‘जिरो कार्बन स्कुल अवधारणा’: जापानमा पढ्दै गरेका नेपालीको देशप्रेमी अभियान – Nepal Press

‘जिरो कार्बन स्कुल अवधारणा’: जापानमा पढ्दै गरेका नेपालीको देशप्रेमी अभियान

बुटवल । गुल्मी रुरुक्षेत्र टाहाटिमका युवा भानुभक्त पुरी घरदेखि केही परको पधेँरखोलामा पुगेर केही गाग्री पानी नल्याएसम्म एक घण्टा टाढाको दुरीमा रहेको स्कुल जान पाउँदैनथे ।

उनी जस्ता त्यहाँका धेरै स्कुलेहरुलाई बिहान-साँझ घरपरिवारमा कुनै न कुनै काममा अभिभावकलाई सघाउनै पर्थ्यो । पानी लिन जाने ठाउँ एकदमै अप्ठेरो र जोखिमपूर्ण थियो । कैयौं पटक भरी गाग्री पल्टिन्थ्यो ।

पछि पानीको मुहान नासियो, मासियो, पुरियो र पानी नै सुक्यो । पानीकै दुःखका कारण उनको परिवार त्यो टोल छाडेर अलि माथिको टोलमा सरे र टाढाको मुहानबाट पाइपमार्फत गाउँमा पानी ल्याइयो, तर पानीका स्रोतहरु मासिँदै, नासिँदै र सुक्दै गएपछि ती धारामा शहरमा झैं मिटर जडान गरेर शुल्क असुल्न थालिएको छ ।

हुर्कंदै, पढदै गर्दा उनै भानु अहिले पढ्न भन्दै जापानमा पुगेका छन् । जापानको नागोयास्थित एक विश्वविद्यालयमा वातावरण व्यवस्थापन विषयमा पीएचडी गर्दै गरेका भानुले त्यहाँ पुगेर बाल्यकालको त्यो पानीको कष्ट याद गरे, हरियाली क्षेत्र मासिएको, नासिएको र पानीका स्रोतहरु सुकेको याद गरे, डाँडामा रहेको ठूलो रिचार्ज पोखरी पुरेर, ठूल्ठूला वरपिपल मासेर बनाइएको आफूले पढ्ने रानीबासको त्यो स्कुलको वातावरणको याद गरे, त्यहाँदेखि तलको घिउँबेसीको पानीका स्रोतहरुमा पारेको प्रभावलाइ सम्झे ।

वातावरणमा यस्तो असर किन र कसरी पर्छ, असर कम गर्न के गर्नुपर्छ भन्ने जिज्ञासा लाग्यो र त्यही विषय रोजेर पढे । जापान सरकारबाटै छात्रवृत्तिसमेत पाएपछि उनलाई रुचिको विषयमा पीएचडी गर्ने अवसर मिल्यो । गाउँ समाजले भोगेको समस्यालाई कम गर्न केही उपाय लगाउन सकिने ज्ञान उनमा हासिल भयो । उनको ज्ञानमा साथ दिए उनकै प्रोफेसर र त्यहीको मन्त्रालयले ।

हरित विद्यालय निर्माण र वातावरण संरक्षणको खुड्किलो

आफ्नो जन्मभूमिमा केही न केही गर्नैपर्ने हुटहुटीमा रहेका उनलाई आफैंलाई पढाउने प्रोफेसर इतोउ मासाकाजुले साथ दिएपछि कार्यान्वयनको चरणमा पुग्यो । प्रोफेसरकै सहयोगमा जापानकै शिक्षा मन्त्रालयको समेत साथ पाए उनले । त्यहाँको साथ र सहयोग लिएर उनी नेपाल आए । यहाँ आएर उनले पहिलो सुरुवात विद्यालयबाटै गर्नुपर्छ भन्ने कुरालाई कार्यान्वयन गरे ।

स्कुल तहका बालबालिका र त्यहाँको वातावरणलाई शून्य कार्बन उत्सर्जन बनाउन सके त्यसले टोल, समाज हुँदै सिंगो देशमा वातावरणीय सुधारका काम गर्न सकिन्छ भन्ने उनलाई लाग्यो । पहिलो चरणमा मुलुकका तीन प्रदेशका पाँच जिल्लाका केही विद्यालयलाई छनोट गरेर त्यहाँका सयौं विद्यार्थीलाई अभियानमा सामेल गराइरहेका छन् ।

उनलाई जापानको सोही विश्वविद्यालयमा पीएचडी गर्न गएका हेटौंडाकी पूजा अधिकारी बोहरा र पोखराका सञ्जोग पौडेलले साथ दिएपछि यो अभियान विस्तार भयो । उनीहरुले आफ्नै प्रोफेसर र जापानी सरकारको सहयोगमा नेपालमा ‘जिरो कार्बन स्कुल अवधारणा’लाई कार्यान्वयन गर्दै वातावरणीय विषयमा प्रयोगात्मक शिक्षा दिइरहेका छन् । जापानमा पढ्न गएका भानु र उनका केही साथीले नेपालमा हरित विद्यालय निर्माण र वातावरण संरक्षणमा अहिले नौलो अवधारणा ल्याएका छन् ।

जलवायु परिवर्तनको प्रमुख आधारमा रहेको असर वस्तु स्थानीय वातावरणमा कार्बन डाइअक्साइडको उत्सर्जन शोषण, परिवर्तन, हावाको गतिको असर, बादल, पानीको असर, सामुद्रिक पेरिफेरीको असर र जमिनको प्रयोगलगायतमा खोज गरिरहेका पुरीले त्यहाँको ज्ञानलाई स्वदेशमै उपयोगमा ल्याउने भन्दै केही कोसिस गरिरहेको बताए ।

उनीहरुलाई पढाउने प्रोफेसर इतोउ मासाकाजुले नेपाललाई औधी माया गर्ने रहेछन् । उनले नेपालका लागि जलवायु परिवतर्नका असरका बारेमा सक्दो सहयोग गर्ने र एउटा जलवायु मापन केन्द्र (स्टेशन) नै स्थापना गरिदिनेसम्मको सोच बनाएको पुरीले बताए । यसका लागि दूतावासमार्फत सरकारसँग कुराकानी भइरहेको पनि पुरीले जानकारी दिए ।

जापानको टोकियोमा रहेको वातावरण सूचना विज्ञान केन्द्रबाट पीएचडी प्रथम अनुसन्धान पेपर प्रकाशित भएपछि र नेपालका हालका प्रधानमन्त्री केपी ओलीले जलवायु परिवर्तनका असरका बारेमा लिएको चासोका कारणले आफूहरुलाई अभियानमा सहयोग जुटाउन झन् सजिलो भएको पुरीको भनाइ छ । उनीहरु जिरो कार्बन स्कुल अवधारणालाई देशका सबै विद्यालयमा विस्तार गर्नेगरी सहयोगी जुटाउने काममा केन्द्रित छन् ।

पहिलो चरणमा नेपालका १ हजार ४०० विद्यार्थी सामेल

ती युवाहरुले अवधारणा कार्यान्वयनका लागि बागमती, लुम्बिनी र गण्डकी गरी ३ प्रदेशका ५ जिल्ला कास्की, रूपन्देही, भक्तपुर, ललितपुर र बर्दियाका विभिन्न विद्यालयहरुका करिब १ हजार ४०० जना विद्यार्थीलाई एक वर्षदेखि उक्त कार्यक्रममा सहभागी गराएका छन् ।

रुपन्देहीको श्री शंकरनगर दुर्गादत्त माध्यमिक विद्यालय, बर्दियाको श्री जनता माध्यमिक विद्यालय, कास्कीका गण्डकी बोर्डिङ स्कुल, श्री अमरसिंह नमुना माध्यमिक विद्यालय, पश्चिमाञ्चल बोर्डिङ स्कुल, काठमाडौंका एसओएस हर्मन माइनर स्कुल र युनाइटेड एकेडेमीमा ‘जिरो कार्बन स्कुल’ अवधारणा कार्यान्वयन गरिएको छ । यी विद्यालयका विद्यार्थीहरुले वातावरणमा परे/पारेको प्रभावलाई उपकरणद्वारा प्रत्यक्ष मापन गरेर अध्ययन गर्न सक्ने भएका छन् । उनीहरुमार्फत विद्यालय परिसर र समाजलाई वातावरणीय शिक्षामा सजग बनाइनेछ ।

के हो यो अवधारणाको उद्देश्य ?

जलवायु परिवर्तनका कारण बढ्दै गरेको पृथ्वीको तापक्रम नियन्त्रण गर्न आआफ्ना क्षेत्रबाट खट्नु नै यसको प्रमुख उद्देश्य हो । जलवायु परिवर्तनको प्रमुख कारकको रुपमा रहेको र नाङ्गो आँखाले देख्न नसकिने कार्बन डाइअक्साइड ग्यासलाई अंकमा देखिने गरी कार्बन डाइअक्साइड मापक यन्त्रद्वारा मापन गरी उक्त कार्बन डाइअक्साइडको मात्रा पत्ता लगाउने र विद्यार्थीलाई बढ्दो कार्बन डाइअक्साइडले वातावरणमा पर्ने असरबारे ज्ञान दिई कार्बन डाइअक्साइड नियन्त्रण गर्न प्रेरित गर्नु रहेको अभियानकर्ता पुरीले बताए ।

वातावरणीय विषयको प्रयोगात्मक शिक्षा

विद्यार्थीहरुलाई समूहमा विभाजन गरी कार्बन डाइअक्साइड मापक यन्त्र दिएर उनीहरुले आफैं विद्यालय परिसरको कार्बन डाइअक्साइड ग्यासको मात्रा नापी सामान्यतया वायुमण्डलमा हुने कार्बन डाइअक्साइडको मात्रासँग आफैंले नापेको कार्बन डाइअक्साइडको मात्रा तुलना गरी पृथ्वीमा बढ्दै गइरहेको कार्बन डाइअक्साइडको अध्ययन गरी समुदायमा समेत सचेतना गराउने गरेका छन् ।

त्यसैगरी उक्त वातावरणीय शैक्षिक कार्यक्रममार्फत विद्यार्थीले पढ्दैमात्र आएको प्रकाश संश्लेषणको प्रक्रियालाई मापक यन्त्रको प्रयोग गरी आफैंले प्रत्यक्ष हेरेर अध्ययन गरिरहेका छन् । यसले विद्यार्थीहरुमा वृक्षारोपण र हरियाली प्रवर्द्धनमा समेत सरिक बनाउन मद्दत पुग्ने अवधारणा लागू गरिरहेका शंकरनगर दुर्गादत्त माविका प्राचार्य चण्डीप्रसाद पाण्डेको भनाइ छ ।

विद्यालयमा कार्यक्रम सुरु गर्न जापानबाटै प्रोफेसर डा.कियोसी ओकामुरा र वातावरण व्यवस्थापन विषयमा पीएचडी गर्दै गरेका विद्यार्थीहरु नेपाल आएको र प्रभावकारी कार्यक्रम गरेको प्राचार्य पाण्डेले बताए । यो कार्यक्रम पहिलो चरणमा बागमती, लुम्बिनी र गण्डकी प्रदेशका कास्की, रूपन्देही, भक्तपुर, ललितपुर र बर्दिया जिल्लाका विभिन्न विद्यालयमा चलिरहेको छ ।

अवधारणा ल्याउने प्रोफेसर नै नेपालीलाई सघाउन इच्छुक

जापानका प्रोफेसर डा.इतोउ मासाकाजुले नै वातावरणीय शिक्षाअन्तर्गतको ‘जिरो कार्बन स्कुल’को अवधारणा ल्याएका थिए । उनको यो अभियानलाई विश्वका वैज्ञानिकहरुले सराहना गरेका छन् । विश्वका कैयौं मुलुकले ‘कार्बन न्युट्रल’ लक्ष्य हासिल गर्न सामाजिक स्तरमा विद्यालयबाटै अभियान सञ्चालन गर्न यही अभियानलाई लागू गरिरहेका छन् । जापानका तिनै प्रोफेसरले पढाइरहेका नेपाली विद्यार्थीमार्फत नेपालमा सघाउने प्रोफेसरको चाहना छ ।

उक्त अवधारणा नेपालमा पनि पहिलो पटक रूपन्देही जिल्लाको तिलोत्तमा नगरपालिकास्थित शंकरनगर दुर्गादत्त माध्यमिक विद्यालयमा सुरु गरिएको छ । अभियानको पहिलो चरणको कार्यक्रममा विद्यार्थीलाई उपकरण दिएर विद्यालय परिसरको वातावरणको मापन गर्न सिकाइएको छ । अब स्कुल वरपर रहेका रुख-विरुवाले सोस्ने कार्बन डाइअक्साइडको मात्रा र वरपरको वातावरणका बारेमा अर्को यन्त्रद्वारा मापन गर्नेगरी कार्यक्रम तय भएको तिलोत्तमाका मेयर रामकृष्ण खाणको भनाइ छ ।

मेयर खाणले एउटा विद्यालयबाट सुरु भएको शोधको कार्यक्रमलाई नगरस्तरमा विस्तार गर्नेगरी छलफल भइरहेको बताए । उनले जलवायु परिवर्तनका कारण उत्पन्न चुनौतीहरूको सामना गर्न तिलोत्तमाका शैक्षिक क्षेत्रलाई कार्बन न्यूनीकरणमा केन्द्रित गर्न महत्वपूर्ण योगदान पुर्‍याइरहेको दाबी गरे ।

विद्यालयहरूमा वैकल्पिक ऊर्जा स्रोतहरूको प्रयोग जस्तैः सौर्य ऊर्जा, वृक्षारोपण र पुनर्प्रयोग-पुनर्चक्रण (रिसाइकल) प्रविधिको प्रयोग गर्दै कार्बन फुटप्रिन्ट घटाउन प्रेरित गर्दा त्यसको सकारात्मक प्रभाव परिवार, समाज हुँदै सिंगो मुलुकमा पर्ने पुरीको दाबी छ ।

विद्यालयमा जलवायु सचेतना अभिवृद्धि गर्नुका साथै विद्यार्थीलाई वातावरणमैत्री व्यवहारमा प्रशिक्षण दिन अभियानले महत्वपूर्ण भूमिका खेलेको शंकरनगर दुर्गादत्त माविका प्राचार्य पाण्डेको भनाइ छ ।

नेपालले लिएको शून्य कार्बन उत्सर्जनको लक्ष्यका लागि उपयोगी अभियान

नेपाललाई विश्वका शून्य कार्बन उत्सर्जन लक्ष्य राखेका ११० भन्दा बढी राष्ट्रमध्ये सन् २०४५ मै अग्र स्थानमा लैजान यो अभियानले महत्वपूर्ण सहयोग गर्ने अपेक्षा गरिएको अभियानकर्ता भानुभक्त पुरीको भनाइ छ ।

विद्यार्थी र शिक्षण संस्थाहरूमाझ हरित ऊर्जा, नवीकरणीय स्रोतको उपयोग र कार्बन उत्सर्जन न्यूनीकरणका उपायका महत्वबारे जसरी उपकरणसमेत दिएर सचेत गराउँदा प्रयोगात्मक शिक्षा हासिल भइरहेको र त्यसले समुदायलाई पनि फाइदा पुर्‍याएको उनको दाबी छ । यो कार्यक्रमलाई नेपाल सरकारले सहकार्य गरेमा देशैभरि विस्तार गर्न तयार रहेको र जापानी प्रोफेसरले नेपालमै मापन केन्द्र जडित स्टेशन स्थापना गरिदिनसमेत तयार भइसकेको पुरीले बताए ।

यो जिरो कार्बन स्कुल अवधारणा नेपाल सरकारले दिगो रणनीतिक लक्ष्यका रुपमा लिएको सन् २०४५ ‘शून्य कार्बन उत्सर्जन’ र सन् २०५० मा लिएको ‘ऋणात्मक/नकारात्मक कार्बन उत्सर्जन’ लक्ष्य हासिल गर्न अति नै उपयोगी हुने उनको दाबी छ । नेपाल सरकारको यो चुनौतीपूर्ण लक्ष्य हासिल गर्न नागरिकस्तरबाट सहकार्यको खाँचोसमेत रहेको पुरीले बताए ।

नेपालको राष्ट्रिय अनुकूलन कार्यक्रमका लागि सहायक हुने दाबी

नेपालले आगामी सन् २०४५ देखि २०५० सम्ममा वातावरणीय अनुकूलन भएको मुलुक बन्ने लक्ष्य लिएको छ । यसलाई राष्ट्रिय अनुकूलन कार्यक्रम भनिएको छ । यही कार्यक्रमका लागि यस्ता अभियान सहायक हुने अभियानकर्ताको दाबी छ ।

नेपालले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धि (यूएनएफसीसीसी)का पक्ष राष्ट्रहरूको २९औं सम्मेलन (कोप- २९)मा ‘एजेन्डा’ लाई उठान गर्न विभिन्न तयारी गरिरहेको सन्दर्भमा यस्ता अभियान प्रभावकारी हुने विज्ञहरुको दाबी छ । यही नोभेम्बर ११ देखि २२ तारिख (कात्तिक २६ देखि मंसिर ७ गते) सम्म अजरबैजानको बाकुमा कोप- २९ सम्मेलन हुँदैछ ।

नेपालले कार्बन व्यापार, न्यूनीकरण, अनुकूलन, लैङ्गिक समानता, समावेशीकरण, जलवायु वित्त, क्षमता विकास, पारदर्शिता र सुशासन, पर्वतीय मुद्दालाई विश्व मञ्चमा उठाउँदै आएको छ । यी मुद्दालाई थप प्रभावकारी बनाउन विद्यालयस्तरमा गरिएको जिरो कार्बन स्कुल अवधारणा सहायक हुने विश्वास गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *