गौतमबुद्ध विमानस्थलबाट पुन: अन्तर्राष्ट्रिय उडान- निजी क्षेत्र उत्साहित, यात्रु तथा आफन्त प्रफुल्लित – Nepal Press

गौतमबुद्ध विमानस्थलबाट पुन: अन्तर्राष्ट्रिय उडान- निजी क्षेत्र उत्साहित, यात्रु तथा आफन्त प्रफुल्लित

रुपन्देही । रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट शनिबारदेखि ४ विमान कम्पनीले नियमित उडान भर्न थालेपछि यस क्षेत्रमा खुसीयाली छाएको छ । शुरुवाती उडान भरेर केही समयदेखि प्राविधिक कारण देखाउँदै उडान रोकेको कुवेतको जजिरा एयरवेजले शनिबार बिहान र फ्लाई दुबईले दिउँसो फेरि उडान थालेका छन् ।

विमानस्थल २०७९ जेठ २ गते उद्घाटन भएर अहिलेसम्म पूर्ण रुपमा सञ्चालन हुन सकेन । जजिराले साढे दुई वर्षअघि विमानस्थल उद्घाटनसँगै उडान सुरु गरेको थियो । १० महिनापछि फेरि जजिराले भैरहवा-कुवेत उडान सेवा थालेको छ । जजिराले शनिबारदेखि कुवेत-भैरहवा सीधा उडान सुरु गरेको हो । विमानस्थलमा अवतरण भएको जजिराको विमानलाई पानीको फोहोराले स्वागत गरिएको थियो ।

शनिबार बिहान ७ः४० बजे १७१ यात्रुसहित भैरहवा विमानस्थलमा अवतरण गरिएको जजिराको विमान १६८ यात्रु लिएर कुवेत प्रस्थान गरेको विमानस्थलका सूचना अधिकारी विनोदसिंह राउतले जानकारी दिए ।

भैरहवा विमानस्थलबाट यसअघि थाइल्यान्डको वायुसेवा कम्पनी थाई एयर एसियाले नियमित उडान सुरु गरिसकेको छ । शनिबार एकै दिन जजिरासहित नेपाल एयरलाइन्स र फ्लाई दुबईले उडान सुरु गर्ने तालिका रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ ।

नेपाल एयरलाइन्सले शनिबार रातिदेखि काठमाडौं-भैरहवा-दुबई-काठमाडौं सातामा चार दिन आइतबार, सोमबार, बुधबार र शुक्रबार उडान गर्ने तालिका रहेको सूचना अधिकारी राउतले बताए । त्यस्तै संयुक्त अरब इमिरेट्स (यूएई)को फ्लाई दुबईले शनिबार मध्यान्हदेखि साताको सातै दिन दुबई-भैरहवा-काठमाडौं-दुबई एक उडान थालेको छ ।

प्रफुल्लित यात्रु तथा आफन्त

शनिबार बिहान जजिराको जहाज भैरहवामा अवतरण हुन निकै खुशी भएको सुनाए यात्रुले । रुपन्देही देवदहका सिजन रानाले भैरहवा झर्न भनेर पहिलो टिकट लिएको सुनाए ।

‘१०-१५ वर्ष जति भयो म दुबईमा बस्न थालेको, जहिले पनि काठमाडौं हुँदै आउन परेको थियो । जजिरामा आज आउन भनेर नै उत्साहित भएर हामीले पहिलो टिकट लिएका हौं’, उनले भने ।

रुपन्देही तिलोत्तमा- ११ भूपू सैनिकटोलका झमबहादुर पुनले भैरहवा झर्न जजिराकै उडान पर्खिरहेको बताए । ‘कहिले काठमाडौं, कहिले दिल्ली हुँदै आउन परेको थियो । अहिले भैरहवा झर्न पायौं । अब नियमितता होस्, नेपाल आउन जजिराकै उडान पर्खिरहेको थिएंँ, आउन पाइयो, यसमा निकै खुसी छु, आफ्नै क्षेत्रमा ओर्लन पाउँदा, खर्चको पनि बचत भयो’, उनले भने ।

कुवेतबाट आएका बुटवल बेलबासका सन्तोषबहादुर क्षेत्रीले दोस्रो पटक भैरहवा झर्न पाउँदा खुशी भएको सुनाए । ‘काठमाडौंभन्दा यहाँ झरेर घर जान धेरै सजिलो भयो’, सन्तोषले भने ।

सन्तोषलाई स्वागत गर्न विमानस्थल पुगेकी उनकी श्रीमती लक्ष्मी पनि उस्तै खुसी थिइन् । ‘काठमाडौं भए हामीलाई लिन जान पनि असहज हुन्थ्यो । यहाँ नजिकै लिन आउन पाइयो’, उनले भनिन् ।

गुल्मीकी गीता सुनुवार दुबईबाट कुवेत हुँदै भैरहवा आइन् । ‘जाँदा काठमाडौंबाट जानुपरेको थियो । आउँदा भैरहवा नै झर्न पाइयो, घर आउँदा नजिकै झर्न पाउँदा निकै खुशी र रमाइलो लागेको छ । काठमाडौंभन्दा भैरहवाको भाडा पनि सस्तो भएकाले धेरै सहज भएको छ, अब यसले निरन्तरता पाओस्’, गीताले भनिन् ।

उनीहरु जस्तै भैरहवा ओर्लेका सबै यात्रु र लिन पुगेका आफन्तको अनुहारमा उस्तै चमक देखिन्थे ।

उत्साहित निजी क्षेत्र

शनिबार एकै दिन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई विदेशी र एक स्वदेशी एयरलाइन्सले अन्तर्राष्ट्रिय उडान सुरु गरेपछि यहाँका पर्यटन व्यवसायीहरु उत्साहित छन् ।

भैरहवा विमानस्थलबाट नियमित रुपमा अन्तर्राष्ट्रिय उडानले यस क्षेत्रको पर्यटनले फड्को मार्ने विश्वास लिएको भैरहवाका पर्यटन व्यवसायी अमितकुमार गुप्ताले बताए ।

‘विमानस्थल निर्माणमा अर्बौं लगानी भइसकेको छ र त्यही हेरेर यस क्षेत्रको पर्यटन क्षेत्रमा पनि व्यवसायीहरूले उस्तै लगानी गरेका छन्, तर अहिलेसम्म प्रतिफल पाउन सकेका छैनन्’, उनले भने, ‘विमानस्थललाई हेरेर भएको यस क्षेत्रमा अर्बौं लगानी र धराशायी भएको पर्यटन क्षेत्र उकास्न सरकारले यी चारबाहेक अन्य वायुसेवा कम्पनीहरूलाई पनि भैरहवा विमानस्थलमा ल्याउनुपर्छ ।’

गौतमबुद्ध विमानस्थलका महाप्रवन्धक प्रतापबाबु तिवारीले काठमाडौंको विमानस्थल निर्माणका लागि मात्रै भैरहवा चलाउन नखोजिएको स्पष्ट पारे । अहिले सञ्चालन भएका विमान कम्पनीले यहाँबाट नियमित सेवा दिने उनले जानकारी दिए ।

‘एक घन्टामा दुई जहाज व्यवस्थापन गर्ने यहाँको क्षमताअनुसार चलाउन सबै तयारी गरिएको छ, यो काठमाडौं निर्माणको समयमा मात्रै चलाइएको भनेर गलत सन्देश दिने गरी चलाइएको होइन, अब यसैगरी नियमित चल्नेछ’, उनले भने ।

यसअघि कार्तिक १८ गते यहाँबाट उडान थालेको थाई एयर एसियाको विमान शुक्रबार मध्यान्ह दोस्रो पटक यहाँ अवतरण गरिएको थियो । आउँदो साताबाट थाइ एयर एसियाले सोमबार र बिहीबार उडान गर्ने तय भएको छ ।

काठमाडौंपछिको पहिलो अन्तर्राष्ट्रिय विमानस्थल गौतमबुद्धलाई नै लक्षित गरेर निजी क्षेत्रले ६० अर्ब रुपैयाँभन्दा बढी लगानी गरेको बताउँछन् नेपाल उद्योग वाणिज्य महासङ्घ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्णप्रसाद शर्मा । होटलमा मात्र होइन, होटल निर्माणदेखि सेवा तथा पर्यटन क्षेत्रसँग सम्बन्धित विभिन्न निर्माण सामग्री विक्रेता, साजसज्जाका सामान बिक्री गर्ने ठूला व्यवसायिक प्रतिष्ठानका साथै अन्य व्यवसायमा पनि यहाँ अर्बौं लगानी भएको उनी बताउँछन् ।

विमानस्थललाई नै लक्षित गरी भैरहवा, लुम्बिनीलगायतका क्षेत्रमा साना-ठूला गरी १४६ वटा होटल सञ्चालनमा छन् । यिनीहरूमा करिब ३५ अर्ब लगानी भएको सिद्धार्थ होटल एसोसिएयसनका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठ बताउँछन् । थप २० अर्ब बढीका होटल निर्माणाधीन अवस्थामा रहेको उनले बताए ।

भैरहवा विमानस्थल चलायमान हुँदा जिल्लास्थित निजी क्षेत्रलाई धेरै लाभ हुने बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद अर्याल बताउँछन् । त्यसैले अन्तर्राष्ट्रिय उडानलाई निरन्तरता दिन राज्यसँगै निजी क्षेत्रले आआफ्नो क्षेत्रबाट भूमिका खेल्नुपर्ने र अब यसको नियमित सञ्चालनको विकल्प नभएको उनले बताए ।

विश्लेषक युवराज कँडेल यो क्षेत्रलाई चलायमान गराउन आन्तरिक हवाई कनेक्टिभिटी हुनुपर्ने र कम्तीमा पनि भैरहवादेखि जुम्ला, सिमकोट, जोमसोम, जनकपुर जहाज उडाएर नेपाल घुमौं भन्ने अभियान चलाउनुपर्ने बताउँछन् ।

विभिन्न वायुसेवा कम्पनीले चासो देखाए पनि उडान नियमित हुन नसक्दा विमानस्थल निर्माण गर्दाको लागत र विमानस्थललाई मध्यनजर गरी विभिन्न क्षेत्रमा लगानी गरेका व्यवसायीहरु निराश बन्दै गएका बेला अन्तर्राष्ट्रिय उडानले आशाको सञ्चार गरेको नेपाल एसोसियसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाटा) का लुम्बिनी प्रदेश पूर्वअध्यक्ष सागर अधिकारी बताउँछन् ।

उनले अन्तर्राष्ट्रिय उडानलाई निरन्तरता दिन सबैले हातेमालो गर्न जरुरी रहेको बताए ।

लुम्बिनी विकास कोषका सूचना अधिकारी डा. हरिध्वज राईले गौतमबुद्ध विमानस्थल लक्षित समूह नै बुद्धमार्गी भएकाले यहाँबाट चीन, भारत, श्रीलङ्का, थाइल्यान्ड जस्ता देशमा नियमित सीधा उडानलाई निरन्तरता दिन सकेमा लुम्बिनीमा बाह्य पर्यटकको संख्यामा उल्लेख्य वृद्धि हुने बताए ।

विमानस्थलमा अन्तर्राष्ट्रिय उडान नियमित सञ्चालन गर्न स्थानीय विभिन्न संघसंस्थाले धर्नादेखि प्रधानमन्त्रीलाई ज्ञापनपत्रसमेत बुझाएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *