उपत्यकाका वानस्पतिक विविधता – Nepal Press
ब्लग

उपत्यकाका वानस्पतिक विविधता

काठमाडौं । काठमाडौं उपत्यका जनसंख्या, कला संस्कृति, इतिहास र प्राकृतिक स्रोतमा धनी तथा विशिष्ट छ। यही प्राकृतिक स्रोतको महत्त्वपूर्ण अंश रंगीन तस्बिर समेटेर भर्खरै एक पुस्तक लोकार्पण भएको छ ।

चार जना लेखकहरू मान बहादुर रोकाया, शालिक राम सिग्देल, सरोज कुमार कसाजु र ला दोर्ची शेर्पा रहेको उक्त पुस्तकको नाम ‘पलान्ट्स अफ काठमाडौँ भेली – अ पिक्त्टोरिअल गाइड ‘ रहेको छ। लेखकहरू मध्य रोकाया चेक एकाडेमी अफ साइन्स, चेक र सिग्देल चाइनिज एकाडेमी अफ साइन्स, चीनका शोधकर्ताहरू हुन् ।

उनीहरूले त्रिभुवन विश्वविद्यालय, काठमाडौँबाट वनस्पति शास्त्रमा स्नातकोत्तर गरेका हुन् । उनीहरूका लेख अन्तर राष्ट्रिय स्तरका ख्यातिप्राप्त वैज्ञानिक जर्नलहरूमा प्रकाशित हुने गर्छन् ।

त्यसैगरी कसाजु र शेर्पा प्रबल नागरिक वैज्ञानिकहरू हुन् । कामप्रतिको रुचि र अध्ययनमा सौखिन हुनेहरूलाई उमेर र विधाले अनुसन्धान गर्न छेक्दैन भन्ने गतिलो उदाहरण हुन् उनीहरू ।

झन्डै एक दशक भन्दा बढी समयको लगाव र सहकार्यबाट यो सरल, आकर्षक र बहु उपयोगी पुस्तक वनस्पति जगतले पाएको छ। तसर्थ, हाम्रो विज्ञान र समाज जोड्नलाई यो पुस्तक उपयोगी हुने देखिन्छ ।

५०० पृष्ठको पुस्तकको अध्याय १ मा काठमाडौँ उपत्यकाको भूगोल, अवस्थिति, इतिहास, हावापानी र संस्कृतिको संक्षिप्त परिचय छ भने अध्याय २ मा वानस्पतिक समुदाय र वनस्पतिका तस्बिरहरू लिएको स्थान उल्लेख छ।

खास गरी नागार्जुन, शिवपुरी, ककनी, टोखा, फर्पिङ, साँखु, गोदावरी, फूलचोकी, सुन्दरीजल, चिसापानी, नगरकोट, हात्तीवन, चन्द्रागिरी, नाला, गोकर्ण, सूर्यविनायक र बागमती नदी किनारामा रहेका वनस्पतिहरू समेटिएका छन् ।

अध्याय ३ मा पुस्तक कसरी पढ्ने भन्ने बताउँदै ८८५ वटा वनस्पतिहरूको तस्बिर, सूचनामूलक जानकारी र ७८ वटा सन्दर्भ सामाग्री सूचीकृत गरिएका छन् । ८८५ वटा फूल फुल्ने वनस्पतिहरू ४९१ जाति र १२० वानस्पतिक परिवारभित्र समेटिएका छन् ।

यसभित्र रहेका थुन्बर्जिया कसाजुएना र रुबस दोर्ची विश्व वनस्पति विज्ञानका लागि नयाँ प्रजातिहरू हुन् भने जसको वैज्ञानिक नामबाट क्रमशः लेखकहरू कसाजु र दोर्ची शेर्पाको योगदानलाई विश्वले सम्मान दिएको प्रस्ट हुन्छ ।

यसैगरी नेपाल फ्लोरा प्रकाशनका लागि ३ वटा प्रजातिहरूको थप योगदान यही उपत्यकाबाट भएको छ । पाठकहरूलाई वनस्पतिहरू चिन्न सजिलो होस् भनेर हरेक पानामा २ वटा वनस्पतिको मात्र परिचय दिएको छ । हरेक वनस्पतिलाई आवश्यकता हेरी ५ वटा सम्म (विभिन्न भाग र कोणहरूबाट खिचिएका) फोटोहरू जोडिएका छन् ।

साथै संक्षिप्त विवरण अन्तर्गत हरेक वनस्पतिको वैज्ञानिक नाम तथा पहिचान, वर्गीकरण , स्वरूप तथा बनावट, फूल तथा फल लाग्ने समय, वासस्थान तथा भौगोलिक वितरण र आर्थिक उपयोगिता पनि समेटिएको छ ।

पछिल्लो समय विश्वमा बोटानिस्टहरु र वनस्पतिहरू पनि हराउँदै गएको महसुस भइरहेको बेला यो पुस्तकले केही राहत दिएको छ, खास गरी युवा पुस्ता र पाराट्यक्सोनोमिस्टहरुलाई, वनस्पतिको पहिचान विज्ञानप्रति आकर्षण गराई ज्ञान हस्तान्तरण गर्न ।

यसका अतिरिक्त यो पुस्तकबाट प्रकृतिप्रेमी, शोधकर्ता, शिक्षक, किसान, बागबानीविज्ञ र पर्यटक गाइडहरू लाभान्वित हुन सक्छन् । जुन ग्लोबल ट्याक्सोनोमी इनिसिएटिभ (जिटिआइ) को मुख्य लक्ष्य पनि हो ।

संस्थागत रूपमा भन्नुपर्दा राष्ट्रिय हरबेरियम तथा वनस्पति प्रयोगशाला, राष्ट्रिय वनस्पति उद्यान, पुष्प विकास केन्द्र, इसिमोड, नेपाल पर्यटन बोर्ड, शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज, प्राकृतिक विज्ञान संग्रहालय, बागवानी विकास केन्द्र, आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभाग लगायत विभिन्न शैक्षिक, औद्योगिक तथा अनुसन्धानमूलक संस्थाहरूको लागि पुस्तक उपयोगी हुने देखिन्छ ।

पुस्तक राम्रो हुँदाहुँदै पनि सुधारका ठाउँहरू पनि छन् । खास गरी जलीय वनस्पति कमल – जुन हिन्दू तथा बौद्ध धर्ममा महत्त्वपूर्ण स्थान छ, वास्तवमा यो छुट्नु हुन्थेन । यसैगरी पृथ्वीको सबैभन्दा सानो फूल फुल्ने जलीय वनस्पति डकवीड (हंसझार) समावेश भएको भए थप कौतुहलता जाग्ने थियो, यद्यपि यो धानखेत, कुण्ड, पोखरीहरूमा मनसुन याममा सहजै पाइन्छ ।

यसैगरी पेज vii, ७५ मा सामान्य टाइप गल्ती छ, केही घाँस प्रजातिका तस्बिरहरू प्रस्ट छैनन् । अरू तस्बिरहरूमा पनि सकभर स्केल प्रयोग गरेको भए सुनमा सुगन्ध हुने थियो । आर्थिक उपयोगिताको उपशीर्षकमा १ – ७ लाइनसम्मको विवरणको असमानता देखिन्छ ।

एकरूपताको लागि सकभर बराबरी संख्याको लाइन र फिल्डको समुदायको प्रयोगको आधारमा राख्दा राम्रो हुन्थ्यो । सन्दर्भ सामाग्री अन्तर्गत फ्लोरा अफ काठमान्डू भ्याली हुनुपर्नेमा पलान्ट्स अफ काठमान्डू भ्याली भएको छ । हुन त लेखकहरूका पनि आफ्नै समय, सीमाहरू हुन्छन् ।

त्यसैले यहाँ लेखकहरूले अर्को खण्ड पनि प्रकाशोन्मुख छ भनेर लेखकीयमा संकेत गरेका छन् । उक्त खण्डमा फूल नफुल्ने वनस्पतिहरू उन्यू, च्याउ, झेउ, लेउले पनि न्याय पाउने छन् । अहिलेको प्रकाशन अनुभव र उत्साहबाट लेखकहरूको कलम र लेन्स अझ बढी तिखारिने र निखारिने छ भन्ने आशा छ ।

अन्त्यमा, लेखकहरूको दशकौँको मिहिनेत, समय, कभर पेज र पृष्ठहरूको गुणस्तर, अझ महत्त्वपूर्ण कुरा त वर्तमान समाजमा वनस्पतिको आधारभूत ज्ञान प्रवाहको हिसाबले हेर्दा पुस्तकको मूल्य रु. ३,१००/- स्वाभाविक देखिन्छ। यसको उत्साहजनक बिक्री वितरणबाट नयाँ संस्करण र खण्ड प्रकाशनको लागि लेखकहरूलाई थप ऊर्जा मिल्ने र दीर्घकालीन रूपमा वनस्पति विज्ञान र मानव कल्याणमा योगदान पुग्ने विश्वास छ ।

लेखकहरूलाई पुन अग्रिम शुभकामना !! वनस्पतय शान्ति: । शान्ति: । । शान्ति: । । ।

(रमेश बस्नेत उपसचिव वन बाेटानी, वन तथा वातावरण मन्त्रालय)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *