नेपाल हक्की संघका अध्यक्ष शर्मालाई अन्तर्राष्ट्रिय अवार्ड
काठमाडौं । नेपाल हक्की संघका अध्यक्ष अनिल प्रसाद शर्मालाई अन्तर्राष्ट्रिय हक्की महासंघले एफआइएच प्रेसिडेन्ट अवार्डद्वारा सम्मानित गरेको छ ।
ओमानको मस्कटमा आयोजित अन्तर्राष्ट्रिय हक्की महासंघ (एफआइएच) ४९ औँ महासभामा उनलाई सो अवार्ड दिइएको हो ।
महासंघले स्थापनाको शतवार्षिकी उत्सवसँगै महासभा आयोजना गरिरहेको छ । महासभामा नेपाल हक्की संघका अध्यक्ष शर्मा र महासचिव सुवर्ण श्रेष्ठले सहभागिता जनाएका छन् ।
अध्यक्ष शर्माले हक्कीको विकासमा गरेको उत्कृष्ट प्रतिबद्धताका लागि सो अवार्ड दिइएको हो ।
शर्मा भूतपूर्व हक्की खेलाडीसमेत हुन् । उनले स्कुल पढ्दादेखि नै हक्की खेल्दै आएका थिए । उनले पछि अम्पायर र हक्कीका लागि प्राविधिक अधिकारी बन्न प्रशिक्षण प्राप्त गरे ।
नेपाल हक्की संघमा विभिन्न पदमा रहँदै सन् १९९८ देखि २०१६ सम्म महासचिवको भूमिका निर्वाह गरेका शर्मा सन् २०१६ मा नेपाल हक्की संघको महासभामा वरिष्ठ उपाध्यक्ष पदमा निर्वाचित भएका थिए । सन् २०२३ मा उनी राष्ट्रिय संघको अध्यक्षमा निर्वाचित भए ।
अन्तर्राष्ट्रियतर्फ उनी सन् २०१८ देखि २०२२ सम्म एसियाली हक्की महासंघको सदस्य भइसकेका छन् । सन् २०२२ मा भएको एसियन हक्की महासंघको महासभामा उनी बोर्डको सल्लाहकारमा निर्वाचित भएका थिए ।
नेपाल हक्की संघको अध्यक्षको जिम्मेवारी सम्हालेदेखि नै उनी हक्कीलाई अगाडि बढाउन अझ सक्रिय भएर लागेका छन् ।
शर्माको पहलमा नेपाल हक्की संघले धुलिखेलमा हक्की रंगशाला निर्माणका लागि धुलिखेल नगरपालिकाको सहयोगमा जग्गा प्राप्त गरिसकेको छ ।
उनले यो रंगशालालाई आफ्नो ड्रिम प्रोजेक्ट मान्दै आफ्नो कार्यकालमा नै पूरा गर्न प्रयास गरिरहेका छन् ।