शक्ति गौचन बने यू-१९ क्रिकेट टोलीको मुख्य प्रशिक्षक – Nepal Press

शक्ति गौचन बने यू-१९ क्रिकेट टोलीको मुख्य प्रशिक्षक

रुपन्देही । नेपाली क्रिकेटका लेजेन्ड खेलाडी शक्ति गौचन यू-१९ राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षक भएका छन् । भैरहवा निवासी गौचनले पहिलो पटक उमेर समूहको राष्ट्रिय टोली सम्हाल्ने अवसर पाएका छन् ।

नेपाल क्रिकेट संघ (क्यान)ले उनलाई यू-१९ टोलीको मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो । क्रिकेटबाट सन्न्यास लिएपछि रूपन्देहीमा आफ्नो एकेडेमी सञ्चालन गर्दै आएका गौचनले राष्ट्रिय टोली सम्हाल्ने अवसर पाएका छन् ।

उनको प्रशिक्षणमा नेपाली टोलीले नोभेम्बर २९ देखि डिसेम्बर ८ सम्म यूएईमा हुने एसीसी मेन्स यू-१९ एसिया कप खेल्नेछ । शक्ति पूर्व अलराउन्डर हुन् । उनी दायाँ हाते ब्याट्सम्यान र लेफ्ट आर्म स्पिन हुन् । उनले नेपाली राष्ट्रिय टोलीमा सन् २००२ जुलाईमा ओमानविरुद्धको खेलमा डेब्यु गरेका थिए ।

सन् २०१८ जुलाईमा शक्तिले नेदरल्यान्डविरूद्वको एक दिवसीय खेलपछि अन्तर्राष्ट्रिय क्रिकेट खेलबाट सन्न्यासको घोषणा गरेका थिए ।

शक्ति नेपाली क्रिकेट इतिहासमा अन्तर्राष्ट्रिय शतक प्रहार गर्ने दोस्रो खेलाडी हुन् । उनले इटालीविरूद्व सन् २००५ फेब्रुअरीमा आईसीसी विश्वकप छनोट चरणको सिरिजअन्तर्गत यो उपलब्धि हात पारेका थिए । उक्त खेलमा शक्ति १०३ बलमा १०६ रनसहित अवीजित रहेका थिए ।

शक्तिले सन् २०१८ मा एभरेस्ट प्रिमियर लिगपछि घरेलु क्रिकेटबाट समेत सन्न्यास लिएका थिए । पोखरा राइनोजबाट समूह चरणको अन्तिम खेलपछि उनले सबैखाले क्रिकेटबाट सन्न्यास लिएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर