बौद्धमार्गीहरुलाई सहुलियत दरमा लुम्बिनी ल्याउन पहल गर्ने जजिरा एयरवेजका सीईओको प्रतिबद्धता (भिडिओ)
रुपन्देही । लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामासँग जजिरा एयरवेजका प्रमुख कार्यकारी अधिकृत (सीईओ) बराथन पशुपतिले लुम्बिनीमा भेटवार्ता गरेका छन् । भेटवार्तामा हवाई माध्यमबाट भगवान बुद्धको जन्मस्थल लुम्बिनीमा पर्यटक ल्याउने विषयमा छलफल भएको छ ।
उपाध्यक्ष लामाले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान सुरु गरेकोमा एयरवेजलाई धन्यवाद दिए ।
पशुपतिले संसारभरका बौद्धमार्गीहरुलाई सहुलियत दरमा लुम्बिनी ल्याउन सक्दो प्रयत्न गर्ने प्रतिबद्धता जनाएका छन् । उनले उडान सुचारु हुनु सकारात्मक भएको भए पनि नियमित उडानका लागि वैदेशिक रोजगारीमा जानेहरुका लागि श्रम र स्वास्थ्य परीक्षण जस्ता आवश्यक सुविधा भैरहवाबाट उपलब्ध गराउन पहल गरिदिन आग्रह गरे ।
भेटवार्तामा सहभागी रुपन्देहीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले यथाशीघ्र वैदेशिक रोजगारीमा जानेहरुका लागि आवश्यक सम्पूर्ण सुविधा उपलब्ध गराउने विषयमा पहल भइरहेको जानकारी दिए ।
भेटमा जजिरा एयरवेजका नेपाल प्रतिनिधि तथा कर्मचारीहरु, रुपन्देहीका सुरक्षा प्रमुखहरुको सहभागिता रहेको थियो ।