सांसदलाई मन्त्री बनाउने व्यवस्था हटाउनुपर्छ : प्रचण्ड
थाहानगर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको निर्वाचन प्रणाली र शासकीय स्वरूपमा परिवर्तन गर्नुपर्ने बताएका छन् ।
थाहा नगरको बज्रबारहीमा भएको पत्रकार सम्मेलनमा बोल्दै पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले शासकीय स्वरूपमा परिवर्तन नआइन्जेल नेपालमा स्थिरता कायम नहुने बताउँदै उनले अबको व्यवस्थामा सांसदलाई मन्त्री बनाउने व्यवस्था हटाउनु पर्ने र विज्ञ समूहबाट मन्त्री बनाउनुपर्ने बताए ।
निर्वाचन प्रणालीको स्वरूप परिवर्तन गर्दै प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको व्यवस्था ल्याउँदै देशमा स्थिरता कायम गर्नु आजको आवश्यकता रहेको र सोही विषयमा मात्र संविधान संशोधन हुनसक्ने उनले जिकिर गरे ।
अहिलेको सरकारले प्राप्त अधिकार र उपलब्धिलाई खोस्ने गरी संविधान संशोधन गर्न खोजेको देखिएको भन्दै प्रचण्डले माओवादीले उक्त अवस्था आउन नदिने दाबी गरे ।
सहकारी ठगीको विषयमा सरकारले राजनीतिक रूपमा प्रतिस्पर्धामा रहेको शक्तिलाई कमजोर बनाउने खेलमा सक्रिय भएको भन्दै आफ्नो र पराईको व्यवहार नगरी ठगीको विषयमा सबै पक्षमा अनुसन्धान हुनुपर्ने उनको भनाइ छ ।
भाटभोटेनीको विषयमा पहिले सधैँ आरोप आउने गरेको बताउँदै प्रचण्डले अहिले सबै नेपालीले मीनबहादुर कसको पार्टनर रहेछन् भनेर थाहा पाएको बताए ।
माओवादी सरकारबाट बाहिरिँदा आफूले काङ्ग्रेस-एमालेलाई धन्यवाद दिएको बताउँदै प्रचण्डले अब खुलेर जनतामाझ गएर आफूहरूको सरकारले गरेको उपलब्धि र अबको कार्यक्रमबारे जानकारी दिने समय मिलेको बताए ।
Pagal kahile k bhanchha kahile k?