सरकार प्रभावकारी सञ्चालन गर्न कांग्रेस-एमालेको बागमती प्रदेश संयन्त्र गठन
काठमाडौं । सत्तारुढ नेपाली कांग्रेस र नेकपा एमालेबीच तीनै तहका सरकारको प्रभावकारी सञ्चालनका लागि गठित केन्द्रीय संयन्त्र प्रदेशमा विस्तार भएको छ । बागमती प्रदेशस्तरीय दुई दलीय संयन्त्रको आइतबार बसेको बैठकले ६ बुँदे निर्णयसमेत गरेको छ ।
बागमती प्रदेशस्तरीय संयन्त्रमा कांग्रेसबाट प्रदेश सभापति इन्द्र बानियाँ, मुख्यमन्त्री बहादुरसिंह लामा र प्रदेश उपसभापति चन्द्र महर्जन रहेका छन् ।
त्यस्तै एमालेबाट प्रदेश इन्चार्ज डा. राजन भट्टराई र प्रदेश कमिटी अध्यक्ष कैलाश ढुंगेल रहने सहमति भएको छ ।
संयन्त्रको बैठकले बागमती प्रदेशका १३ वटै जिल्लामा संयन्त्र निर्माण गर्न जिल्ला तहलाई निर्देशन दिएको छ । संयन्त्रको संयोजन आलोपालो गर्ने सहमति भएको विज्ञप्तिमा उल्लेख छ ।
आगामी मंसिर ३ गते बैठक बसेर बागमती प्रदेश सरकारको १०० दिनको समीक्षा गर्नेसमेत तय भएको छ ।
यसअघि केन्द्रमा दुवै दलका नेताहरु सम्मिलित संयन्त्र गठन भइसकेको छ ।