डडेल्धुरामा शेरबहादुर देउवाले सुरु गरेको ‘खीर पसल’ जहाँ मदन भण्डारी, केपी ओलीसम्मले खाएका छन् खीर
कैलाली ।डडेल्धुराको गन्यापधुरा गाउँपालिका १ साहुँखर्क राजमार्ग किनारमै एउटा पत्थरले छाएको सानो कटेरो छ। केही वर्ष अघिसम्म उक्त कटेरोमा भेटिन्थे ७२ बर्षिय शेरबहादुर देउवा। उनी यहाँ ‘खीर बाजे’ नामले परिचित थिए ।
२०२४ सालमा पहिलो पटक उनले हिउँ पर्ने यो लेकमा झुपडी बनाएर भैँसी पाल्न थाले । सुरुवाती वर्षहरूमा उनी घ्यु बनाएर बेच्थे । त्यसको आठ वर्षपछि २०३२ मा खर्कमा गाडी आइपुग्यो ।
गोठमा २५/३० वटासम्म भैँसी पालेका उनले गाडीको आवतजावत सुरु भएपछि खीर पकाएर बेच्न थाले ।
सेतै कपाल, झुस्स दाह्री र चाउरी परेका गाला , थोत्रो धोती, भोटो र त्यसबाहिर अस्कोट अनि हातमा चिलिम राजमार्ग छेउमै भेटिने ‘बाजे’ अहिले छैनन् ।
७३ वर्षको उमेरमा उनको मृत्यु भएपछि उनका छोरा कर्ण देउवाले अहिले खीर पसल सुरु गरेका छन् ।
‘३० वर्षदेखि मैले नै यो पसल हेरिरहेको थिए, बुवा बुढो हुँदै जानु भएको थियो अहिले उहाँको निधनपछि सबै जिम्मेवारी मेरै काँधमा आएको छ ।’ उनले सुनाए ।
शेरबहादुर देउवाले ४९ वर्ष पहिले सुरु गरेको खिर पसल अहिले उनका छोरा कर्णले चलाइरहेका छन् । पुरानो घरलाई केही सुधार गरेर बुवाकै नामबाट उनले खिर पकाइरहेका छन् ।
देउवाले आफ्नै घरमा अहिले १० भैँसी पालेका छन्। आफ्नै घरको भैँसीको दूध मात्र होइन पूरै गाउँको भैँसीको दूध संकलन गरेर उनले खीर बनाउने गर्दछन्। भीमदत्त राजमार्ग किनारमा रहेको पसलमा दैनिक खीर बनाउने र बेच्ने उनको दैनिकी बनेको छ।
पहाडबाट तराई झर्दा होस् वा तराईबाट पहाड उक्लिँदा। यस राजमार्ग भएर हिँड्ने सवारीसाधनको रोक्ने एक मात्रै स्थान पनि हो साहुँखर्क। यहाँ गाडी रोकेर यात्रु खीरको स्वाद लिन्छन्। अनि मात्रै आफ्नो गन्तव्यतर्फ लाग्छन्।
रातदिन नै खुला रहन्छ बाजेको खीर पसल। रातिको यात्रा गर्नेले पनि खीर र चियाको स्वाद लिन पाउँछन्।
‘बाजेको खीर पसल’का सञ्चालक शेरबहादुर देउवा र पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्ला मात्रै होइन गाउँ पनि एउटै हो ।
बाल्य कालमासँगै गोठालो जानुहुन्थ्यो , पूर्व प्रधानमन्त्री भन्दा हाम्रो बुवा ५ बर्ष जेठो हुनुहुन्थ्यो ’ विगत सम्झँदै उनका छोरा कर्णले भने, ‘पूर्व प्रधानमन्त्री र हाम्रो एउटै गाउँ हो । हाम्रो गाउँमा शेरबहादुर देउवा नाम गरेको १५/१६ जना हुनुहुन्छ । मेरो बुवाको र उहाँ भतिजा हो ।’
चिया र खीर बनाउनको लागि दैनिक करिब ४० लिटर भन्दा धेरै दूध खपत हुन्छ ।
काजु बदाम, किसमिस, नरिवल मिसाएर बनाएको दूधमा दाउराको चुल्होमा मन्द आगोमा घण्टौँ लगाएर पकाइएको स्वादिलो खीर स्वाद मानेर खान्छन् अनि तारिफका केही शब्द खर्चेर जान्छन् ।
यहाँको खीर मदन भण्डारीदेखि केपी ओली र शेरबहादुर देउवासम्मले खाएका छन् । विदेशी राजदूतदेखि नेपाली कलाकारहरूले पनि यहाँको खिर खान छुटाएका छैनन् ।
यि समाजबादी र मार्क्सबादी हरूलाइ त केही पनि खुवाउनु हुन्न, बहिस्कार गर्नुपर्छ, धार्मिक र सांस्कृतिक रूपमा।