बजारमा नेपाली स्याउको वर्चश्वः चिनियाँ र भारतीय स्याउ विस्थापित – Nepal Press

बजारमा नेपाली स्याउको वर्चश्वः चिनियाँ र भारतीय स्याउ विस्थापित

बुटवलमा मात्रै जुम्लाको ६ करोड र मुस्ताङको १५ करोडको स्याउ बिक्री

रुपन्देही । विगतका वर्षहरुमा बजार नपाएर समस्या पर्ने नेपाली स्याउले यो वर्ष निकै राम्रो बजार पाए । उपभोक्तामा बढ्दो सचेतना, नेपाली स्याउको उत्पादन, ग्रेडिङ र प्याजिङमा सुधार आएसँगै यसअघि बजार जमाएका भारतीय र चिनियाँ स्याउको बजार खस्केको हो । मुस्ताङ र जुम्लाका स्याउले अहिले राम्रो बजार पाएका छन् ।

जुम्लाको स्याउ करिब सकिएपनि अहिले पनि मुस्ताङको स्याउले उसैगरी ग्राहकको ध्यान तानिरहेको छ । यसपटकको दसैँ, तिहार र छठजस्ता मुख्य पर्वमा नेपाली बजारमा जुम्ला, मुस्ताङ र हुम्लाका स्याउले बजार जमाउन सफल भएको व्यवसायीको भनाइ छ ।

छठ पर्वसम्म रुपन्देहीमा मात्रै व्यवसायीहरुले ६ करोडभन्दा बढीको जुम्ला र १५ करोड बराबरको मुस्ताङको स्याउ बेचिसकेका छन् । अहिले पनि मुस्ताङको स्याउले बजार जमाइरहेको देखेर व्यवसायीहरु दंग छन् ।

नेपाली बजारमा जुम्ला, मुस्ताङ, हुम्लाका स्याउ सहजै भित्रिएपछि विदेशी स्याउको बजार कमजोर भएको र उपभोक्ताले पनि सहजैरुपमा नेपाली स्याउ पाएपछि खुसी भएको व्यवसायीहरुको भनाइ छ ।

रुपन्देहीमा चार महिनामा कर्णाली प्रदेशका जुम्लासहित विभिन्न जिल्लामा उत्पादन भएको स्याउमध्ये करिब ६ करोडभन्दा बढीको बिक्री भएको र किसानले प्रत्यक्ष बेचेको यसमा हिसाब नभएको लुम्बिनी फलफूल व्यवसायी संघका अध्यक्ष बाबुराम भुसाल बताउँछन् । उनका अनुसार बिगतका वर्षभन्दा यो वर्ष नेपाली स्याउले निकै राम्रो बजार पाएको हो ।

कर्णालीको जुम्ला, कालीकोट, डोल्पा, मुगु, हुम्लालगायत जिल्लामा उत्पादन भएको अर्गानिक स्याउ भदौदेखि कार्तिकसम्म बुटवललाई केन्द्र मानेर आउने गर्दछ ।

तीन महिनाको अवधिमै ६ करोड रुपैयाँको बराबरको कारोबार भएको दाजुभाई फ्रुट सेन्टरका संचालक भीमकान्त पन्थीले बताए । बुटवलमा सबै व्यवसायीले यो पटक नेपाली स्याउलाई प्राथमिकताका साथ बेच्ने गरेका पन्थीले बताए । बुटवल लगायत देशभरका वजारमा स्वदेशी स्याउ बजारमा आएपछि भारत र चीन दुवै ठाउँबाट आउने स्याउको बिक्री निकै कम भएको उनको भनाइ छ ।

भारत र चीनबाट भित्रिएको स्याउको मूल्यको तुलनामा नेपाली स्याउको मूल्य पनि कम हुनुका साथै स्वच्छ भएको हुँदा नेपाली स्याउले राम्रो बजार लिन सफल भएको उनको निचोड छ । चीन र भारतको स्याउ बढी खपत हुने गरेको बुटवलमा अहिले जुम्ला र मुस्ताङको स्याउले जताततै बजार पाएको र व्यवसायी पनि नेपाली उत्पादन बेच्न पाउँदा खुसी भएको गौसिया फ्रुट सेन्टरका संचालक मोहम्मद याकुबले बताए ।

बुटवल कृषि उपज व्यवस्थापन समितिको अध्यक्ष घनश्याम भुसालले नेपाली स्याउले अहिलेसम्मकै सबैभन्दा धेरै बजार पाएको बताए । अहिलेका मुख्य पर्वहरुका बिक्री भएको स्याउमध्ये ७० प्रतिशतभन्दा धेरै नेपाली स्याउ बिक्री भएको र बजारमा नेपाली स्याउको माग उच्च रहेकाले आफूलाई निकै खुसी लागेको उनको भनाइ छ ।

बुटवल क्षेत्रबाट मात्रै ६ करोडभन्दा बढी जुम्ला र १५ करोड बराबरको मुस्ताङको स्याउ बिक्री भएको अध्यक्ष भुसालले बताए । जुम्लाको उत्पादन करिब सकिन थालेपनि र मुस्ताङको स्याउले अहिले पनि राम्रो बजार पाएको भुसाल बताउँछन् ।

“नेपाली स्याउको बजार सोचेभन्दा राम्रो भयो, तिहार र छठसम्म बुटवलमा विक्री भएका स्याउमध्ये ७० प्रतिशतभन्दा बढी स्याउ नेपाली विक्री भयो, पहिले जुम्लाबाट आउने स्याउ प्याकेजिङमा समस्या थियो, अहिले सुधार भएको छ, ग्रेडिङमा अझै ध्यान दिनुपर्छ, मुस्ताङको त कुनै समस्या छैन, खाँदा पनि चीनको फुजीभन्दा धेरै मिठो छ’ भुसालले भने–‘मुस्ताङको स्याउ होलसेलमै २ सय २० प्रतिकेजी बिक्री भइरहेको छ, जुम्लाको पनि १ सय ५० सम्म गयो ।’ चीनसँगको नाका बन्द हुँदा यसको फाइदा नेपाली स्याउले बजार पाएको र अब नेपाली उत्पादनलाई नै प्रोत्साहन गर्नुपर्ने उनको भनाइ छ ।

जुम्लाको स्याउको तुलनामा मुस्ताङको स्याउको बजार मूल्य राम्रो रहेको उनले बताए । जुम्लाको स्याउ प्रतिकिलो १००देखि १५० र मुस्ताङको स्याउ ग्रेडिङ गरेर प्रतिकिलो ३०० देखि ३२० रुपैयाँसम्ममा बजारमा बिक्री भएको अध्यक्ष भुसाल बताउँछन् । यही तहको चिनियाँ र भारतको स्याउको प्रतिकिलो मूल्य ३०० देखि ३५० सम्म रहेकाले पनि नेपाली उत्पादनलाई सहज भएको उनको भनाइ छ ।

यस्तै लुम्बिनी फलफुल व्यवसायी संघका अध्यक्ष बाबुराम भुसालले पनि यस पटक भारतीय स्याउको तुलनामा बुटवलबाट धेरै नेपाली स्याउको बिक्री भएको बताउँछन् । उनले विदेशी स्याउको तुलनामा मूल्य पनि कम रहनुका साथै नेपाली स्याउमा विषादीको प्रयोग नभएकाले स्वास्थ्यका लागि पनि फाइदाजनक रहेको बताए ।

“यसपटकको पर्वहरुमा बुटवलको बजारमा नेपालमा उत्पादन भएको जुम्ला, मुस्ताङ, हुम्लाका स्याउ धैरे बिक्री भएको छ । मूल्य पनि सस्तो स्वास्थ्यका लागि पनि राम्रो नेपाली स्याउ छ, अब किसानलाई उत्पादनमा र व्यवसायीलाई यसको ग्रेडिङमा ध्यान दिन लगाउनुपर्दछ र बढी उत्पादन भएको स्टोर गरेर अफसिजनमा बेच्ने व्यवस्था गरिनुपर्दछ” उनले भने ।

यो पटक व्यवसायीहरुले पनि विदेशीभन्दा पनि नेपाली स्याउलाई प्राथमिकता दिएर बिक्री वितरण गर्ने अध्यक्ष भुसाल बताउँछन् । व्यवसायीहरुले पसलमा जुम्ला र मुस्ताङको स्याउ नै माग्न थालेपछि अन्य स्याउ राख्नै छाडेको बताउँछन् ।

बुटवलस्थित कृषि उपज केन्द्रमा कर्णाली र मुस्ताङबाट सिधै व्यापारीले स्याउ पठाउन थालेपछि यसको व्यापार फस्टाएको हो । रुपन्देहीमा मात्र नभई नेपालसँग सीमा जोडिएको भारतको सुनौली, नौतनुवासम्म पनि नेपाली स्याउ बिक्री भइरहेको व्यवसायीहरु बताउँछन् ।

लुम्बिनी कृषि बजार प्रालिका अध्यक्ष भिकामान्त पन्थीले निजी क्षेत्रबाट स्थापना भएको बजार नेपालकै ठूलो र नमुना बजार भएको भन्दै यसको लागि सरकारी निकायबाट सहुलियतरुपमा विद्युत्, खानेपानीलगायतका आधारभूत आवश्यकतामा समेत विशेष छुट दिनपर्ने माग गरे ।

किसानको उत्पादन बजारीकरणको लागि स्थापना भएका उद्योगहरुको योगदान उच्च रहेको तर यसमा स्थानीय निकाय, प्रदेश र संघीय सरकारको सहकार्य, योगदान शून्यजस्तै भएको गुनासो गरेका थिए । प्रतिनिधिसभा सदस्य तथा जुम्लाको स्याउ प्रवद्र्धनको अभियानमा लागेका सांसद ज्ञानेन्द्रबहादुर शाहीले नेपाली उत्पादन बृद्धि गर्नुपर्ने र नेपाली उत्पादन प्रयोगमा जोड दिनुपर्ने बताएका छन् ।

केही समयअघि बजार प्रवद्र्धन गर्न रुपन्देही आएका उनले नेपाली जनताले पछिल्लो समयमा नेपाली उत्पादन प्रयोग, उपभोगमा समेत विस्तारै बृद्धि हुँदै गएको भन्दै देशभरका किसानहरुको समस्या सुन्नको लागि आफू देश दौडाहामा निस्किएको बताएका छन् । सांसद शाहीले अब किसानले आआफ्नो स्थानबाट सजग भएर नेपाली उत्पादनको ब्रान्डिङ्गमा जोड दिनुपर्ने बताए ।

‘कर्णालीको स्याउ गतवर्षभन्दा दोब्बर बढी बिक्री भयो, आफ्नै देशको उत्पादन, मूल्य पनि सस्तो, गुणस्तर र स्वाद पनि राम्रो भएकाले उपभोक्ताले स्वदेशी स्याउलाई माया गरेका छन्’ उनले भनेका छन् । अहिले कर्णालीमा सामूहिक स्याउ खेती गर्न थालेपछि उत्पादन वृद्धि हुने आशा पलाएको शाहीले बताए ।

उत्पादन हुने ठाउँमा स्याउको उत्पादन बढाउने हो भने फलफूल व्यवसायीले स्वदेशी स्याउलाई प्राथमिकता दिएर बिक्री वितरण गर्ने र यसबाट आयात प्रतिस्थापन तथा व्यापार घाटा कम गर्न योगदान पुग्ने उनको भनाइ छ ।

‘माग र खपतभन्दा बढी उत्पादन भएको अवस्थामा स्याउलाई भण्डारण गरी पछि बिक्री गर्न सकिने वातावरण बनाउन सरकारले ठाउँठाउँमा स्तरीय शीत भण्डारण स्थापना गरी किसान र व्यवसायीलाई प्रोत्साहन गर्न आवश्यक छ, अब खोक्रा भाषण होइन उत्पादनमुखी क्षेत्रमा लगानी बढाउँ’ उनले भने ।

किसान, व्यवसायी, संघसंस्थाका प्रतिनिधिहरु समस्या समाधानको लागि संघीय संसदमा पहल गर्ने प्रतिवद्धता जनाउँदै उनले यसको लागि किसानको पक्षमा जस्तोसुकै मूल्य चुकाउन पनि तयार भएको बताए । उनले भने–‘नेपालमा प्रशासनिक संयन्त्र, यस्तो बनाइएको छ, जहाँ एकल प्रयासबाट संभव छैन, यसको लागि हामी सबै हातेमालो गर्न तयार हुनुपर्छ, म किसानहरुको पक्षमा छु ।’

‘अहिलेको उत्पादनले नेपाली बजारलाई तीन महिनालाई मात्र धानेको छ, सरकारले प्रोत्साहन गर्ने हो भने अहिलेको दोब्बर क्षेत्रफलमा स्याउ खेती गरी उत्पादन पनि दोब्बर लिन सकिन्छ,’ शाहीले भने, ‘उत्पादन बढाई चिस्यान केन्द्रमा राख्ने हो भने नेपालको कूल स्याउ बजारको ६ महिनालाई नेपाली उत्पादनले धान्ने सम्भावना र अवसर छ ।’ अहिलेसम्म किसान र केही व्यवसायीले आफ्नो हिसाबले स्याउ खेती गरिरहेका तर सरकारको ठोस भूमिका नभएको शाहीले औंल्याएका छन् ।

सरकारले स्याउ खेतीलाई प्राथमिकतामा राखेर प्रोत्साहनमूलक नीति र कार्यक्रम लागू गरी सिंगो कर्णाली प्रदेश, सुदूरपश्चिमका केही र गण्डकीको मुस्ताङसहितका केही जिल्लालाई ‘स्याउ हब’ बनाउने हो भने अहिलेको उत्पादन दोब्बर गरी सिंगो देशलाई ६ महिनासम्म पुग्ने स्याउ नेपालमै उत्पादन गर्न सकिने शाही बताउँछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *