दुई कार्यकाल उपाध्यक्ष भएकी सीता जो भारतमा भाँडा माझ्थिन्
बाजुरा । २०५९ सालदेखि ०६४ सालसम्म भारतको दिल्लीमा अरूको भाडा धुने, भात पकाउने काम गरेकी सीतालाई त्यो बेला नेपाली मै फर्किएर केही नयाँ गर्ने योजना नआएको भने होइन । तर, आर्थिक सङ्कटले थलिएको हुँदा दुई छाक टार्न र दुई जोर लगाउन नै उनले दैनिक रूपमा अरूको घरमा काम गर्न बाध्य भइन् ।
त्यो बेला सिताले भाडा र लुगा धोएर, खाना पकाएर एक हजार पाँच सयदेखि तीन हजार रुपियाँ सम्म पारिश्रमिक पाउँथिन् । उनका श्रीमान् पनि उनीसँगै मजदुरी गर्थे । उनको काम अरूको गाडी धुने त्यसबापत पैसा लिने थियो । यसरी दुवै जनाको रकम मासिक करिब २५/३० हजार हुन्थ्यो । तर, सीतालाई त्यतिमै समय बिताउनु थिएन । विवाह भएको दोस्रो वर्ष श्रम गर्न भारत पसेका श्रीमान्लाई उनले फेरि आफ्नै गाउँ फकिएर केही नयाँ गर्न सल्लाह लिइन् ।
‘घर फर्किने रहर नभएको त होइन तर, यहाँ आएर के गर्ने भन्ने चिन्ताले साउने गरेको थियो’ ती दिन सम्झिँदै उनले भनिन्, ‘भारतबाट चाँडै नेपाल फर्किएर केही गर्ने सपना थियो । तर, त्यो सपना पुरा गर्न हामीसँग पर्याप्त पैसा थिएन। ’
सीता विवाह भएकै दोस्रो वर्ष उनीहरू भारत लागेका थिए । त्यहाँ उनीहरूले पाँच वर्ष बिताए ।
‘यहाँ बस्न सकिँदैन भनेर भारत गयौँ । भारतको दिल्ली गएर भाडा धुने ,लुगा धुने काम गरे । श्रीमानने गाडी धुने काम गर्नुभयो । पाँच वर्ष त्यही बित्यो । अब धेरै समय बिताउनु हुँदैन भन्दै नेपाल फर्कियौँ’ उनले फेरि विगत सम्झिन् ।
जसोतसो थापा दम्पती भारतबाट घर फर्किए ।मिलेर सानो व्यापार सुरु गरे । श्रीमानले व्यापार चलाउन थाले सीताको चासो व्यापारसँगै राजनीति तर्फ पनि लाग्दै गयो ।
सीता सानै हुँदा बुवा बिते । आमाले हुर्काइन् । उनीमा पढ्ने रुचि हुँदा हुँदै पनि त्यो बेला छोरीलाई पढाउन हुँदैन भन्ने अज्ञानको सिकार पनि आमा भइन् । तर, दाजुहरूको कारणले उनले पढ्न पाइन् । आफ्नो सपना साकार गर्न पाइन् ।
२०६९ सालमा नेकपा एमाले बाजुरा जिल्लाको वैकल्पिक जिल्ला कमिटी सदस्य रहेकी सीता त्यो भन्दा पहिले विद्यार्थी अवस्थामा अखिलमा सक्रिय थिइन् । विद्यार्थी राजनीतिबाटै प्रखर वक्ता रहेकी उनलाई एमालेले २०७४ मा पहिलो पटक गौमुल गाउँपालिकाको उपाध्यक्षमा टिकट दियो ।
उनले सहजै जित हात पारिन् । दोस्रो पटक २०७९ मा पनि उनको जितको बाधक कोही बन्न सकेनन् । नेपाली कांग्रेस, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको गठबन्धन हुँदा पनि सीताको लोकप्रिय मत आयो । यहाँका अध्यक्ष हरि बहादुर रोकाया पनि पहिलो र दोस्रो कार्यकाल निर्वाचित भएका हुन् ।
जनता र पार्टी दुवैले विश्वास गरेको हुँदा आफू दोस्रो कार्यकालमा पनि लोकप्रिय मतसहित विजय भएको उनलाई लाग्छ । ‘पहिलो कार्यकालमा घोषणा पत्र अनुसार काम गरेको थिए पार्टी र जनता दुवैले त्यसको राम्रो मूल्याङ्कन गर्नुभएको रहेछ दोस्रो पटक पनि टिकट पाए र जिते,’ उनले भनिन् । विगतको बाँकी काम पुरा गर्नु नै पहिलो लक्ष्य रहेको उनी बताउँछिन् ।
आफ्नो कार्यकालमा महिला सहभागिता निकै उत्साहपूर्ण अवस्थामा रहेको उनको दाबी छ ।
‘उपभोक्ता समितिमा ५० प्रतिशत महिला सहभागिता गरेका छौँ’ उनले भनिन् ‘एक घर एक महिला क्याप्टेन, एक टोल एक महिला समूह, एक वडा एक महिला अधिकार मञ्च बनाउने उनको नीति जिल्लामै प्रभावकारी बनेको छ।’
कुसंस्कारको अन्त्य गरेको, मदिरा व्यवस्थापन गरेको उनी सफल काम मान्छिन् । मदिरा व्यवस्थापनले ७५ प्रतिशत झैझगडा र घरेलु हिंसा कम भएको उनलाई लाग्छ । गाउँपालिकामा सुरु गरेको स्वास्थ्य शिविरबाट थुप्रैले स्वास्थ्य लाभ लिएका छन् ।
विद्यालयमा किशोरी मैत्री वातावरण बनाइएको छ । पहिले महिनावारी हुँदा विद्यालयमा नजाने किशोरीहरू अहिले विद्यालय छोड्दैनन् ।
‘विद्यालय मै अहिले सेनेटरी प्याड पाइन्छ ।अभिभावक शिक्षा मार्फत महिनावारीमा पनि विद्यालय जान लाग्नुपर्छ भनेर लागिरहेका छौँ त्यसले विद्यार्थीको संख्यामा कमी आएको छैन’ उनले भनिन् ।
सीता उपाध्यक्षको उम्मेदवार बन्दा पहिलो वर्षको घोषणा पत्रमा १९ बुँदा थिए । ती मध्ये महत्त्वपूर्ण योजनाहरू सुरु गरे पनि धेरै काम गर्न नसकेको उनलाई लाग्छ ।
‘पहिलो कार्यकालमा धेरै कुरा गर्न सकेका छैनौँ । त्यसलाई निरन्तरता दिने लक्ष्य रहेको छ । सबै वडाहरूमा सडक पुराउने जोड्ने लक्ष्य छ । अर्को समुदायलाई सकारात्मक सोचको विकार गर्नु छ । सुशासन, स्वास्थ्य शिक्षा र विकासलाई जोड दिएका छौँ’ उनले भनिन् ‘विद्यालयको शिक्षामा सुधार गर्ने लक्ष्य छ । पहिले शून्य थियो अहिले ५० भएको छ अब १०० बनाउनु छ ।
प्रदेश र संघीय सरकारले उचित सहयोग नगरेको उनी बताउँछिन् । महिलालाई राजनीति गर्न सहज नभएको उनलाई लाग्छ ।
‘महिलालाई राजनीति गर्न सकस छ । पितृसत्तात्मक सोच छ । मैले त्यो चुनौती चिर्दै गइरहेको छु । महिला इमानदार हुन्छन् महिलाले नेतृत्व गरेका स्थानीय तहमा पनि राम्रो भएको छ ’ उनी भन्छिन्, ‘संविधानमा व्यवस्था नभएको भए उपाध्यक्ष पदमा पनि महिलाको उपस्थिति रहँदैन थियो होला ।’
राजनीतिमा लागेपछि परिवारलाई पर्याप्त समय दिन नसकिरहेको उनलाई लाग्छ । भारतमा भाडा माझ्ने कामदेखि दोस्रो पटक उपाध्यक्ष निर्वाचित हुँदासम्म परिवार, पार्टी र जनताको साथ आफूलाई पर्याप्त भएको उनी बताउँछिन् ।
‘समाज बनाउने जिम्मेवारी हुँदा परिवारको जिम्मेवारीमा कमजोर भएको आभास हुन्छ तर, घरपरिवार र समाज जनता र पार्टीले धेरै विश्वास गर्नु भएको छ मैले त्यही विश्वास अनुसार जिम्मेवारी पुरा गर्दै गइरहेको छु ’ उनले भनिन् ।
दुई कार्यकाल उपाध्यक्ष भइसकेकी सीतालाई अब अध्यक्ष बन्ने रहर छ । ‘दुई कार्यकाल काम गरेको अनुभव र सीपले पनि अब नेतृत्वको जिम्मेवारी पाए अध्यक्षको जिम्मेवारी सहजै सम्हाल्न सक्छु जस्तो लाग्छ ’ उनले भने, ‘त्यसको लागि मेरो जनता र पार्टीले विश्वास गर्नुपर्छ ।’
सीता शी लिड्स आइकनमा पनि परेकी छन् । देशभरका विभिन्न पालिकाका प्रमुख तथा उपप्रमुखहरूसहित २७ जना महिला जनप्रतिनिधि सर्टलिस्ट भएका थिए त्यसमा उनको पनि नाम समावेश छ ।
नेपालकाे राजनितीकाे स्तर यति खस्किएकाे छ कि केन्द्रीय स्तरकाे नेता, साम्सद, मन्त्री बन्न ज्यानमारा, लुटरा, ठग, काला बजारी र तस्कर हुनुपर्ने, प्धानमन्त्री बन्न रअ र सिआईएकाे राेजाईमा पर्नु पर्ने, प्रदेशकाे मुख्यमन्त्री बन्न भारतमा चाैकीदारी गरेकाे हुनु पर्ने र गाउपालिका/ नगरपालिकाका े अध्यक्ष / मेयर हुन त कि भारततिर भाडा मस्काउने, खलासी र ज्यामी र कुल्लि काे सीप सिकेकाे हुनु पर्ने भएपछि नेपालमै बसेर पढेलेखेकाहरु बिदेश पलायन हुनु पर्ने रहर हाेईन बाध्यता रहेछ भन्न सकिन्छ । बिदेशमा गएर त यति साराे निकृष्ट काम गरेका अनुभबिहरुले राजनितिकाे नाममा नेताहरुकाे लागि कस्ताे चाकरी, चाप्लुसी गरेका हाेलान ? सहजै अनुमान गर्न सकिन्छ । चेतना भया !!!