सिंहदरबारभित्रै विरोध प्रदर्शनमा उत्रिए कर्मचारी (भिडिओ)
काठमाडौं । नेपाल विविध सेवाका प्राविधिक कर्मचारीलाई स्वतः बढुवा गरी समायोजन गर्ने सर्वोच्च अदालतको आदेशविरुद्ध कर्मचारीहरुले सिंहदरबारभित्रै विरोध प्रदर्शन गरेका छन् ।
अदालतको आदेशबाट प्रशासन सेवाका समग्र पदहरुमा बढुवाको अवसर खोसिन सक्ने भन्दै उनीहरुले आइतबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अगाडि विरोध प्रदर्शन गरेका हुन् ।
त्यस्तै प्रतिस्पर्धाका आधारमा सेवा क्षेत्रमा प्रवेश गरेका र वृत्ति विकासको चरणमा रहेका कर्मचारीहरूको न्यायोचित बढुवामा अवरोध पु¥याउनसक्ने भन्दै उनीहरुले मन्त्रालयको ध्यानाकर्षण गराएका छन् ।
सरकारलाई सर्वोच्चको आदेश कार्यान्वयन नगर्न र फैसलाउपर रिट आदेशको पुनरावलोकनमा जानसमेत माग गरिएको शाखा अधिकृत हरिप्रसाद पौडेलले बताए ।
आन्दोलित कर्मचारीहरुले निजामती सेवा ऐन र नियमावलीको मर्मअनुसार प्रतिस्पर्धात्मक र न्यायोचित वृत्ति विकास सुनिश्चित गर्न माग गरेका छन् । आफ्ना मागका विषयमा थप दबाब दिन उनीहरुले संघर्ष समिति नै गठन गरेर आन्दोलन अघि बढाउने तयारी गरेका छन् ।