४८ दिनदेखि कहाँ छिन् इन्स्पेक्टर विनु ? किन पक्राउ परिनन् ? – Nepal Press

४८ दिनदेखि कहाँ छिन् इन्स्पेक्टर विनु ? किन पक्राउ परिनन् ?

काठमाडौं । नेपाल प्रहरीले कठोर भूमिगत शैलीमा लुकेका थुप्रै आपराधिक कसुरदारलाई पक्राउ गरिरहेको छ । तिनीमाथि मुद्दा चलेका छन्, तर आफ्नै विभागको प्रतिष्ठामाथि खेलवाड गर्दै ‘हनीट्रयाप’ काण्ड मच्चाउने इन्स्पेक्टर विनुकुमारी शाही अहिलेसम्म फरार छिन् ।

ललितपुरको भैंसेपाटी प्रहरी प्रभागको इञ्चार्ज रहँदा सुनसरीको इटहरीमा भएको घटनालाई लिएर रकम असुलीमा उनी संलग्न भइन् । गृह मन्त्रालयले उनलाई असोज १८ गते निलम्बन गरेसँगै पक्राउ गर्न ललितपुर जिल्ला अदालतबाट पुर्जी पनि जारी भयो, तर निलम्बनमा परेको ३७ दिन पुगिसक्यो, उनी पक्राउ परेकी छैनन् ।

‘हनीट्रयाप’ अर्थात् महिलालाई प्रयोग गरी रकम असुली गर्ने गिरोहसँग मिलेर इन्स्पेक्टर शाही ३० लाख रुपैयाँ लेनदेनको कसुरमा दोषी ठहर भएकी थिइन् । उनीसहित उक्त कार्यमा संलग्न व्यक्तिमाथि आपराधिक लाभसम्बन्धी कसुरमा मुद्दा चलाइएको छ, तर शाही अहिलेसम्म पक्राउ पर्न सकेकी छैनन् । ‘हनीट्रयाप’ मा प्रयोग भएका महिला सुषमा विक, योजनाकार ताज मुल इस्लाम र भीमादेवी थापा तथा प्रहरी सहायक हवलदार महेन्द्र हमाल अहिले पनि प्रहरी हिरासतमा छन् ।

जिल्ला प्रहरी परिसर ललितपुरले अगाडि बढाइरहेको उक्त मुद्दाको अनुसन्धानका क्रममा एसपी कमल थापासहित अन्य प्रहरी तथा गैरप्रहरीको संलग्नता खुल्न थालेको छ । घटनाको गाम्भीर्यतालाई मनन गर्दै प्रहरी प्रधान कार्यालयले उसको मातहत रहने केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी)लाई उक्त मुद्दा हेर्न निर्देशन दियो । त्यसअनुसार उक्त मुद्दासम्बन्धी सम्पूर्ण कागजात तथा पक्राउ परेका व्यक्तिलाई ४८ दिनपछि सीआईबीले आफ्नो नियन्त्रणमा लिएको छ, तर इन्स्पेक्टर शाही अझै फरार छिन् । उक्त मुद्दा सीआईबीको पिलर नं. ७ ले हेरिरहेको छ ।

ललितपुर प्रहरीले ४७ दिनसम्म गरेको अनुसन्धानका क्रममा उनलाई चाहेर वा नचाहेर पक्राउ गरेन । परिसरका प्रवक्ता एसपी नवरत्न पौडेलले उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको र पक्राउको प्रयास भइरहेको अवस्थामा सीआईबीले मुद्दा लगेको बताए ।

‘यो मुद्दा हामीबाट सीआईबीमा गइसकेको हुँदा अब उनलाई पक्राउ गर्ने जिम्मेवारी पनि सीआईबीकै हुन्छ’, पौडेलले भने ।

सीआईबीका प्रवक्ता एसपी होविन्द्र बोगटी शाहीलाई पक्राउ गर्न टोली परिचालित भइसकेको बताउँछन् । ‘उनलाई जसरी पनि पक्राउ गर्नैपर्छ’, बोगटीले भने, ‘एक त मुद्दा नै हामीले ढिलो पायौं, त्यसमाथि प्रहरी सेवामै रहेका कारण लुक्ने र भाग्ने कतिपय तरिकाहरु जानेका कारण उनी पक्राउ नपरेको हुनसक्छ ।’

कसरी, कस्तो ठाउँमा लुक्दा पक्राउ पर्नबाट जोगिन्छ भन्ने कला जानेका कारण उनी अहिलेसम्म पक्राउ नपरेको उनको भनाइ छ । ‘तर जहाँ भए पनि हामी ल्याउँछौं’, उनले भने ।

इन्स्पेक्टर शाहीमात्रै नभएर ‘हनीट्रयाप’ को घटनामा आशंकित अन्य प्रहरी अधिकृतमाथि पनि छानबिन अगाडि बढ्ने प्रवक्ता बोगटीले बताए ।

‘जिल्लास्तरको युनिटले कतिपय माथिल्लो दर्जाका अधिकृतसँग सोधपुछ र अनुसन्धान गर्न प्राविधिक रुपमा समस्या होला भनेरै यो मुद्दा यहाँ आएको हो’, बोगटीले बताए ।

उक्त घटनामा संलग्न रही फरार भएका सुनसरीको इटहरीका दर्शन पोखरेल, पक्राउ परेका ताजको आइफोनको खोजीमा पनि सीआईबीको उत्तिकै तदारुक रहेको प्रवक्ता बोगटी बताउँछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर