काठमाडौं १६ वडाको अध्यक्षमा मुकुन्द रिजाल पत्नीको दाबी, कांग्रेसबाट यी हुन् ४ आकांक्षी
काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्बर १६ को अध्यक्षका लागि नेपाली कांग्रेसबाट ४ जनाको सशक्त दाबी परेपछि निर्णय हुन सकेको छैन । वडाध्यक्ष मुकुन्द रिजालको निधनपछि रिक्त रहेको पदमा मंसिर १६ गते उपनिर्वाचन हुँदैछ ।
एमालेले लक्ष्मीरत्न तुलाधरलाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ । कांग्रेसबाट रिजाल पत्नी कविता रिजालले दाबी गरेकी छन् । उनले आफूलाई मेयर बालेन शाहको पनि समर्थन रहने दाबी गरेकी छन् ।
त्यस्तै वडा सभापति देवेन्द्र पाठक, द्वारिका महर्जन र शिव बोहोराले पनि दाबी छाडेका छैनन् ।
कांग्रेस युवा नेता तथा क्षेत्र नम्बर ७ बाट महाधिवेशन प्रतिनिधि दक्ष पौडेलले वडाध्यक्षका लागि दाबेदार चारै जना लोकप्रिय व्यक्ति रहेको र जसले टिकट पाए पनि आफूहरु जिताउन लाग्ने बताए ।
२०७४ र २०७९ सालको निर्वाचनमा कांग्रेसका मुकुन्द रिजाल वडाध्यक्ष निर्वाचित भएको यो वडा महानगरकै ठूलो मानिन्छ । हाल रिजालको निधनपछि एमालेका पुष्प महर्जन कार्यवाहक वडाध्यक्ष छन् । रिजालबाहेक चार वडा सदस्यमा एमालेले जितेको थियो ।