स्थानीय उपचुनाव : उम्मेदवार बन्न यस्तो छ योग्यता
पालिकामा एक पदमा पुरुष भएको अवस्थामा अर्को पदमा महिला मात्रै उम्मेदवार बनाउनुपर्ने
काठमाडौं । निर्वाचन आयोगले आगामी मंसिर १६ गतेका लागि तय भएको स्थानीय तहको उपनिर्वाचनका लागि योग्यता र अयोग्यताबारे जानकारी गराएको छ ।
आयोगले स्थानीय तहको उपनिर्वाचनमा मनोनयन हुने उम्मेदवारको योग्यता र अयोग्यता सम्बन्धमा स्थानीय तह उपनिर्वाचनमा भाग लिने राजनीतिक दललाई, राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ५७ र निर्वाचन अधिकृतको कार्यालयलाई निर्वाचन आयोग ऐन, २०७३ को दफा ४० बमोजिमको व्यवस्थाबारे जानकारी गराएको हो ।
आयोगका अनुसार २१ वर्ष उमेर पुरा भएको, उपनिर्वाचन हुने गाउँपालिका वा नगरपालिकाको सम्बन्धित वडाको मतदाता नामावलीमा नाम समावेश भएको, कुनै कानूनले अयोग्य नभएको व्यक्ति उम्मेदवार बन्न सक्ने आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद सापकोटाले जानकारी दिए ।
उनका अनुसार २०७९ मा सम्पन्न स्थानीय तहको निर्वाचनमा गाउँपालिकाको अध्यक्ष वा उपाध्यक्ष, नगरपालिकाको प्रमुख वा उपप्रमुख तथा जिल्ला समन्वय समितिको प्रमुख वा उपप्रमुख पदमा पुरुष उम्मेदवार निर्वाचित भई कार्यभार सम्हाली रहेको स्थानीय तहको रिक्त रहेको पदमा स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा १७ बमोजिम उम्मेदवारको मनोनयन पेश गर्दा महिला उम्मेदवार रहने गरी मनोनयन पत्र पेश गर्नुपर्ने स्पष्ट पारिएको छ ।
आयोगले विभिन्न १२ बुँदामा अयोग्यता भएका व्यक्तिलाई स्थानीय तह उपनिर्वाचनमा उम्मेदवार मनोनयन नगर्ने पनि कानूनी व्यवस्था स्पष्ट पारेको छ ।
जसमा स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा १२ बमोजिम अयोग्य भएको व्यक्ति, गैर नेपाली नागरिक वा नेपालको नागरिक नभएको व्यक्ति, निर्वाचन सम्बन्धी प्रचलित कानून बमोजिम सजाय पाई त्यस्तो सजाय भोगिसकेको मितिले दुई वर्ष भुक्तान नगरेको व्यक्ति अयोग्य ठहरिने जनाइएको छ ।
कुनै पनि कसुरमा पाँच वर्ष वा सो भन्दा बढी कैदको सजाय पाई त्यस्तो सजाय भुक्तान गरेको मितिले छ वर्ष पूरा नभएको व्यक्ति, प्रचलित कानून बमोजिम कालोसूचीमा रहेको व्यक्ति कालोसूचीमा रहेको अवधिभर, कुनै कसुरमा कैदमा बसेको व्यक्ति कैद बसेको अवधिभर, प्रचलित कानूनले अयोग्य भएको व्यक्ति र जिल्ला समन्वय समितिको उपनिर्वाचनको हकमा प्रचलित कानून बमोजिम निलम्बनमा रहेका पदाधिकारी उक्त अवधिभर उम्मेदवार हुन नपाउने उल्लेख गरिएको छ ।