सामाचकेवा आत्मानुशासनको पर्व हो: मुख्यमन्त्री सिंह – Nepal Press

सामाचकेवा आत्मानुशासनको पर्व हो: मुख्यमन्त्री सिंह

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान र मैथिली विकास कोषद्वारा जनकपुरधाममा आयोजित सामाचकेवा मूर्तिकला निर्माण कार्यशालाको आइतबार उद्घाटन गरेका छन् ।

मुख्यमन्त्री सिंहले मधेशका पर्वतिहारले सामाजिक सम्बन्धलाई सुदृढ बनाउन तथा नयाँ पुस्तामा आत्मानुशासन तथा समूहबद्ध भएर काम गर्ने संस्कार र चेतना दिनुका साथै असल जीवनशैलीको अभ्यासका लागि प्रेरित गर्ने गरेको बताए ।

उनले सामाचकेवा पर्वले भाइबहिनीबीचको स्नेहलाई प्रकटमात्र गर्ने नभएर टोलछिमेकसँगको कसिलो र सार्थक सम्बन्ध र त्यसबाट सकारात्मक परिणाम खोज्ने रीति रहेको भन्दै पर्वका क्रममा उधिन्ने विषयवस्तु, परिवेश र पात्रहरूले आदर्श समाज निर्माणको परिकल्पना गरेको प्रस्ट्याए ।

मुख्यमन्त्री सिंहले सबै चाडपर्वका पछाडि आध्यात्मिक, वैज्ञानिक र भौतिक चेतनासँग जोडिएका मूल्यमान्यता रहेको प्रस्ट पार्दै सांस्कृतिक तथा परम्परागत पर्वतिहारको प्रवर्द्धनका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको उल्लेख गरे ।

उनले सामाचकेवाका पात्रहरूको परिचय र महत्त्वसहितको आधिकारिक विवरण समेटिएको श्रव्यदृश्य निर्माण गर्न सञ्चारकर्मीहरूसँग आग्रह गरे । उनले भने, ‘सांस्कृतिक उत्सव र यसभित्रका अन्तर्वस्तुको अभिलेखीकरण हुनेछ ।’

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमुनि हार्तम्छालीले अनुसन्धान, सिर्जना र सम्मान गर्ने उद्देश्यले सामाचकेवासम्बन्धी कार्यशाला आयोजना गरिएको भन्दै मूर्तिकलामा निपुणताबाट जीविकोपार्जनको अवसर जुर्नसक्ने बताए ।

मधेश प्रदेशसभाका सदस्य रामसरोज यादवले संस्कृति उत्थानका लागि मैथिली विकास कोषले काम गरिरहेकोमा सराहना गरे ।

जनकपुरधाम उपमहानगरपालिका मेयर मनोजकुमार साहले सामाचकेवा लोप नहुँदै यसका पात्रहरूका बारेमा परिचय र भूमिका पुनःस्थापित हुन आवश्यक रहेको बताए ।

साहित्कार डा. राजेन्द्र विमलले मिथिलाञ्चलका परम्परा पछाडि जीवन मूल्य रहेको उल्लेख गरे ।

प्रतिष्ठानको मूर्तिकला विभागका प्रमुख एवम् प्राज्ञ सदस्य दिनेश महतोले रैथाने कलालाई इतिहासका पानामा हराउन नदिन नयाँ पुस्तालाई हस्तान्तरण गर्नुपर्ने बताए ।

कोषका अध्यक्ष जीवनाथ चौधरीले सामाचकेवाका मूर्ति निर्माण कार्यशालाबाट नयाँ पुस्तामा समेत आफ्ना परम्परागत कला सिक्न र जगेर्ना गर्ने कौशल हासिल हुने बताए ।

कार्यक्रममा मिथिलाञ्चलका ख्याति प्राप्त गायक सुनिलकुमार मल्लिकले सामाचकेवाका गीत गाएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर