पेट्रोल ट्यांकरको टायर पड्किएर एक जनाको मृत्यु
हेटौँडा । मकवानपुरको हेटौँडामा पेट्रोल ट्यांकरको टायर पड्किएर एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । पन्चर भएको टायर मर्मत गरेर हावा भर्ने क्रममा पड्किदा एकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
मृत्यु हुनेमा हेटौँडा उपमहानगरपालिका वडा नम्बर-११ थाना भर्याङमा टायर मर्मत पसल सञ्चालन गर्दै आएका भारत घर भएका ३४ वर्षीय मोहम्मद ऐजाज रहेको मकवानपुर प्रहरी प्रवक्ता श्यामु अर्यालले बताए ।
टायर विस्फोटपछि गम्भीर घाइते भएका उनको उपचारको क्रममा चितवनमा मृत्यु भएको उनको भनाई छ ।
मधेश प्रदेश ०३–००२ ख ०३०० नम्बरको पेट्रोल बोकेको टयांकरको टायरबाट हावा गएको थियो । टायर खोली मर्मतपछि हावा भर्ने क्रममा टायर विस्फोट भएको हो ।
घटनामा परी टायर मर्मत पसलमा काम गर्ने पर्साको धोबिनी गाउँपालिका वडा नम्बर २ का १८ वर्षीय जाबिर हवारी, मधेश प्रदेश ०३–००२ ख ०३०० नम्बरको ट्यांकर चालक हेटौँडा ११ स्मारका ३९ वर्षीय देवान लामा, अर्को टयांकर चालक धादिङको धुनिबेशी नगरपालिका वडा नम्बर २ भञ्ज्याङपोखरीका २३ वर्षीय उत्तम बस्नेत, हेटौँडा-११ नवपलुरका ४७ वर्षीय मोहनलाल दुलाल र धादिङको थाक्रे गाउँपालिका वडा नम्बर ८ का लक्ष्मण थापा घाइते भएका छन् ।