विभागीय मन्त्री रहेको बेला सहकारी नियमनको कानून बनाउन खोज्दा केपी ओलीले रोके: चित्रबहादुर केसी – Nepal Press

विभागीय मन्त्री रहेको बेला सहकारी नियमनको कानून बनाउन खोज्दा केपी ओलीले रोके: चित्रबहादुर केसी

रुपन्देही । राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री चित्रबहादुर केसीले सरकारले सहकारी ठगहरुलाई संरक्षण गरेको आरोप लगाएका छन् । मन्त्रालयबाट कानूनी प्रक्रिया मिलाएर सहकारी ठगिएको नेता केसीको दाबी छ ।

बुटवलमा शनिबार सम्पन्न राष्ट्रिय सहकारी अभियानको दोस्रो राष्ट्रिय भेलामा बोल्दै उनले सरकार र सत्तामा बस्नेहरुको आडमा नै सहकारीको पैसा अपचलन भएको बताए ।

लुटेरा, बदमास र तस्करहरुले राज्यसत्ताको आडमा मनोमानी गर्दा पनि कारबाही हुन नसक्नु नेपाल र नेपालीको लागि दुर्भाग्य रहेको उनको भनाइ थियो ।

राम्रोसँग खोजी गरे एमाले, कांग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टीमा अझै सहकारी अपचलन गर्नेहरु भेटिने बताउँंदै नेता केसीले सहकारी अपचलन गर्ने जोसुकैलाई पनि हदैसम्मको कारबाही गरी पीडित पक्षलाई न्याय दिनुपर्ने आफ्नो प्रस्ट धारणा रहेको बताए ।

एमाले, माओवादी, कांग्रेसको राजनीति भनेको कमाउने राजनीति भएकाले उनीहरु ठूला र धेरै हुँदाहुँदै पनि जनताबाट नांगिँदै गएको र नयाँं बनेर आएका विदेशी एजेन्टहरुले ठग्नेमा पुराना एमाले र कांग्रेसलाई जितेको उनको आरोप थियो ।

नेता केसीले आफू उपप्रधान तथा सहकारीमन्त्री हुँदा काठमाडौंका ठूल्ठूला सहकारी ठगहरुले सहकारीका साधारणसभा उद्घाटनका लागि निम्ता दिन आएको स्मरण गर्दै सहकारी ठग्ने मान्छेहरुलाई राज्य सत्तामा बस्ने मान्छेहरुले संरक्षण गर्ने गरेको थाहा पाएपछि सजगता अपनाउन थालेको बताए ।

सहकारी मन्त्रलायमा सहकारी दर्ता गर्दा नै पैसा खाने गरेको आफूले भेटाएको बताउंँदै उनले गलत मान्छेलाई कारबाहीका लागि २०४८ को सहकारी ऐन परिवर्तन गरेर नयाँ ऐन ल्याउने बेला तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली बाधक बनेको आरोप लगाए ।

एमाले, कांग्रेस र माओवादीको गलत नीति र गलत व्यवहारका कारण राजनीतिप्रति जनताको वितृष्णा पैदा भएको उनको भनाइ छ । ठूला भन्ने दलका नेताहरुले राजनीतिलाई कमाइ खाने भाँडो बनाएको उनले आरोप लगाए ।

नेता केसीले संघीयताका कारण यो व्यवस्था भत्किन सक्ने बताउँदै हिजो गणतन्त्र ल्याउन लडेकाहरुबाटै लोकतन्त्र, गणतन्त्र धरापमा परेको प्रस्ट हुँदै गएको दाबी गरे ।

राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टले सहकारीको २ खर्बको पुँजी ठगी भएको र एक लाखभन्दा बढी बचतकर्ता सडकमा आएको बताउंँदै सहकारीको पैसा विदेश लगेर व्यक्ति विशेषले मोजमस्ती गरेको औंल्याए ।

सहकारीको पुँजी उत्पादन क्षेत्र र राष्ट्रिय पुँजीसँग जोड्नु नसक्दा समस्या परेको उनको भनाइ छ ।


प्रतिक्रिया

One thought on “विभागीय मन्त्री रहेको बेला सहकारी नियमनको कानून बनाउन खोज्दा केपी ओलीले रोके: चित्रबहादुर केसी

  1. ६ सयभन्दा बढी जेलमा छन् । ती चाहिँ कसले समातेका ? तिमीले ? काँग्रेस माओवादीको जुठो खाएको । बोल्दा ओकली हाल्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर