस्ता संस्थाहरु पनि यहाँ सक्रिय छन् । महासंघका उपसभापति, गायत्री परिवार तथा फाउन्डेशनका अध्यक्ष दाङ तुलसीपुर निवासी पं. नारायण शास्त्री (पोमलाल पन्थी) हुन् ।

सूचना प्रविधिका विशेषज्ञ गुल्मी आँपचौर हाल चितवन निवासी नवीन खरेल योग मास्टर हुनुका साथै आध्यात्मिक कर्ममा विश्वास गर्छन् । उनी योगी नरहरिनाथ फाउन्डेसन र विश्व हिन्दू महासंघ अस्टेलियाका सचिव हुन् ।

योगी नरहरिनाथ फाउन्डेसन नरहरिनाथका धार्मिक, इतिहास, संस्कृतिलगायतका विषयमा प्रकाशित कृतिको प्रकाशन गरी उहाँको योगदानलाई विश्वव्यापीकरण गर्ने अभियानमा लागेको छ ।

‘हाम्रो भाषा, कला-संस्कृति तथा पहिचान, बहुसांस्कृतिक केन्द्रको अभियान’ भन्ने नाराका साथ सिड्नी नेपाली बहुसांस्कृतिक केन्द्र (ग्रेटर सिड्नी नेप्लिज मल्टीकल्चरल सेन्टर) को स्थापना गर्नेतर्फ पनि केही अगुवा लागेका छन् । यो बहुउद्देश्यीय र बहुआयामिक परियोजना हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *