पुरुष यू-१९ एसिया कपका लागि नेपाली टोलीको घोषणा
काठमाडौं । पुरुष यू-१९ एसिया कप २०२४ को लागि नेपाली टोलीको घोषणा गरिएको छ ।
नेपाल क्रिकेट सङ्घ (क्यान)ले शनिबार एसियन क्रिकेट काउन्सिल (एसीसी)को आयोजनामा हुन लागेको यू-१९ एसिया कपको लागि नेपाली टोली घोषणा गरेको हो ।
हेमन्त धामीको कप्तानीमा १८ सदस्यीय टोलीको घोषणा गरिएको हो । जसको उपकप्तानमा अर्जुन कुमाल रहेका छन् । नेपाली टोलीमा आकाश त्रिपाठी, उत्तम थापा, मयन यादव, नरेन साउद, युनिस विक्रम सिंह ठकुरी, नरेन भट्ट, सन्तोष यादव रहेका छन् ।
त्यस्तै युवराज खत्री, रोशन विक, विपिन महतो, राजेश यादव, दयानन्द मण्डल, अपराजित पौडेल, अभिषेक तिवारी, दिलसाद अलि र रञ्जित कुमारलाई पनि टोलीमा समावेश गरिएको छ ।
टोलीको प्रमुख प्रशिक्षकमा शक्ति गौचन र सहायक प्रशिक्षकमा धिरेन्द्र चन्दले जिम्मेवारी पाएका छन् ।
पुरुष यू-१९ एसिया कप २०२४ आगामी मंसिर १४ गतेदेखि युनाइटेड अरब इमिरेट्स (यूएई)मा आयोजना हुँदैछ । एसिया कपमा घरेलु टोली यूएई, नेपालसहित आठ राष्ट्र सम्मिलित छन् । आठ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’मा भारत, पाकिस्तान, जापान र यूएई छन् । समूह ‘बी’मा नेपालसहित श्रीलङ्का, बङ्गलादेश र अफगानिस्तान रहेका छन् ।
नेपालले मंसिर १४ गते हुने पहिलो खेलमा श्रीलङ्काको सामना गर्नेछ । मंसिर १६ गते बङ्गलादेश र मंसिर १८ गते अफगानिस्तानसँग प्रतिस्पर्धा गर्नेछ ।
दुबै समूहबाट दुई-दुई टोली सेमिफाइनलमा पुग्नेछन् । मंसिर १९ गते बुधबार सेमिफाइनलको खेल हुनेछ । सेमिफाइनलबाट दुबै समूहबाट एक-एक टोली फाइनलमा पुग्नेछन् । सेमिफाइनलबाट फाइनमा पुग्ने दुई टोलीबीच मंसिर २१ गते उपाधि भीडन्त हुनेछ । खेल मंसिर २३ गतेसम्म चल्नेछ ।