अन्तर्राष्ट्रिय सम्मेलनमा मुख्यमन्त्रीको सम्बोधन- प्रदेशको समग्र विकासमा खुलेर लगानी गर्नुहोस्
रुपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशको समग्र विकासमा लगानी गर्न अन्तर्राष्ट्रिय समुदायसमक्ष आह्वान गरेका छन् ।
चीनको सिचुआन प्रदेश सरकारले आयोजना गरेको अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले समग्र प्रदेशको विकासमा लगानी गर्न आह्वान गरेका हुन् ।
लुम्बिनी प्रदेशभित्र कुनै पनि क्षेत्रमा सिचुवान प्रान्तलगायत कुनै पनि प्रान्तबाट इच्छुक लगानीकर्ताको लगानी भित्राउन र लगानी सुरक्षित गर्न आवश्यक सहयोग गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताए ।
साथै लुम्बिनी प्रदेशले छिटै लगानी सम्मेलनको आयोजना गर्ने जानकारी दिँदै मुख्यमन्त्री आचार्यले सम्मेलनमा सहभागी हुन कूटनैतिक नियोगमार्फत पत्राचार हुने बताएका हुन् ।
उनले सिचुआन प्रदेश सरकार, विभिन्न लगानीकर्ताहरू, कम्पनीहरू, संघसंस्थालाई उत्साहपूर्ण उपस्थितिको लागि आह्वान गरेका छन् ।
सम्मेलनलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले लुम्बिनी, गौतम बुद्धको जन्मस्थललाई समृद्ध बनाउने, यसलाई विश्वको एक महत्त्वपूर्ण र नमुनास्थल बनाउने दायित्व सबैको साझा रहेको बताए । उनले लुम्बिनीसँग जोडिएका विकास निर्माणका कार्यहरूमा साझा लगानी गर्न आह्वान गरे ।
‘लुम्बिनी, गौतम बुद्धको जन्मस्थललाई समृद्ध बनाउने, यसलाई विश्वको एक महत्त्वपूर्ण र नमुनास्थल बनाउने दायित्व हामी सबैको साझा हो । तसर्थ यससंग जोडिएका विकास निर्माणका कार्यहरूमा साझा लगानी गरौँ । साझा प्रतिफल हासिल गरौँ विश्वको शान्ति दीपलाई थप प्रज्वलित गरौँ’मुख्यमन्त्री आचार्यले भने, ‘म हार्दिक आमन्त्रण गर्दछु कि, हामी अब छिटै लुम्बिनीमा लगानी सम्मेलन गर्दैछौं । त्यसको लागि यहाँहरूको उपयुक्त समयका बारेमा छलफल गर्दै सो समयको किटानपश्चात् हाम्रो कूटनैतिक नियोगमार्फत पत्राचार गर्नेछौँ । त्यसमा यहाँको प्रदेश सरकार, विभिन्न लगानीकर्ताहरू, कम्पनीहरू, संघसंस्था सबैको उत्साहपूर्ण उपस्थिति हुनेछ ।’
सम्मेलनमा मुख्यमन्त्री आचार्यले बौद्ध पर्यटनको विविधिकृत विकासका लागि घनिष्ठ सहकार्य गर्न आग्रह गरेका छन् ।
‘स्थानीय जनता, पर्यटन व्यवसायी र पथप्रदर्शकहरू, हाम्रो सरकार अन्तरगतका बुद्ध सर्किटमा पर्ने नगरपालिकाहरू, लुम्बिनी बौद्ध विश्वविद्यालय, सांस्कृतिक सम्पदास्थलहरु आदिसँग घनिष्ठ सहकार्यका लागि समेत आह्वान गर्न चाहन्छु’आचार्यले भने, ‘लुम्बिनी प्रदेश भित्रका गरिएका वस्तुको उत्पादनहरूको विकास र ब्राण्डिङ गर्दै हाम्रा जनताको रोजगारी र जीवनयापनसँग जोडन तपाईँहरूको अनुभव प्रविधि मात्र नभै उत्पादित वस्तुको बजार सृजना गर्न, नियमित व्यापार मेला आयोजना गर्न वा लुम्बिनी प्रदर्शनी केन्द्र स्थापना गर्नका लागि पहल गर्न समेत यहाँहरू समक्ष अनुरोध गर्दछु ।’
उनले लुम्बिनी भ्रमण गर्न सिचुआन सरकार, सिचुवानबासी समुदाय तथा आम चिनियाँ जनतालाई आमन्त्रणसमेत गरेका छन् । सिचुआन सरकारसँग भएको भगिनी सम्बन्धलाई प्रगाढ बनाउन छेन्दु र भैरहवाबीच सिधा हवाई सेवा सञ्चालन गर्न उनले आग्रह गरेका छन् । सिधा हवाई सेवा सुरु हुँदा दुई मितेरी प्रदेशका जनताको मित्रता अझ बढी प्रगाढ हुने आचार्यले बताए ।
‘हाम्रो मितेरी सम्बन्ध अगाडि बढाउन चाहन्छौँ । हामी हाम्रा सिकाइ, अनुभव तथा विकासका सम्भावनालाई आदानप्रदान गर्न प्रतिबद्ध छौँ र तपाईँहरूको प्रतिविद्धताको अपेक्षा गर्दछौँ’सम्बोधनको क्रममा मुख्यमन्त्री आचार्यले भने,‘चिनियाँ जनता र नेपाली जनता बीचको अन्तरसम्बन्ध विकासमा भगवान् गौतमबुद्ध र जन्मस्थल लुम्बिनीले हामी र हाम्रो भावनालाई सुदृढ गर्न महत्त्वपूर्ण भूमिका खेलेको छ किनभने हामी नेपालीहरूले लाखौँलाख चिनियाँ तीर्थयात्रीहरुलाई सो पवित्र स्थानमा स्वागत गर्न पाइरहेका छौँ ।’
मुख्यमन्त्री आचार्यले चिनियाँ विकास मोडेल, प्रविधि तथा समृद्धिबाट सिकाई हासिल गर्न चाहेको बताए ।
‘हामीले सिक्न चाहन्छौँ र हामीहरू पनि सँगै यात्रा गर्न चाहन्छौं । किन भने हाम्रो देश नेपाल र हाम्रो प्रदेश नमुना काम गर्नका लागि आतुर छ जनतालाई विकास र समृद्धि प्रदान गर्न प्रतिबद्ध छ । हामी र हाम्रो केन्द्र सरकार चीनका हरेक सकारात्मक कामको सह्राना गर्दछ’मुख्यमन्त्री आचार्यले भने,‘हामी र हाम्रो केन्द्र सरकार एक चीन नीतिप्रति प्रतिबद्ध छ । हामी विश्वास गर्दछौँ यस प्रकारको प्रतिबद्धताले हाम्रो मित्रतालाई अझ खँदिलो र बलियो बनाइरहेको छ ।’
सम्मेलनमा मुख्यमन्त्री आचार्यसहित उनकी श्रीमती दीपा आचार्य, आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्की, प्रमुख सचिव महादेव पन्थ, मुख्यमन्त्रीका जनसम्पर्क सल्लाहकार डा रामबहादुर राउत, प्रमुख स्वकीय सचिव कुशल भुसाल, विज्ञ सल्लाहकार डा सागर न्यौपाने सहभागी छन् ।