बेसहाराको सहारा बनेका गणेश
बाजुरा । ‘कोही नहुनेहरूको पनि कोही हुन्छन्’ भन्नेहरूले त सधैँ यस्तै भन्छन् तर,सबैले कोही नहुनेहरूको आफू हुने जिम्मेवारी पुरा गर्न सक्दैनन् ।
बुवा नहुनेहरूको बुवा भएर, आमा नहुनेहरूको आमा भएर र बुवा आमा दुवै नहुनेहरूको दुवै भएर अहिले १९ जना बालबालिकाहरूको सहारा बनिरहेका छन् बाजुराका ३१ वर्षका गणेश थापा ।
आफ्ना सन्तान सबैलाई प्यारा लाग्छन्। तर, उनले झन्डै एक दशकदेखि अरू कै सन्तानलाई पनि आफ्नै सन्तान जस्तै गरी माया दिएका छन्, स्नेह दिएका छन् र सबैको बुवा बनेका छन् ।
‘आफ्ना सन्तानलाई सबैले माया गर्छन्, खुसी बनाउन हर कोसिस गर्छन्। तर, जो अभिभावकविहीन छन्, तिनै बालबालिकाको अभिभावक बनेको छु’ उनी भन्छन्, ‘बुवा आमा गुमाएका बालबालिकाहरूले निकै अभाव, समस्या र दुःख भोग्नुपर्ने अवस्था छ । त्यो अवस्था हटाउन काम सुरु गरेको हुँ।’
यसरी सुरु भयो योजना
गाउँबाट एसएलसी सकेर थापा उच्च शिक्षाका लागि काठमाडौं पुगे। त्यति वर्ष भूकम्प गयो। काठमाडौँसहित आसपास क्षेत्र बढी समस्या परे। थापा भूकम्पपीडितको उद्धार र राहतमा खटिए। भूकम्पबाट बढी प्रभावित र पीडामा कोही नभएका, आफन्त गुमाएका र अनाथ बालबालिका नै बढी भेटे।
त्यति बेला अनाथ बालबालिकालाई सहयोग बढी खाँचो हुन्छ भन्ने उनले महसुस गरे। उनी सहयोगमा पनि विशेष गरी बालबालिकालाई नै गर्न थाले। लामो समय काठमाडौं बस्न नसकिने भएपछि त्यही बेला उनी जन्मघर बाजुरा फर्किए।
घर फर्किए लगत्तै उनले अनाथ बालबालिकालाई सहयोग गर्ने कुरा स्थानीयलाई सुनाए । केहीले उनको योजनाको प्रशंसा गरे । केहीले त्यो काम त्यति सहज नभएको बताए । चुनौतीको पहाड देख्दा देख्दै उनले सुरु गरे अभिभावक गुमाएका बालबालिकाहरूको स्याहार ।
२०७२ सालमा कन्सन बाजुरा नामक संस्था जिल्ला प्रशासन कार्यालय बाजुरामा दर्ता गरियो। संस्थाको उद्देश्य छ– आमा–बुबा नभएका बालबालिकालाई सहयोग गर्ने।
‘भूकम्पपछिको बालबालिकाले भोग्नुपरेको पीडा र काठमाडौंमा बसेर बाजुराका भोक, अभाव, गरिबी र अनाथको बिचल्लीका समाचार पढिरहँदा बाजुरामै गएर अनाथ आश्रम बनाउने साहस आयो,’ गणेश भन्छन्।
तीन बर्ष उनले आफ्नै निजी घरलाई स्याहार केन्द्र बनाए । ८ जना बालबालिकालाई घरमै राखेर अभिभावक बनेका गणेशले त्यसपछि एउटा भवन निर्माण गरेर आफ्नो अभियानलाई अझै वृहत् र व्यवस्थित बनाउने योजना अगाडी सारे ।
तीन वर्ष घरमै रहेका बालबालिकाहरूले वसन्त बालमैत्री आधारभूत विद्यालयमा पढ्न सुरु गरे । उनका काकाले पढाउने विद्यालय भएकाले थप सहज भयो। सुरुका ती वर्षमा उनको सेवाबारे कमैलाई थाहा भएन । जब संस्थाकै नाममा घर निर्माण गर्न थाले अनि थापाको चौतर्फी चर्चा भयो।
६० लाखभन्दा बढीको लागतमा भवन निर्माण गरिएको हो । ५७ लाख भवन र ३ लाख बढी शौचालयका लागि लागत इस्टिमेट गरिएको थियो ।
भारतका विभिन्न सहरमा बस्ने नेपालीहरूमाझ पुगेर रकम संकलन गरेर अनाथ आश्रम बनाएका हुन् । थापाको योजना बुझ्ने देश विदेशमा रहेका नेपालीहरूले पनि भवनको लागि सहयोग गरेका थिए । स्थानीय पालिका,सरोकारवाला निकाय र व्यक्तिबाट पनि साथ पाएको हुँदा केही समयमै भवन बन्यो ।
हाल उनको आश्रममा १४ बालक र ४ बालिका छन् । कक्षा पाँचसम्म पढिरहेकाहरू नजिकैको वसन्त बाल मैत्री आधारभूत विद्यालयमा जान्छन् भने १० सम्म पढिरहेकाहरू ढुरालसैन मावि पुग्छन् । १२ पढ्दै गरेका एक विद्यार्थीलाई उनले काठमाडौँमा राखेर पढाइरहेका छन् ।
बालबालिकाको लालनपालनमा वार्षिक १५ लाख रुपैयाँसम्म खर्च हुने गरेको छ । सुरुका ७ वर्ष उनले आफ्नो व्यक्तिगत लगानीमा सबै चलाइरहेका थिए । पछिल्लो केही वर्षदेखि केही स्थानीय तहहरूले पनि सहयोग गरिरहेको उनी बताउँछन् ।
‘बुढिगंगा नगरपालिकाले ५ लाख दिने गरेको छ । अरू स्थानीय तहबाट पनि छिटपुट सहयोग हुन्छ’ उनी भन्छन् ‘त्यो सहयोगले धेरै सहज भएको छ तर, त्यो रकमले मात्रै यो केन्द्र भने चल्दैन ।’
यहाँ तीन महिनाको एक पटक अनिवार्य बालबालिकाको स्वास्थ्य परीक्षण हुन्छ ।
अनाथ आश्रम निर्माण गरेर बेसहाराको सहारा बनिरहेका उनी अन्य सामाजिक काममा पनि सक्रिय छन् । उनले जिल्लामा छाउप्रथा विरुद्धको अभियान पनि चलाएका थिए । अभियानअन्तर्गत सेनेटरी प्याड वितरण र विद्यालय शिक्षा कार्यक्रम गरे।