झोला कस्दै थिए लिलाबल्लभ, पक्राउको समाचार आयो ! – Nepal Press

झोला कस्दै थिए लिलाबल्लभ, पक्राउको समाचार आयो !

विराटनगर । जापान काण्डमा मुछिएका कोशीका पूर्व मन्त्री लिलाबल्लभ अधिकारीको विराटनगर– २ स्थित बरगाछीमा रहेको डेरामा बिहान ११ बजे पुग्दा सुनसान थियो । घरको बरण्डामा रहेको खाटमा एक जना अपरिचित व्यक्ति मोवाइल चलाएर बसिरहेका थिए ।

भित्र बैठक कोठामा पत्रकारको प्रतिक्षामा रहेछन् मन्त्री अधिकारी । उनले आफू प्रहरीमा आत्मसमर्पण गर्न लागेको भन्दै कुराकानीका लागि केही पत्रकारलाई बोलाएका थिए । पत्रकारसँग गफ गर्दै उनले काठमाडौं जानका लागि व्याग प्याक गर्न थाले । उनलाई स्वकीयले सघाए । स्वकिय नविन बस्नेत अधिकारीका आफन्त समेत हुन् ।

अधिकारीकी श्रीमती पनि घरमै थिइन् । उनी घरधन्दामा व्यस्त उनले भान्साबाटै भनिन्, ‘यतिका देश घुम्नु भयो, यसपाली दशा लागेछ ।’

उनले श्रीमानलाई जवरजस्ती मानव तस्करीमा जोडेको दावी गरिन् । पूर्वमन्त्री अधिकारीले भने प्रहरी अनुसन्धानलाई सहयोग गर्न आफू १ः५० को प्लेन चढेर काठमाडौं जाने बताए ।

पूर्वमन्त्रीसँग कुरा सकेर पत्रकारहरु बाहिर निस्कदा गेटबाट भित्र पसे उनका पूर्वपीएससो । उनी सादा पोशाकमा थिए । डेराको गेट बाहिर बाटोमा एक–दुई जना मानिसहरु उभिएका थिए ।

१२ बजेतिर पूर्वमन्त्री अधिकारी पक्राउ परेको समाचारहरु केही सञ्चारमाध्यममा आए । त्यसबेलासम्म बर्दीका प्रहरी घरमा आइपुगेकै थिएन ।

समाचार आएपछि भने उनको डेरामा भिडभाड बढ्न थाल्यो । छिमेकीहरु समेत घरमा आउजाउ गर्न थाले । मन्त्री अधिकारीको मोवाइलमा तारन्तर फोनको घन्टी बजे । केहीबेरमा बर्दीका प्रहरी पनि आए ।

साढे १२ बजेतिर जिल्ला प्रहरी कार्यालय मोरङ्गका प्रहरी प्रमुख एसपी नारायण चिमरिया अधिकारीको डेरामा पुगे । चिमरिया आएपछि भने उनलाई घरबाट निकालियो ।

प्रहरीकै गाडी चढाएर एयर्पोट लगियो । एयरपोर्ट जानुअघि उनले पत्रकारसँग अनुसन्धानलाई सहयोग गर्न काठामाडौं हिँडेको प्रतिक्रिया दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर