तरबारको एक छप्का जसले २० वर्षसम्म छोडेन मनाङेको कठालो
चारखाल जेलभित्र मनाङे आफैँले बनाएका छन् दुईकोठे टहरा
काठमाडौं । गण्डकी प्रदेशका पूर्वमन्त्री एवं प्रदेशसभा सदस्य राजीव गुरुङ (दीपक मनाङे) अहिले प्रहरीको नजरमा ‘फरार’ छन् । उनको खोजीका निम्ति काठमाडौंमा दुई र कास्कीमा एक गरी तीनवटा प्रहरी युनिट लागिपरेको छ । तर, भेटिएका छैनन् ।
२०६१ वैशाख ३१ गते महाराजगञ्ज, पानीपोखरीस्थित चाइनिज चुफाङ रेष्टुरेण्टमा अर्का गुण्डा नाइके चक्रे मिलनमाथि धारिलो हतियार (तरबार) प्रहार भएको घटनामा उनीमाथि पाँच वर्षको कैद तोकिएको छ । उक्त घटनामा उनी मुख्य योजनाकार हुन् भन्दै चक्रेपत्नी इन्दिरा गुरुङले दिएको जाहेरीका आधारमा मुद्दा चल्दै आएको हो । मंगलबार सर्वोच्च अदालतले उच्च अदालत पाटनको पूर्वआदेश सदर गर्दै पाँच वर्ष कैद किटान गरिदियो । त्यही साँझदेखि मनाङे सार्वजनिक सम्पर्कभन्दा बाहिर छन् ।
समातिनु–छुट्नु त के हो र…
०६१ सालको घटनायता मनाङेको जिन्दगी अरुणा लामाले गोपाल योञ्जनको शव्द र संगीतमा गाएको गीतजस्तै हुन पुग्यो । ‘भेट्टिनु–छुट्टिनु त के हो र, संसारको रित हो, नसम्झ तिमी यो मेरो बिदाको गीत हो…’ बोलको उक्त गीतजस्तै प्रहरीद्वारा पक्राउ पर्नु र छुट्नु जीवनको ‘रित’ झैँ भयो ।
पहिलो पटक तत्कालीन वडा प्रहरी कार्यालय लैनचौर, सोह्रखुट्टेका इन्स्पेक्टर अशोक सिंहले उनलाई ठमेलबाटै गिरफ्तार गरे । चारखालस्थित अनाश्रित गुल्ममा २४ महिना कैद भुक्तान गरेपछि तत्कालीन पुनरावेदन अदालत पाटनले थुनाबाहिरै बसेर मुद्दाको पुर्पक्ष गर्ने आदेश दियो । तर, पक्राउ र रिहाइको शृङ्खलाबाट मुक्ति पाएनन् । काठमाडौंको प्रहरी नेतृत्वमा आएपिच्छेका हाकिमले ‘गुण्डागर्दी तह लगाउने’ नाममा ‘काम देखाउन’ कै लागि उनलाई समात्न थाले । यस प्रकार पटक पटकको गिरफ्तारीका क्रममा उनले ३२ महिनाको सजाय भुक्तान गरे ।
०६१ सालमा पहिलो पटक पक्राउ परी मनाङे ०६३ सालमा रिहा भए । त्यस लगत्तै उनी हङकङ गए । तर, काठमाडौंमा उनका साझेदार र सहयोगीमाथि आक्रमणको शृङ्खला जारी रह्यो ।
त्यही क्रममा ०६३ भदौमा रमेशबाबु श्रेष्ठमाथि महाराजगन्जस्थित शिक्षण अस्पतालअगाडि खुकुरी प्रहार भयो । गामबेशी थकाली रेष्टुरेन्टमा खाना खाएर दिउँसो २ बजेपछि बाहिर निस्कन खोज्दा श्रेष्ठको देब्रे हातमा खुकुरी प्रहार हुँदा हत्केलामा चोट लागेको थियो ।
घटनाको पृष्ठभूमि
२०५५–०५६ सालताका काठमाडौंका मुख्य व्यापारिक स्थलमा सञ्चालन हुने रात्रिकालीन व्यवसायमा कसले अधिपत्य जमाउने भन्ने नाममा शुरु भएको द्वन्द्वका क्रममा मनाङे र चक्रे समूहको उदय भएको हो । यसक्रममा कहिले मनाङे पक्षले चक्रेपक्षलाई त कहिले चक्रे पक्षले मनाङे पक्षलाई आक्रमण गर्ने शृङ्खला चल्यो ।
त्यसताका दोहोरी साँझले भर्खर भर्खर बजार लिन थालेको थियो । डान्सबारमा सभ्य र शालिन नभई पूर्णतः नग्न नृत्य चल्थ्यो । राजधानी शहरभरिमा जम्मा तीनवटा नाइट क्लब (डिस्को) चल्थे । दिउँसोको समयमा स्नुकर, पुल हाउसको राम्रो व्यापार थियो । ठाउँ–ठाउँमा क्याबिन रेष्टुरेण्ट निकै चलेका थिए ।
यी व्यवसाय यति विकृत थिए कि, त्यहाँ व्यापार हैन, एक किसिमको लुटपाट नै चल्थ्यो– खुलेआम यौन कारोबार, ग्राहकसँग बिलका नाममा रकमको असुली । अझ ०५८–०५९ सालपछि सशस्त्र द्वन्द्व उत्कर्षमा पुग्दा प्रहरी आफ्नै ज्यान जोगाउने चिन्तामा हुन्थे । उनीहरूका लागि आफ्नो ज्यानभन्दा शहर विसंगति ठूलो कुरा भइदिएन । फलतः शहरभरि उद्दण्ड जत्थाको राज नै चल्थ्यो । ती जत्था कोही मनाङेको आवरणमा त कोही चक्रेका आवरणमा प्रस्तुत हुन्थे ।
दुवै समूहको चाहना थियो, आ–आफ्नो व्यापारिक स्थलमा अर्को पक्ष नपसोस् ।
चक्रेहरु मनाङे समूहको व्यवसाय चल्ने ठमेल, दरबारमार्ग, सुन्धारा र न्युरोडमा आफ्ना व्यावसायिक गतिविधि सञ्चालनमा ल्याउने चाहनालाई धम्की र घुर्कीको शैलीमा पूरा गर्न खोज्दा मनाङे समूहले सहँदैन थियो । त्यसमाथि जुन–जुन व्यवसाय मनाङे समूहले चलाएको हुन्थ्यो, चक्रे समूह तिनै–तिनै व्यवसायका साथ त्यहाँ प्रवेश गर्न चाहन्थ्यो । फलतः ठमेल–दरबारमार्ग क्षेत्रमा ग्याङफाइटका घटना ‘नियमित आकस्मिकता’ जस्तो हुन पुग्यो ।
पछिल्लोपटक न्युरोडमा भएको ग्याङफाइटमा मनाङे पक्षले बढी क्षति व्यहोर्यो । चक्रे समूह त्यहाँ प्रवेश गरेका कारण मनाङे समूहका मनोज आचार्यसहित करिब एक दर्जन डान्सबार र दोहोरी व्यवसायी विस्थापित भए ।
त्यो १७ मिनेट
चक्रेमाथि तरबार प्रहार गर्न दरबारमार्गबाट पानीपोखरी हिँडेको समूह १७ मिनेटपछि फेरि त्यहीँ फर्किन्छ । रगताम्मे तरबार स्विमिङ पुलको पानीमा चोपल्दै एकजनाले भन्दै थिए, ‘…हात त च्वाट्टै गयो नि…।’
घटनापूर्वको दृश्य यस्तो थियो ।
दरबारमार्गस्थित होटल उडल्याण्डको स्विमिङ पुल प्याराफिट वरिपरि १५ देखि २० युवाको हुल जम्मा हुन्छ । अपराह्न ३ बजेदेखि आउन थालेका उनीहरूलाई मनाङेले केही भनिरहेका हुन्छन् ।
ती युवा उक्त होटल परिसरमै रातको समयमा चल्ने क्लब डाइनेस्टी (डिस्को थेक) र माथिल्लो बाहिरी भागमा चल्ने क्याफे ट्वाइन्टीफोर (हाल हिमालयन जाभा भएको ठाउँ) का बाउन्सर हुन्छन् । मनाङे ती दुबैका लगानीकर्ता थिए ।
अपराह्न ४ बज्दा स्विमिङ पुलको दृश्य अस्वाभाविक देखेर ‘बाबु काले’ नामले बोलाइने क्याफे ट्वाइन्टीफोरका मुख्य सञ्चालक रमेशबाबु श्रेष्ठ श्रेष्ठ त्यहाँ पुग्छन् । मनाङेले केही योजना बनाइरहेको शंका लागेर उनी त्यहाँ पुगेका थिए ।
‘अहिले व्यापार, व्यवसाय राम्रोसँग चलेको बेला अर्को कुनै घटना पो गराउन लाग्यो कि भनेर म गएको थिएँ’, श्रेष्ठले भने, ‘म जानासाथ केटाहरू साइड लागे, दीपकलाई सोधेको, केही होइन भनेर चुप लाग्यो ।’
यस्तो किन पनि भयो भने, श्रेष्ठको सम्पर्क चक्रेका मान्छेहरूसँग पनि थियो ।
श्रेष्ठले मनाङेको ‘केही होइन’ भन्ने जवाफमा चित्त बुझाएनन् । बरु, सम्झाउँदै थिए, ‘अहिले केही नगरौँ है, राजाले शासन लिएको बेला छ, प्यालेस (दरबार) का मान्छेहरू हामीसँग रिसाएका छन्, फसाइदिन्छन् ।’ तर, मनाङेको जवाफ एउटै थियो, ‘केही पनि होइन, तँ आफ्नो काम गर न ।’
भएका मध्ये केही बाउन्सर एकैछिनमा हराउँछन् । फेरि उनीहरू १५ देखि १७ मिनेटको बीचमा हस्याङफस्याङ गर्दै आउँछन् । भन्दै थिए, ‘भयो दाइ, हान्नियो ।’ अनि, एकजनाले रगताम्मे तरबार स्विमिङ पुलमा चोपल्दै भने, ‘…च्वाट्टै गयो नि ।’
फितलो अनुसन्धान
घटनापछि प्रहरी सक्रियता त बढ्यो, तर घटनासँग सम्बन्धित व्यक्तिहरू घटनालगत्तै फरार रहे ।
देब्रे हात दुई टुक्रा भएपछि गुरुङ उपचारका निम्ति त्रिवि शिक्षण अस्पतालको आकस्मिक कक्षमा पुगे । त्यहाँ उनको तर्फबाट ‘घाउ जाँच मुचुल्का’ बनाइयो । थप उपचारका निम्ति वीर अस्पतालमा भर्ना भए ।
मनाङे प्रहरीद्वारा खोजिन थालेपछि बेपत्ता हुने नै भए । घाइते गुरुङ स्वयं पनि अर्को मुद्दामा प्रहरीको खोजीमा थिए । अस्पतालमै उनलाई नियन्त्रणमा लिने भएपछि उनी काटिएको हातसहित रातरातै सघन उपचार कक्ष (आइसियु) बाट बेपत्ता भए ।
प्रहरीले घटनामा संलग्न व्यक्तिको खोजीभन्दा बढी मनाङेको खोजीमा अनुसन्धानलाई केन्द्रित गरेको थियो । त्यसैले अहिलेसम्म चक्रेको हात काट्न को–को गएका थिए भन्ने कुराको कानुनी प्रमाण प्रहरीसँग छैन । मनाङे मुख्य योजनाकार भन्ने कुरा चक्रेपत्नी इन्दिराको जाहेरीमा उल्लेख थियो । जाहेरीमा प्रतिवादी बनाइएका मनाङेबाहेक सबैले अदालतबाट सफाइ पाइसकेका छन् । मनाङे स्वयं घटनास्थलमा उपस्थित छैनन् ।
प्रहरी अनुसन्धानको सबभन्दा गम्भीर त्रुटि हो, घटनाको दसी प्रमाण संकलन नगरिनु ।
घटनास्थल प्रकृति मुचुल्का उठाउने उपत्यका अपराध अनुसन्धान कार्यालय, हनुमानढोकाका तत्कालीन सई जगन्नाथ खनाल दसी प्रमाण नभेटिएकै कारण ज्यान मुद्दाको सट्टा कुटपिटको मुद्दा अगाडि बढाइएको बताउँछन् ।
प्रहरी सेवामा इन्स्पेक्टर दर्जाबाट अवकाशप्राप्त खनालका अनुसार त्यसबेलाको प्रहरी कार्य ‘अनुसन्धानात्मक’ भन्दा बढी ‘आदेशात्मक’ थियो । मनाङेलाई जसरी पनि फसाउनुपर्छ भन्नेमा दरबारियामार्फत अधिकांश प्रहरी उच्च अधिकारीको जोड थियो । किनभने, २०५७ सालमा मनाङे र पारस शाहको झगडापछि संगीतकार प्रवीण गुरुङ मारिने घटना भएको थियो । क्लब डाइनेष्टीमा भएको झगडापछि शाहले अनियन्त्रित गतिमा चलाएको गाडी होटल याक एण्ड यतिको उत्तरी भागमा दुर्घटना हुन पुगेको थियो । आफैँले चलाएको मोटरसाइकलमा गेटबाट सडकतिर निस्कँदै गरेका संगीतकार गुरुङलाई शाहको गाडीले सडक पेटीमै ठक्कर दिन पुग्यो । घटनास्थलमै उनको ज्यान गयो ।
यसबाहेक राजदरबारको ड्युटीमा रहने केही सेना, प्रहरी ठमेल–दरबारमार्गमा रात्रि जीवन बिताउन निस्कन्थे । बिल तिर्ने, नतिर्ने र कामदार युवतीहरूसँगको व्यवहारजस्ता विषयमा मनाङे र दरबारियाबीच पटक पटक झडप हुने गरेको थियो । यसर्थ, दरबारनिकटस्थले मनाङेलाई विस्थापित गर्ने अनेक प्रयास जारी राखे । २०६१ माघ १९ मा राजा ज्ञानेन्द्रले सम्पूर्ण सत्ता आफ्नो हातमा लिएको घोषणा गरेकै दिन मनाङेद्वारा दरबारमार्गमा सञ्चालित क्लब डाइनेष्टी र क्याफे ट्वाइन्टीफोरलाई सेनाले नियन्त्रणमा लियो । पछि क्लब डाइनेष्टी त चल्यो, तर क्याफे ट्वाइन्टीफोर सधैँका लागि बन्द भयो ।
चक्रे घटनामा पनि पीडितको न्यायका निम्ति भन्दा बढी मनाङेमाथिको प्रतिशोध साँध्ने प्रयास बढी भएको खनाल बताउँछन् । ‘दुवै पक्ष खराब हुन्’, उनले भने, ‘तर, पानीपोखरी घटनामा पीडित त चक्रे नै थिए ।’
उनका अनुसार घटना भएको तीन दिनपछि मात्रै घटनास्थलको मुचुल्का उठाइएको थियो । त्यसबेलासम्म दसी प्रमाण त नष्ट भइसकेका थियो नै, परिस्थितिजन्य वस्तुस्थिति (सर्कमस्ट्यान्स) मा पनि फेरबदल आइसकेको थियो । ‘हामीले घटनाका साक्षी, रगतको टाटो, रगत लत्पतिएको कपडा बरामद गरेका थियौं’, उनले भने, ‘तरबार हानेको कुरालाई घाजाँच प्रतिवेदनले प्रमाणित गर्छ, तर हान्ने मान्छे को हो भन्ने खुल्दैन ।’
फलतः चक्रेपत्नी इन्दिराको जाहेरीमा प्रतिवादी बनाइएका मनाङेबाहेक सबैले सफाइ पाए ।
मनाङेका दुःख
‘मुख्य योजनाकार’ का नाममा आज घटनाको २० वर्षपछि पनि प्रहरीबाट लुकेर हिँड्नुपर्ने नियति भोगेका दीपक मनाङेले एकपछि अर्को ‘दुःख’ व्यहोर्दै गए ।
कमाएको सम्पत्ति र चलेका व्यवसाय जोगिएन । आफू जेलमा रहेको समयमा विश्वासिला साथीहरूले आ–आफ्नो व्यवसाय त मजबुत बनाए, तर आफ्नै स्वामीत्वका व्यवसायबाट अलग हुनुपर्यो । न पारिवारिक जीवन नै सुखद् रहन पुग्यो । दुई पत्नीसँग पालैपालो सम्बन्ध विच्छेद हुँदा आधाभन्दा बढी सम्पत्ति गुमाए ।
यसो हुनुको कारण थियो, प्रहरी–प्रशासनले पटक पटक पक्राउ गर्ने, छाड्ने शृङ्खला चल्नु । जुन शृङ्खला अहिलेसम्म कायम छ । कतिबेला समातिनुपर्ने र छुट्नुपर्ने भन्ने कुराको टुंगो नहुँदा उनले आफ्नो व्यवसायदेखि घरबारसम्म राम्ररी चलाउन पाएनन् ।
घरायसी मामिला
मनाङ, चामेकी पासाङसँग उनले गुरुङ संस्कृतिबमोजिम भव्य विवाह गरेका थिए । उनीबाट दुई छोराको जन्म भयो । जेठा छोरा सिद्धार्थ ‘वान वे’ नामक चलचित्रको हिरोसमेत भए । तर, पत्नीसँगको सम्बन्ध सुखद् रहेन । १५ वर्षअघि सम्बन्ध विच्छेद गरे ।
पहिली पत्नीसँग सम्बन्ध विच्छेद हुँदा ठमेल, पकनाजोलमा रहेको करिब दुई रोपनी क्षेत्रफलमा बनेको घरसहित नगद र गरगहना पनि उनैलाई दिए ।
पासाङसँग विवाह गरेको केही वर्षपछि बाग्लुङ स्थायी घर भएका ब्रिटिश लाहुरे भीमबहादुर गुरुङकी छोरी शान्तिसँग प्रेम सम्बन्ध गाँसे । हङकङ आइडीप्राप्त शान्तिसँगै मनाङे पनि हङकङ गए, पतिका रूपमा । त्यसपछि उनका लागि हङकङ–काठमाडौं आवत–जावत पानी–पधेँरोझैं थियो ।
जेठी पत्नी पासाङसँग सम्बन्ध विच्छेद गरेको केही वर्षमै शान्तिसँग पनि सम्बन्ध बिग्रन थाल्यो । शान्तिबाट जन्मिएका एक छोरा उतै छन् । उनीसँग सम्बन्ध विच्छेदका क्रममा मनाङेले थप आर्थिक भार व्यहोर्नुपर्यो । अहिले शान्ति छोरासहित लण्डनमा बस्छिन् ।
अहिले हेटौँडा, पदमपोखरीकी दिछेन लामाले उनको जीवनलाई पत्नीका रूपमा साथ दिएकी छन् । उनीबाट पनि एक छोराको जन्म भएको छ ।
व्यवसाय चौपट
सन् १९९१ (२०४७ साल) मा ठमेल, चाक्सीबारीमार्गको तेस्रो घरमा उनले ‘याक हर्न पव’ नामक रेष्टुरेण्ट खोलेर व्यावसायिक जीवन शुरु गरे । अहिले उनका केही गिटी, बालुवाका व्यवसाय त बाँकी छन् । अरू सबै व्यवसायबाट अलग भई राजनीतिमा होमिए ।
२०५०–०५२ देखि ०६०–०६१ सालसम्म उनले काठमाडौंको रात्रिकालीन व्यवसायमा करिब करिब एकछत्र उपस्थिति जनाए । विभिन्न व्यवसायमा उनको नाममा वास्तविक लगानी र ‘गुडविल शेयर’ भनिने ‘सलामी शेयर’ पनि जोड्दा आज मनाङेसँग अर्बौँ रकम बचत हुनुपर्ने हो । तर, उनको आर्थिक जीवन सोचेजस्तो नभएको उनका पुराना व्यापारिक साझेदार भरत कोइराला बताउँछन् ।
कोइराला भन्छन्, ‘जेल, मुद्दा, वकिल, पुलिस, पत्रकार, पत्नी, प्रेमिकासँगै भागदौडको जिन्दगीमा कमाएको सम्पत्ति जोगाउन सकेनन् ।’ गलत मान्छेसँगको संगत र तिनीहरूको सल्लाहमा चल्नुको परिणामस्वरुप त्यस्तो भएको उनले बताए । ‘जोपायो त्यही मान्छेलाई विश्वास गर्ने र विश्वास गरेको मान्छेले भनेको कुरा मान्दै जाँदा व्यावसायिक जीवन फलिफाप भएन’, कोइराला भन्छन्, ‘जोमाथि गुन लगायो, उही उही मान्छे बैगुनी भएर निस्किँदा दुःखमाथि दुःखमात्रै थपियो ।’
अर्का पूर्वसाझेदार रमेशबाबु श्रेष्ठको पनि यस्तै ठम्याई छ । उनी भन्छन्, ‘यो मान्छे बाठो भएर दुईपटक सांसद, आठ पटक मन्त्री भएको होइन, काकताली परेर भएको हो ।’ समाजमा उनको नाम ‘हाउगुजी’ का रूपमा फिँजाइए पनि स्वभावतः उनी त्यसविपरीत रहेको श्रेष्ठले बताए । आफूहरूले सही सल्लाह दिँदा पनि गलत मानिसको उक्साहटमा लाग्नाले उनले दुःख पाएको श्रेष्ठ बताउँछन् । ‘उसले आजसम्म एउटा कुखुरा पनि काटेको छैन, तर २० वर्षदेखि ज्यान मुद्दा बोकेर हिँड्नुपरेको छ’, उनले भने, ‘दीपक आफैँमा सोझो मान्छे हो, तर कसैले उकासिदियो भने छिट्टै उक्सिनु उसको गल्ती हो ।’
घटनामाथि घटना
०६१ वैशाख ३१ को घटनापछि चक्रे पक्षीय व्यवसायीले नयाँ बसपार्क, सामाखुसी र महाराजगञ्जतिरै आफ्नो व्यवसाय चलाए, ठमेल–दरबारमार्ग ताकेनन् । बरु, ठमेल किचेन चलाउने काजी शेर्पा, शो गर्ल डान्सबार चलाउने रोज राणाहरू चक्रे पक्षीय भएकै कारण उक्त घटनापछि ठमेलबाट विस्थापित भए ।
काजीलाई ठमेल किचेनबाट विस्थापित गराएपछि मनाङे समूहका रमेश सुनुवारले उक्त डान्सबार एकलौटी चलाए । रोज राणा ठमेल छाडेर सामाखुसी पुगेपछि पुरानो बानेश्वरमा क्रिष्टल प्यालेस डान्सबार चलाउने मनाङे समूहका गणेश लामा ठमेलमा भित्रिए । उनले सुरुमा रोजको शो गर्ल डान्सबार चलाए । पछि अमित लामालाई म्यानेजर बनाएर गणेशले ठमेलको नरसिंह चोकमा टकिला बार पनि चलाए ।
गणेश लामा अहिले नेपाली कांग्रेसका केन्द्रीय सदस्य हुन् । अमित एमालेसम्बद्ध युवा संघका कोषाध्यक्ष छन् ।
मैतीदेवीमा थिएटर डान्सबार चलाउने तीर्थ लामा पनि ठमेलमा भित्रिए । तीर्थ अहिले नेपाली कांग्रेसका नेता हुन् । ०७४ को निर्वाचनमा काभ्रेबाट संघीय संसदको चुनाव नै जितेका थिए । बत्तीसपुतलीमा शीतल महल डान्सबार चलाउने उमेश लामा ठमेलमा गो–गो बार चलाउन पुगे । उनका साझेदार दाबा लामा थिए । उमेश अहिले ‘क’ श्रेणीका ठेकेदार हुन् । प्रहरीका अधिकांश नयाँ भवनको ठेक्का उनैले पाउँदै आएका छन् ।
दाबा नेपाली कांग्रेसको तर्फबाट काभ्रेको भुम्लु गाउँपालिकामा उपाध्यक्ष निर्वाचित भए ।
उक्त घटनापछि चक्रे आफैँ त्यति सलबलाएनन्, उनका उपसमूह जन्मिन थाले । त्यसमध्ये काठमाडौं, कपुरधाराका कुमार श्रेष्ठ (घैँटे) र धादिङका दिनेश अधिकारी (चरी) ले प्रहरीको इन्काउन्टर अट्याकमा ज्यान गुमाए । त्यहीताका रानीबारी हत्याकाण्डमा संलग्न दोलखाका मनराज गुरुङ घटनाको १५ वर्षपछि पक्राउ परी हाल कारागार जीवन बिताइरहेका छन् । आफ्ना उपसमूहहरू रात्रिकालीन व्यवसायमा लागे पनि चक्रेचाहिँ घरजग्गा कारोबारमा लागे । रात्रिकालीन व्यवसायमा उनका भाइ तेजेन्द्र सक्रिय भए । उनले कपन, भंगाल, धापासी, हेपाली हाइट क्षेत्रमा उक्त कारोबार चलाउँदै आएका छन् । हेपाली हाइटमा सोही कारोबारका क्रममा विवाद हुँदा यादव नामक उनका साझेदारको ज्यान गएको छ ।
मनाङे र चक्रे आजसम्म कुनै पनि घटना वा विवादमा आमनेसामने भएका छैनन् । ०६१ सालको घटनापछि चक्रे समूहले मनाङेमाथि आक्रमण गर्ने मौका पाएन । तर, उनका सहयोगीलाई चक्रेपक्षले भेटेसम्म छाडेनन् ।
चक्रे समूहले २०६३ सालमा मनाङेका विश्वासपात्र उमेश लामामाथि नक्साल, सानो गौचरणमा गोली प्रहार ग¥यो । सानो गौचरण खेल मैदानको झाडीमा लुकेर उनले ज्यान बचाए ।
०६३ भदौमा सामाखुसीस्थित शो गर्ल रेष्टुरेण्टको अगाडि काजी शेर्पा, मनराज गुरुङसहितले मनाङे समूहका विष्णु लामामाथि गोली प्रहार गरे । उनको पेटमा गोली लाग्यो । ०६३ असारमा प्रेम लामामाथि सोह्रखुट्टे ओरालोमा खुँडा प्रहार भयो । उनी पनि मनाङे समूहका थिए ।
०६१ को घटनाकै बाछिटास्वरुप ०६६ सालसम्म दुई समूहबीच झडप जारी रह्यो । दरबारमार्गमा चक्रे समूहनिकट कुमार घैँटे र मनाङे पक्षका दावाको अकस्मात् जम्काभेट हुँदा झडप भएको थियो ।
त्यस दिन डेलिगेसन क्याफेमा घैँटे पुग्नेबित्तिकै दावा पनि भित्र छिरे । देख्नासाथ दुईजनाबीच भनाभन शुरु भयो । दुबैजना एकले अर्कोलाई धकेल्दै सडक पेटीमा निस्किए । घैँटेले आफ्नो साथमा रहेको पेस्तोल निकालेर दावालाई निशाना बनाई ट्रिगर ताने, तर बन्दुक पड्किएन । बन्दुक नपड्किएपछि घैंटेसँगै दरबारमार्ग पुगेका उनका केही सहयोगले मोटरसाइकलले घेरा हालेर आक्रमणको प्रयास गरे । दावालाई बचाउन अमित पुगेका थिए । अमित पुग्नासाथ घैँटेले चलाएको पेस्तोल पड्कियो । त्यसबाट निस्किएको गोलीले अमितको खुट्टामा चोट लाग्यो ।
घटनाको केही दिनपछि घैंटेको समूह लाजिम्पाटस्थित स्विमिङ पुलमा पौडी खेलिरहेको सूचना पाएर दरबारमार्ग प्रहरीका सई दीपेन्द्र चन्दको टोली त्यहाँ पुगेको थियो । सई चन्दले घैँटेलाई लक्षित गरी प्रहार गरेको गोली उनले छले । र, भाग्न सफल भए ।
दाबालाई ०७३ सालमा बौद्ध, नयाँ बस्तीस्थित दिव्या पार्टी प्यालेसको जिम हलमा छिर्दाछिर्दै गोली प्रहार गरियो । उनलाई गोली हान्ने व्यक्ति थिए, लोप्साङ । निर्माण व्यवसायी महासंघका तत्कालीन अध्यक्ष शरदकुमार गौचनको हत्यामा संलग्न समिरमानसिंह बस्नेत समूहका लोप्साङले गौचन हत्या पूर्व नै दावाको हत्या प्रयास गरेका थिए । यो हत्या प्रयास भने चक्रे–मिलन द्वन्द्वसँग सम्बन्धित थिएन ।
मान्छे हेरेर मुद्दा
कुनै पनि मुद्दा घटना, प्रमाण र कानुन हेरेर चलाइन्छ । तर, यो मुद्दा व्यक्ति हेरेर पूर्वाग्रहवश चलाइएको भन्छन्, मनाङेका कानुन व्यवसायी दीपकमणि निरौला ।
निरौलाका अनुसार, मनाङे के कति कारणले मुख्य योजनाकार हुन् ? भन्ने कुरालाई कुनै पनि प्रमाणले पुष्टि गर्दैन ।
उक्त मुद्दामा सुरुदेखि नै मनाङेको तर्फबाट बहस गर्दै आएका कानुन व्यवसायी गणेश केसी एउटा रुखको उदाहरण पेश गर्दै भन्छन्, ‘मुख्य योजनाकार भनेको रुखको जरा हो भने अन्य प्रतिवादी त्यसका हाँगाबिँगा हुन्छन् ।’ उनका अनुसार, हाँगाबिँगा, अर्थात् अरू सबै प्रतिवादीले प्रमाण र कानुनका आधारमा सफाइ पाइसके । तर, ‘जरा’ मानिने मनाङे कसरी मुख्य योजनाकार भए ? उनी भन्छन्, ‘जुन प्रमाण र कानुनले अरूलाई निर्दोष साबित गरेको छ, त्यही कानुन र प्रमाणले मनाङे एक्लैलाई कसरी दोषी भन्यो ?’
मनाङेको यात्रा, दुई कोठे टहरा…
जेजसो गरे, भने पनि मनाङेसँग यतिबेला आत्मसमर्पण गर्नु वा प्रहरीले पक्राउ गर्ने मिति पर्खिनुबाहेकको बाटो छैन । स्वयं उनको सचिवालयले पनि फैसलाको पूर्णपाठ हात पार्नासाथ अदालतमा उपस्थित हुने भनिसकेको छ ।
यसपछि उनी फेरि त्यहीँ जान्छन्, जहाँ उनको आफ्नै लगानीमा दुई कोठाको सिमेण्टेड टहरा बनेको छ । त्यो हो, चारखाल जेल ।
२०६१ सालमा पहिलो पटक पक्राउ परेपछि क्षतविक्षत अवस्थामा रहेको जेलका पुराना खाटमा उनलाई निद्रा लागेन । त्यसपछि बिरामी भएको डाक्टरी रिपोर्टका आधारमा केही समय अस्पताल बसे । जेलभित्र आफ्नै लगानीमा अलग्गै टहरा बनाए । त्यसपछि जब जब उनी पक्राउ पर्दै गए, तब तब उनका लागि त्यो टहरा खालि हुँदै आयो । फेरि पनि उनलाई जानु त त्यहीँ नै छ । मात्र फरक हो, कति समयका लागि र कहिले ?