प्रस्तावित मेरापिक राष्ट्रिय निकुञ्ज खारेज गर्न आदिवासी जनजाति महासंघको माग
काठमाडौं । नेपाल आदिवासी जनजाति महासंघले प्रस्तावित मेरापिक राष्ट्रिय निकुञ्ज खारेज गर्न माग गरेको छ । महासंघले शुक्रबार पत्रकार सम्मेलन गरी यस सम्बन्धमा सरकारको समेत ध्यानाकर्षण गराएको जानकारी दिएको छ ।
पत्रकार सम्मेलनमा बोल्दै महासंघका अध्यक्ष गेल्जे लामा शेर्पाले सोलुखुम्बु जिल्लाको महाकुलुङ, सोताङ र माप्या दुधकोशी गाउँपालिमा कार्यपालिकास्तरीय र वडास्तरीय छलफल गर्दा नयाँ राष्ट्रिय निकुञ्ज निर्माण हुने सम्बन्धमा त्यस क्षेत्रका स्थानीय जनता र जनप्रतिनिधिसँग समेत परामर्श नगरिएको बताए ।
महासंघका महासचिव दिवस राईले वन तथा वातावरणमन्त्री ऐन बहादुर शाही ठकुरीलाई सिंहदरबारमा भेटेर प्रस्तावित मेरापिक राष्ट्रिय निकुञ्ज खारेज गराउने सम्बन्धी ज्ञापनपत्र बुझाइएको जानकारी दिए । ज्ञापनपत्र बुझ्दै मन्त्री शाहीले पनि आवश्यक सरसल्लाह बिना निकुञ्जको काम अघि नबढाइने धारणा राखेको महासचिव राईले बताए ।
राईका अनुसार करिब चार वर्ष अघि आर्थिक वर्ष २०७७र०७८ मन्त्रालय स्तरबाट सो राष्ट्रिय निकुञ्ज निर्माणको काम विभिन्न स्तरमा समिति बनाएर सुरु गरिएको थियो ।
कार्यक्रममा महासंघका वरिष्ठ उपाध्यक्ष बुद्ध घर्ती, उपाध्यक्ष श्रुति कुमाल लगायतको सहभागिता थियो ।