एमालेद्वारा पूर्वीचौकी गाउँपालिकामा तालाबन्दी – Nepal Press

एमालेद्वारा पूर्वीचौकी गाउँपालिकामा तालाबन्दी

डोटी । नेकपा एमालेले डोटीको पूर्वीचौकी गाउँ कार्यपालिकाको कार्यालयमा तालाबन्दी गरेको छ ।

गाउँपालिकाले जनतालाई सरल र सहज रुपमा सेवा दिनको सट्टा स्वेच्छाचारी गतिविधिहरु सञ्चालन गरिरहेको भन्दै आईतवार एमालेको पूर्वीचौकी गाउँ कमिटीले तालाबन्दी गरेको हो ।

स्वेच्छाचारी गतिबिधिहरु ७२ घण्टाभित्र सच्याउन माग गर्दै कात्तिक २० गते ध्यानाकर्षण पत्र बुझाएको एमालेले गाउँपालिकाले सो अवधिमा कुनै सुधार नगरेका कारण तालावन्दी गर्न बाध्य भएको जनाएको छ ।

एमाले गाउँ कमिटीका अध्यक्ष टेकवहादुर बोगटीद्वारा हस्ताक्षरित बिज्ञप्तीमा तालावन्दी गर्नु पर्ने पाँच कारणहरु उल्लेख गरिएको छ ।

‘भूकम्प गएको २ वर्ष बितिसक्दा पनि यस पूर्वीचौकी गाउँपालिका कार्यालयले अहिलेसम्म भूकम्प पीडितहरुलाई राहात र पुनस्र्थापनामा चासो दिनुको सट्टा बिलासिताका लागि उल्टै गाडी खरीद गर्ने निर्णय गरिएको’ बिज्ञप्तीमा भनिएको छ ‘विकासे बजेटलाई कटौती गरी अनावश्यक रुपमा कार्यकर्ताहरुलाई कर्मचारीको रुपमा भर्ति गरि गाउँपालिकालाई भर्ति केन्द्र वनाएको ।’

गाउँपालिकाभित्रका शिक्षकहरुलाई शिक्षक दरवन्दी तथा बिद्यालय सम्वन्धी कार्यबिधि, २०८० विपरित समायोजन गरेको, गाउँपालिको केन्द्र्रमा रहेको १० शैयाको अस्पताल संचालनमा ल्याउन नसकेको र कृषि, स्वास्थ्य तथा पशु स्वास्थ्य जस्ता संवेदनशील संस्थाहरुमा आवश्यक औषधी, सामग्री तथा बिउबिजनको व्यवस्था नगरिएकोको कारण तालावन्दी गर्न वाध्य भएको बिज्ञप्तीमा उल्लेख छ ।
कार्यालयमा तालाबन्दी भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बिक्रम श्रेष्ठले पुष्टी गरे ।

‘उहाँहरुले ५ बुँदे समस्या देखाउँदै कार्यालयमा तालावन्दी गरेर जानु भएको छ’, श्रेष्ठले भने, ‘उहाँहरुको मुख्य बिषय शिक्षकहरुको समायोजन सम्वन्धी देखिन्छ ।’

गाउँपालिकाले केही विद्यालय समायोजन गरेको र विद्यार्थी संख्याका आधारमा केही शिक्षकहरुलाई पनि समायोजन गर्नु परेको श्रेष्ठ बताउँछन् ।

उनी भन्छन् ‘शिक्षक समायोजन गर्दा गाउँपालिकाको कुनै बद्नियत छैन, समायोजन गर्नै पर्ने अवस्थामा मात्रै शिक्षकहरुलाई चलाईएको हो ।’

सोमवार दुवै पक्षहरुबीच छलफल गरी सहमतिमा ताला खोल्ने प्रयास गरिने प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर